|

काठमाडौं : विश्वकप फुटबलको आयोजक त्यतिबेला असमंजसमा परे, जतिबेला पेलेको ब्राजिलले तेस्रो पटक उपाधि जितेर ट्रफी नै पचायो। सन् १९७० ब्राजिलले विश्वकप जितेको एक वर्षपछि मात्र आयोजकलाई त्यो कुरा झस्काएको थियो। त्यसबेला मेक्सिकोको एज्टेका रंगशालामाथि चढेको प्रचण्ड गर्मीमा ब्राजिलका कप्तान कार्लोस अल्बर्टोले चुमेको ट्रफी आफैमा लोभलाग्दो पनि थियो। जसलाई उनीहरुले सदाका लागि घर लैजाँदै थिए।

सुनको जलप लगाइएको १४ इन्च अग्लो सो ट्रफीमा विजेताकी प्रतिक ग्रीक देवी ‘नाइक’ ले अष्टकोण भएको कप उचालिरहेको देखाइएको थियो। जसलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का पूर्वअध्यक्ष जुलस् रिमेटको नाम दिइएको थियो। पहिलो पटक सो ट्रफी उरुग्वेले सन् १९३० मा उचालेको थियो। त्यसपछि सन् १९३४ र ३८ मा इटालीले विश्वकप जितेपछि दोस्रो विश्वयुद्धमा नाजी सेनाबाट बचाउन सो ट्रफीलाई जुत्ताको बाकसमा लुकाएर राखिएको थियो। सन् १९६६ मा इंग्ल्यान्डको वेस्टमिनिस्टरमा सार्वजनिक प्रदर्शनीका क्रममा चोरी भएको सो ट्रफी एउटा घरको बाहिर कागजमा बेरेर फालिएको अवस्थामा पिकल नामको कुकुरले भेट्टाएको थियो। ब्राजिली फुटबल महासंघको कार्यालयबाटै सन् १९८३ मा फेरी एक पटक सो ट्रफी चोरी भयो। तर, त्यसपछि कहिल्यै जुलस् रिमेट ट्रफी भेटिएन।
फिफाले सन् १९७१ मा नयाँ ट्रफी बनाउने निर्णय गरेसँगै सातै महादेशबाट ५० भन्दा बढी डिजाइन प्राप्त भएको थियो। टेलिभिजनको युगसमेत सुरु भइसकेको अवस्थामा फिफा विश्वकप ट्रफीलाई सकेसम्म आकर्षक पनि बनाउन चाहन्थ्यो। तर, फिफाले त्यसमा एउटा नियम पनि थप ग¥यो, अबदेखि कसैले ट्रफी घर लैजान नपाउने। बरु विजेतालाई ट्रफीको प्रतिमूर्ति दिने र ट्रफीमा विजेताको नाम खोप्ने। 

फिफामा प्राप्त डिजाइनहरुमा मिलानबाट सिल्भियो गज्जानिगाले गोप्यरुपमा पठाएको एउटा प्रतिमा पनि थियो। त्यसबेला ५० वर्षमा टेकेका गज्जानिगालाई आफ्नो कार्य संसारमा यति प्रख्यात होला भन्ने कहिल्यै लागेको पनि थिएन रे।

दोस्रो विश्वयुद्ध ताका गज्जानिगा वयस्क बन्दै थिए। उनको युवावस्था गहना र मिलानमा कलासम्पदाको निर्माण गर्दै बित्यो। उनले किशोरावस्थामा मेडल बनाउन थाले भने त्यसपछि थप ३ दशक गहना र ट्रफी बनाएर बिताए। त्यही क्रममा उनी मिलानको ट्रफी डिजाइन गर्ने संस्था बर्टोनीका निर्देशक समेत बने। त्यहीं रहँदा उनले फिफा नयाँ विश्वकप ट्रफीको खोजीमा रहेको पढे। अक्टोबर ३१, २०१६ मा ९५ वर्षको उमेरमा निधन हुनुपूर्व उनले आफ्ना जीवनका केही क्षणहरुलाई डायरीमा संग्रहित समेत गरेका थिए। 

‘मैले आपैंmलाई मिलानमा रहेको आफ्नो स्टुडियोमा बन्द गरें,’ उनले लेखेका छन्, ‘अनि तत्काल काम पनि थालिहालें।’
एसी मिलानका फुटबल समर्थक गज्जानिगाले विश्वकपको पहिलेको ट्रफीलाई ध्यानमा राखेर अर्को ट्रफीको आकार तयार पारे। ‘त्यस कालखण्डमा रिमेट ट्रफी सही उदाहरण थियो होला तर मेरो कलाले २० औं शताब्दिको अन्त्य गर्दा सही उदाहरण स्थापित गरोस् भन्ने लागेको थियो।’

‘फिफाले पुरानो ट्रफीलाई अमूल्य गहना मानेको थियो,’ उनले भनेका थिए, ‘रिमेट ट्रफी अमूल्य गहना हो। तर, १९७१ भनेको टेलिभिजन युगको सुरुवात भइसकेको समय थियो। त्यसैले फिफा नयाँ बन्ने ट्रफी ‘फोटोजेनिक’ र टेलिभिजन सेटमा समेत मनमोहक देखियोस् भन्ने चाहन्थ्यो। शताब्दिको अन्त्य हुँदा त्यो ट्रफी कुनै अमूल्य गहना नभएर अद्धितीय प्रतिमा होस् भन्ने चाहना थियो।’

