विचार

थाहा र रूपचन्द्र विष्ट
SHARES

असार ७, २०७५

    रूपचन्द्र विष्टले एकचोटि मकवानपुरको एउटा दुर्गम गाउँमा विकास, सीप, क्षमता आदिबारे भाषण दिँदा विकसित देशहरूले गरिरहेको प्रगतिको चर्चा गर्दै उनीहरूले अपनाएको सीप र महिलाहरूको सक्रियताको व्याख्या गरेछन्। भाषणलगत्तै स्थानीय एक ८२ वर्षीय चेपाङले विष्टलाई प्रश्न गरेछन्, ‘अरू अरू देश सप्रेको (त्यति धनी, विकसित) हाम्रोचाहिँ किन बिग्रिएकोे?’ जवाफमा विष्टले भनेछन्, ‘गाँठी कुरै यही हो। ‘थाहा’ थाल्नुपर्ने नै यहीँबाट। हाम्रो पुर्खाको रगत, यो देशको माटो, यहाँ लाग्ने घाम, यहाँ चल्ने हावा, यहाँ बग्ने पानी दोषी होइनन्। दोष कहाँ छ, पत्ता लगाउन गाह्रो पनि छैन। त्यसका लागि ‘थाहा’ चाहिन्छ। थाहा भनेको ध्यान हो, चिन्तन हो, अनुभूति हो, अनुभव हो, साक्षात्कार हो।’ 

    रूपचन्द्र विष्ट ‘थाहा’ अभियानमार्फत् तत्कालीन बेठीक राजनीतिक व्यवस्थामाथि जनमुखी राजनीतिको नामबाट ठाडो प्रहार गर्ने गर्थे, भलै थाहा दर्शनको विषय राजनीतिमा सीमित थिएन। तर, समुन्नत समाजको सूत्रधार मानिने राजनीतिको मुहान नै दूषित भएका कारण उनका अधिकांश विचारहरू यही फोहोर सफा गर्नमा केन्द्रित थियो। थाहा दर्शनको माध्यमबाट उनी समस्त मानव जातिलाई व्युँझाउन खोज्थे। अझ खासगरी श्रमिक र नारीको सम्बन्धमा उनको बढी चासो थियो। राजनीतिबारे उनको बडो सरल बुझाइ थियो। भन्थे, ‘धर्मले सम्पूर्ण प्राणीजगतको भलो गर्न खोज्छ। राजनीतिले बहुमत मानवको भलो गर्ने लक्ष्य राख्छ। राजनीतिलाई जनहितको कसीमा राखेर मूल्यांकन गरिनुपर्छ।’ 

    जनहितका निम्ति राजनीति, समाज हितका निम्ति विकास गरिनुपर्छ। जनता र जनप्रतिनिधिको सम्बन्धबारे पनि उनले सजिलो व्याख्या गरेका छन्। उनको भनाइ थियो, ‘मतदातालाई आफ्नो स्वार्थ हेर्ने अधिकार छ। चुनाव हुने नै मतदाताको स्वार्थका लागि हो। तर, जनप्रतिनिधिलाई आफ्नो स्वार्थ हेर्ने छुट छैन। उसले मतदाताको स्वार्थ हेर्नुपर्छ।’ 

    कलिला बालबालिकाका लागि रूपचन्द्र बढी केन्द्रित देखिने गर्थे। बालकको मनमा झुठ कुरा हाल्न हुँदैन। मान्यता होइन, जान्यतालाई बढी महत्त्व दिनुपर्ने हुन्छ। देउता मान, हाकिम मान, ठूलालाई मान भन्दै जाँदा शासकलाई मान, शोषकलाई मान भन्न पुगिन्छ। मान्यताले होइन, जान्यताले मात्र समाज सप्रिन्छ। त्यसैले बालबालिकालाई जान्यताको मार्गमा लैजानुपर्छ, मान्यताको होइन। कलिला बालबालिकाको मनमा बेठीक कुरा हालिदिनु हुँदैन। झुठ कुराले भ्रम पारिदिनु हुँदैन अनि मात्र भावी पुस्ता उज्यालोतर्फ अगाडि बढ्छ।