गज्जानिगाले पुरानो ट्रफीलाई आधार मानेर नयाँ ट्रफीको डिजाइन बनाउने सोच बनाए। उनले ठूलो मूर्ति बनाएर त्यसलाई क्रमस सानो आकारमा ढाल्दै लगे। उनको चाहना विश्वकप उचाल्दा बेग्लै आनन्द मिलोस् र उचाल्न सहज होस् भन्ने पनि थियो। उनी ट्रफीमा भगवान नभएर मानिसलाई नायक देखाउन चाहन्थ्ये। ‘फुटबल दुई टोलीबीच खेलिन्छ अनि त्यसमा शक्ति, उर्जा, बल, दिमाग, गति, सफलता, चाहना, प्राप्ति, जित, हार सबैको मेल हुन्छ। यही सबैको मिलनबाट विश्व बन्छ। अनि एउटा मानिस नै सबै कुरा बन्छ।’

आपूmले बनाएको चित्र र मूर्तिबाट सन्तुष्ट भएपछि गज्जानिगाले आफ्नो कला फिफामा पठाए। इमेलको युगभन्दा अघि त्यस समयमा कहिले काहीँ सानो कुरा थाहा पाउन पनि महिनौं कुर्नु पथ्र्यो। ‘मलाई आफ्नो डिजाइनप्रति गर्व थियो तथा नतिजाबाट खुशी पनि,’ उनले भनेका थिए, ‘तर, इमान्दारिकतापूर्वक भन्ने हो भने सफल हुन्छु भन्नेमा विश्वास थिएन।’

महिनौं लामो द्विविधालाई चिर्दै फिफाबाट सन्देस आयो, उनको डिजाइन छनोट भयो भन्ने। युरोपेली फुटबल प्रतियोगितामा प्राय प्रदान गरिने चाँदीको सामान्य कपभन्दा गज्जानिगाको डिजाइन बेग्लै थियो। टेलिभिजन सेटमा हेर्दा त्यो जति आकर्षक ट्रफी अर्को बन्न सक्दैन्थ्यो। गज्जानिगाले आफ्नो डिजाइनमा कहिल्यै घमण्ड गरेनन् , बस् ट्रफीसँग आफ्नो भावना र आत्मा जोडिएको भने बताइरहे। त्यसले उनलाई सधैं गौरवान्वित र खुशी बनाइरह्यो। जब सन् १९७४ को विश्वकपमा त्यो देखा प¥यो, उनको खुशीको सीमा रहेन।

‘पहिलो पटक सबै उपलब्धि कमाए झैं लाग्यो,’ तत्कालिन पश्चिम जर्मनीका कप्तान फ्रेन्क बेकनबरले पहिलो पटक सो ट्रफी उचालेपछि गज्जानिगाले भनेका थिए, ‘यही नै हो, त्यो।’

बेकनबरपछि विश्वमन महान कप्तानहरुले सो ट्रफी उचाले, चुमे। म्याराडोनादेखि जिदानसम्मले। गज्जानिगाले सन् १९३४ र १९३८ मा इटालीले विश्वकप उचालेको हेर्न पाएका थिएनन्। तर, उनले आफैँले तयार पारेको ट्रफी उनको मुलुक इटालीले सन् १९८२ र २००६ मा जितेको हेरे। त्यसबेला उनको आँखाबाट छल्किएका आँसु पनि अमूल्यै थियो।

गज्जानिगाले १८ क्यारेट सुनबाट बनाएको साढे १४ इन्च अग्लो ट्रफीलाई जितेपनि कसैले घर लैजान पाउँदैन। हरेक चार वर्षमा विजेतालाई फिफाले सो ट्रफीको प्रतिमूर्ति प्रदान गर्ने गरेको छ। वास्तविक ट्रफीमा भने विजेताको नाम र जितेको वर्ष खोपिने गरिन्छ।
विश्वकप ट्रफीको निर्माणपछि गज्जानिगाले अन्तर्राष्ट्रियस्तरका अनेकौं ट्रफी निर्माण गरे। जसमा युइएफए कप र युइएफए सुपर कप समेत छन्। तर, उनी सुनको विश्वकप जति आकर्षक अर्को ट्रफी बनाउन असफल रहे। जतिसुकै खेलाडीले भिजेको वा हिलो हातबाट सो ट्रफी समाउन् तर, त्यसको चमक कहिल्यै कम भएन।
‘१९७१ मा ट्रफी बनाउन थालेदेखि नै म त्यसको सुरक्षाप्रति चिन्तित थिएँ, त्यसको चमक कम हुन्छ भन्ने त्रास थियो। तर, त्यसको चमक कहिल्यै कम भएन,’ उनले भनेका थिए, ‘खेलाडीले त उनीहरु भाग्यमानी सावित भए भने जीवनमा एक वा दुई पटक मात्रै त्यसलाई छुन पाउँछन्, चुम्न पाउँछन्। तर, फिफा विश्वकप सधैं मेरो हो, म नै वास्तविक विजेता हुँ। त्यो मेरो सिर्जना हो।’ 

  • एजेन्सीको सहयोगमा
     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.