    रूपचन्द्र विष्टद्वारा प्रतिपादित ‘थाहा’ दर्शनको नाममा सञ्चालित रेडियो थाहा सञ्चारले बेलाबखत थाहा र रूपचन्द्र विष्टको सामाजिक अभियानबारे अन्तरक्रिया गरिरहन्छ। यस्तै, एउटा अन्तरक्रियाको क्रममा रूपचन्द्र विष्ट र उनको विचारलाई राम्रोसँग बुझेका वामपन्थी चिन्तक सोनाम साथीले एउटा गजबको प्रसंग झिके। हाम्रो कृषि प्रणाली र त्यसबारे राज्यले लिएको नीतिबारे गरिएको प्रश्नमा उनले बडो रोचक तथ्यांक दिए, ‘अमेरिकामा डेढ प्रतिशत मानिसहरू कृषिमा आवद्ध छन्। त्यही डेढ प्रतशितले सिंगो अमेरिकाले खाने र घरपालुवा जनावरलाई खुवाउन पुग्ने मात्र होइन, मनग्य आम्दानीका लागि विदेश निर्यात गर्नेसम्मको कृषि सामग्री उत्पादन गर्छ। तर, हामीकहाँ झण्डै ७० प्रतिशत नेपालीहरू कृषिमा आवद्ध भए पनि हाम्रो उत्पादनले हामी आफैँलाई खान पनि पुग्दैन।’ यो तीतो सत्यले स्वतः किन? भन्ने प्रश्न उब्जाउँछ। रूपचन्द्रको विचारमा ‘किन’ भन्ने प्रश्नको जवाफ पत्ता लगाउन ‘थाहा’ चाहिन्छ। यही अभ्यास रूपचन्द्रले दामन पालुङमा २०२६ सालतिर कृषि विकासका निम्ति सामूहिक खेती, विकासे बाली, विकासे खेताला, विकासे पशुको विकासको अभ्यास र नमुना प्रदर्शन गरेका थिए।  

    रूपचन्द्र विष्टलाई अझै पनि धेरैले रहस्यमय व्यक्तित्वको रूपमा व्याख्या गरेको पाइन्छ। उनका कुराहरू नबुझिने खालका थिए भन्ने सुनिन्छ। आजीवन जनताको पक्षमा लडेका रूपचन्द्र विष्टलाई कतिले बौलाहासम्म पनि भने। यसबारे माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले रेडियो थाहा सञ्चारसँगको कुराकानीमा बताएको एउटा रोचक प्रसंग छ। २०४५ सालमा ‘गर्जन’ साप्ताहिकका लागि विष्टको अन्तर्वार्ता लिन कार्यकारी सम्पादक प्रकाश र गिरिराजमणि पोखरेल विष्टको कालीमाटीस्थित छाप्रोमा पुगेछन्। सामान्य भलाकुसारीपछि विष्टले पत्रकारद्वयलाई आफ्नी छोरीसँग परिचय गराएछन् र भनेछन्, ‘यी दुई जना अर्धबौलाहाहरू हुन्। जनताको वकालत गर्दै बहुलाउने बाटोमा हिँडिरहेका छन् तर पूरै भने बहुलाइसकेका छैनन्।’

    उनले गान्धी, मार्क्स र माओलाई यसरी जोडेर हेरेका छन्। सबैले फरक फरक परिस्थितिमा जनहितका लागि आआफ्नो ढंगले ठूलो योगदान पुर्‍याएको उनको बुझाइ थियो, जुन आफैँमा वैज्ञानिक छ। 

    सत्ता र धनको पछि नलागी जनताको पक्षमा आवाज उठाउने नेताहरू हामीकहाँ अझै त दुर्लभ छन्, तत्कालीन राष्ट्रिय पञ्चायतभित्र रहेर त्यसैका विरुद्ध कडा प्रहार गर्ने विष्टलाई कसैले बौलाहा भन्थ्यो भने सायद स्वाभाविक हो। किनकि, उनले सधैँ नै विनासम्झौता जनताको पक्षमा आवाज उठाए। कतिले उनलाई असाध्यै बुझेर बौलाहा भने, कतिले कत्ति पनि नबुझेर बौलाहा भने। सत्ता र धनको पक्षमा नलाग्नेलाई नातागोता, इष्टमित्र र विरोधीहरूले बौलाहा भन्ने गरेको सुनिन्छ। कसै कसैलाई रुदानेले ‘मेरो नाम बौलाहा, तेरो बुद्धि बौलाहा’ भनेर जवाफ दिएको पनि पाइन्छ। 

    रूपचन्द्र विष्ट अत्यन्तै दूरद्रष्टा थिए, ठूलो क्यानभासमा सोच्थे। उनीसँग योजना थियो, नयाँ नेपालको स्पष्ट चित्र थियो। उनी अग्रगमनका पक्षधर थिए। राष्ट्रियताको विषयमा तत्कालीन राष्ट्रिय पञ्चायतमा सदस्यको हैसियतमा उनले दिएको वक्तव्यले पनि उनीबारे बुझ्न थप मद्दत पुर्‍याउला। उनले नेपाललाई संसारसँग जोडेर सटिक धारणा राखेका छन्, ‘संसारका कति मान्छेलाई हामीले थाहा दिन सकेका छौँ कि विश्व मानचित्रमा नेपाल भन्ने देश पनि छ? धेरैलाई थाहा छैन। जतिलाई थाहा छ, उनीहरूले पनि नेपाललाई गरिब देश, भाडाको सैनिकको देश, आफ्नै चेलीहरू रण्डीकोठीमा बेच्ने दलालहरूको देश, माग्नेहरूको देश, भिक्षा र सहयोगमा पनि भ्रष्टाचार गरेर बदनाम हुनेहरूको देश भनेर चिन्दै गएका छन्। यसलाई सुधार्ने कसरी?’ विष्टको बुझाइ थियो, ‘सप्रिएका देशहरू त्यसै सप्रिएका होइनन्, थाहाले सप्रिएका हुन्। उनीहरूलाई थाहा छ, कस्तो नीति र चरित्र अपनाउँदा अग्रगमन सम्भव हुन्छ। र, बिग्रिएका देशहरू त्यसै बिग्रिएका होइनन्, भ्रमले बिग्रिएका हुन्। थाहा र भ्रम कुस्ती खेलिरहन्छन्। जब भ्रमले जित्छ, अन्याय, अत्याचार, भ्रष्टाचार, अपराध र अशान्ति मौलाउँछ। तर, जब थाहाले जित्छ, शान्ति, आनन्द, विकास र न्यायको परिपाटी बस्छ। हामीले थाहा पाउने प्रयत्न मात्र गर्नुपर्छ, यो सम्भव छ।’ उनका कुरा कहाँ जटिल छन्? 

    उनको चरित्र र उनका विचारहरू कसैलाई जटिल लाग्छ भने त्यसको पनि कारण छ। उनले कहिल्यै पनि मलाई भोट देऊ, देशलाई रामराज्य बनाउने ठेक्का म लिन्छु भनेनन्। सर्वसाधारण समक्ष कहिल्यै पनि सपना पस्किएनन्। उनले सदैव जनतालाई जागृत गर्ने प्रयत्न गरे, सर्वसाधारण आफैँले सबै कुरा थाहा पाऊन् र सत्यलाई साथ दिऊन् भन्ने उनको चाहना थियो। राजनीतिक ठेकेदारी प्रथाविरुद्ध उभिँदै उनले जीवनपर्यन्त हाम्रो काम, हामीलाई अनुकूल पर्ने व्यवस्था, हामी आफैँ मिलेर तय गरौँ भन्ने धारणाको पक्षमा लडिरहे। 

    रूपचन्द्रले आफैँले संगठन बनाउनसमेत रुचाएनन्। कुनै विशेष परिस्थितिमा संगठित हुनै पर्ने अवस्था आए जनता आफैँ जाग्छन् र संगठित हुन्छन् भन्ने उनको मान्यता थियो। संगठन बनाउने होइन, संगठन हुन दिनुपर्छ। बनाएको संगठनले क्रान्ति गर्दैन। भएको संगठनले क्रान्ति गर्छ भन्थे। उनी अलि नजिक लेनिनको संगठन पद्धतिमा थिए। तर, त्यहाँ जनमुखी अभ्यासको अभाव भएकाले भूमण्डलीकरण हुन सकेन भन्ने उनको मान्यता पाइन्छ। त्यस बेलाको रुसमा जनमुखी अभ्यास कम भएकाले नै त्यहाँका शासक टिक्न सकेनन्। 

    रूपचन्द्र कुनै वादमा नै बाँधिएनन् । सत्य, न्याय, सुशासन, चेतना, विकास, मानवीयता आदिको कुनै वाद हुँदैन भन्ने कुराको उनले व्यवहारमार्फत् पुष्टि गरेका छन्। खासमा उनको राजनीतिक चरित्र कस्तो थियो त? धेरैले आआफ्नै किसिमले व्याख्या गरिसकेका छन्। मैले जानेअनुसार रूपचन्द्र सत्य र न्यायका पक्षपाती थिए। उनले आफ्नो जीवनकालमा सर्वाधिक प्रशंसा बुद्ध, गान्धी र मार्क्सको गरेका छन्। गान्धीले अपनाएको सत्य र अहिंसाको बाटोलाई उनी सबैभन्दा वैज्ञानिक र आधुनिक राजनीतिक बाटो ठान्थे। तर, यदि विचारको क्षेत्रमा बल प्रयोग गरियो, यदि सरकार श्रमजीवीहरूकोे पक्षमा उभिएन भने श्रमिकको चक्रवर्ती शक्ति जाग्छ र मार्क्सवादले शोषक र सामन्तको साम्राज्य ध्वस्त पार्छ भन्ने उनको विश्लेषण थियो। उनले गान्धी, मार्क्स र माओलाई यसरी जोडेर हेरेका छन्। सबैले फरक फरक परिस्थितिमा जनहितका लागि आआफ्नो ढंगले ठूलो योगदान पुर्‍याएको उनको बुझाइ थियो, जुन आफैँमा वैज्ञानिक छ। 

    असलमा रूपचन्द्र जनताका मान्छे थिए। उनी पदको पछाडि कहिल्यै लागेनन्। मन्त्री पदका निम्ति राजाले पठाएको दूतलाई ‘शोषणरहित समाज बनाउने व्यवस्था ल्याऊ अनि हामीजस्ता मान्छे मन्त्रीमा पाउँछौ’ भनेर राजालाई जेलबाट जवाफ पठाए। ‘मन्त्री खाने कि जेल जाने? प्रस्ताव आयो। मन्त्री नखाएपछि यहाँ पठाए’ जेलबाट उनले आफ्ना सहकर्मीहरूलाई बताएका थिए।  

    तत्कालीन अवस्थामा जिम्मेवार पदमा बसेर एक्लैले केही गर्न नसकिने र त्यसो गर्दा जनतालाई जगाउने ‘थाहा’ अभियानसमेत ओझेलमा पर्न सक्ने उनको बुझाइ थियो। यस अर्थमा रूपचन्द्र महान मान्छे थिए। एउटा साधक थिए। जीवनभर सत्य र ठीकको साधना गरे उनले। 

    उज्यालोको महत्त्व बुझ्न वा हामी कति अँध्यारोमा छौँ भन्ने थाहा पाउन, त्यसको कारण पहिचान गर्न र समाधानको प्रयत्न गर्नका निम्ति ‘थाहा’ अत्यन्तै महत्त्वपूर्ण छ। यो अत्यन्तै सरल पनि छ। थाहा दर्शनमार्फत् विष्टले ‘तिमीसँग सरोकार राख्ने हरेक कुरा थाहा पाऊ, जान, चिन्तन गर अनि सत्य र न्यायको पक्षमा उभिऊ’ भन्न मात्रै खोजेका हुन्। यसरी चिन्तन गर्दा हरेक व्यक्ति, परिवार, समाज, देश र सिंगो विश्व प्रगतितर्फ उन्मुख हुन्छ भन्ने उनको विचारमाथि चिन्तन गरौँ। थाहा पाऔँ।

रामनारायण विडारी

वरिष्ठ अधिवक्ता बिडारी हाल राष्ट्रियसभा सदस्य छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]