प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भारतको चिन्ता

|

प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिवसीय औपचारिक भ्रमणमा छन्। उनको भ्रमणलार्इ चिनियाँ मिडियाहरूले ठूलै प्राथमिकतामा राखेका छन्।

चीनको सरकारी संचार माध्यम 'ग्लोबल टाइम्स'ले प्रधानमन्त्री ओलीले चीनको भ्रमणका क्रममा आर्थिक सहयोग र आधारभूत ढाँचाको विकाससँग जोडिएका मुद्दालार्इ अन्तिम रूप दिन चाहेको उल्लेख गरेको छ। साथै भारतलार्इ ओलीको चीन भ्रमणबाट निराश नहुन आग्रह गर्दै नेपालमा भारतको प्रभाव कम नहुने उल्लेख गरेको छ। ग्लोबल टाइम्सले नेपाल, चीन र भारतको त्रिपक्षीय सहयोगमा जोड दिनुपर्ने पनि जनाएको छ।

मंगलबार चीन पुगेका प्रधानमन्त्री ओली आइतबारसम्म त्यहाँ रहनेछन्। यो भ्रमणका क्रममा उनको भेट चिनियाँ राष्ट्रपति सी जिन पिङसँग हुनेछ। प्रधानमन्त्रीको विशेष कुराकानी भने उनका समकक्षी चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग हुनेछ।

सांघाई इन्स्टिट्युट फर इन्टरनेशनल स्टडिज सेन्टरका निर्देशक चाअ गेनचेङले ग्लोबल टाइम्सलार्इ बताएअनुसार चीनका लागि नेपाल विशेष रहेको छ। 'चीनका लागि नेपाल सधैँ विशेष रहेको छ। दुवै देशमा लामो सिमाना छ। दुवै देशको द्विपक्षीय सम्बन्ध चीन र स्वायत्त तिब्बतको स्थिरताका लागि अत्यन्तै जरुरी छ', सांघाई इन्स्टिट्युट फर इन्टरनेशनल स्टडिज सेन्टरका निर्देशकले भनेका छन्।

उनले चीनको 'वान बेल्ट वान रोड' प्रोजेक्टमा नेपाल एक महत्त्वपूर्ण देश भएको बताउँदै नेपालले पनि चीनले नेपालको आर्थिक विकासमा सहयोग गरोस् भन्ने चाहेको बताए।

प्रधानमन्त्री ओलीको चीन भ्रमणलार्इ लिएर भारतले दुःख मनाउ गर्नुपर्ने आवश्यकता नभएको वरिष्ठ पत्रकार युवाराज घिमिरे बताउँछन्। उनले बिबिसीलार्इ भनेका छन्, 'भारत प्रधानमन्त्री ओलीको भ्रमणलार्इ लिएर दुखी हुनुहुँदैन। चीन र नेपालको सम्बन्ध राम्रो भएको छ। सन् २००६ सम्ममा नेपालको आन्तरिक मामिलामा भारतको निर्णायक भूमिका हुन्थ्यो तर अब त्यस्तो छैन। नेपालमा चीनको उपस्थिति बढेको छ। चीनको रुचि पनि नेपालमा बढेको छ। नेपाल र भारतबीचको दूरी कति बढेको छ भन्ने चर्चाको विषय हो।'

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भारतको चिन्ता

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेङ सुङले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा वान बेल्ट वान रोड प्रोजेक्टमा राजनीतिक साझेदारी बढ्ने बताए। उनले भने, 'ओलीको भ्रमणका क्रममा वान बेल्ट वान रोड प्रोजेक्टमा राजनीतिक साझेदारी बढ्ने विश्वास चीनको छ। यससँगै सांस्कृतिक आदान-प्रदान र दुवै देशका नागरिकको मेलमिलापबाट सम्बन्ध अझै प्रगढ बन्नेछ।'

प्रधानमन्त्री ओली नेपाल सरकार प्रमुखका रूपमा चीन भ्रमणमा गएको यो दोस्रो पटक हो। नेपाललार्इ चीनको नजिक लिएर जानुमा ओलीको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ। ओली दोस्रो पटक प्रधानमन्त्री बनेलगत्तै तत्कालीन पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलार्इ स्वागत गरेका थिए। ओली प्रधानमन्त्री बनेपछि नेपालको भ्रमण गर्ने पहिलो राष्ट्र प्रमुख पाकिस्तानी प्रधानमन्त्री अब्बासी नै थिए। भारत र पाकिस्तानको विवाद उत्कर्षमा पुगेका बेला पाकिस्तानी प्रधानमन्त्रीलार्इ नेपालले स्वागत गरेको भारतीय विश्लेषकको भनाइ छ। यसबाट पनि भारतीय पक्षमा आशंका पैदा भएको छ।

वान बेल्ट वान रोड

एक चिनियाँ विश्लेषकका अनुसार भारतले नेपालको मामिलालार्इ नाफा र नोक्सानको समीकरणबाट हेर्छ, जुन एकदमै लज्जास्पद कुरा हो।

सांघाई एकेडमी अफ सोसल साइन्सका अनुसन्धाताले चीन र नेपालको सम्बन्ध तथा नेपालमा भारतको प्रभाव कम हुने विषयलार्इ लिएर बढाइचढाइ समाचार आउने गरेको बताएका छन्। उनी भन्छन्, ‘चीन र नेपालबीचको सम्बन्धलार्इ लिएर नेपालमा भारतको प्रभाव कम हुन्छ भन्ने कुरामा बढाइचढाइ हुन्छ। भारतले नाफा-नोक्सानको समीकरणबाट बाहिर निक्लेर सोच्नुपर्छ। नेपालको अर्थ व्यवस्था पूर्ण रूपमा भारतमा निर्भर रहेको छ।’

भारतले चीनको महत्त्वाकांक्षी परियोजना वान बेल्ट वान रोडको विरोध गरिरहेको छ भने अर्कोतर्फ नेपालले यो परियोजनालार्इ साथ दिएको छ। भारतका लागि असहज वातावरण निर्माण भएकै यसै विषयले हो।

प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा पनि चीनको भ्रमण गरेका थिए र उनले त्यहाँ ट्रान्जिट ट्रेड सम्झौतामा हस्ताक्षर गरेका थिए। चीनले तिब्बतका साथै नेपालमा पनि सडक संजाल फैलाअोस् र नेपालको निर्भरता भारतमा मात्र नहोस् भन्ने चाहना प्रधानमन्त्री ओलीको हो।

चिनियाँ रेलको विस्तार हिमालयको माध्यमबाट नेपालसम्म लैजाने कुरा पनि भइरहेको छ। जब भारतले सन् २०१५/०१६ अघोषित आर्थिक नाकबन्दी गरेको थियो, त्यतिबेला ओली प्रधानमन्त्री थिए। त्यस बेला भारतबाट नेपाल आउने सम्पूर्ण आपूर्ति पूर्ण रूपमा बन्द थियो र नेपाल अतिआवश्यक सामानहरूको अभावबाट गुज्रिनुपरेको थियो।

भारतको नाकबन्दीका बेला अडिग रहेकाले ओलीको लोकप्रियता बढ्यो र उनी चीनतर्फ मोडिने बलियो आधार मिल्यो। चीनसँग सम्बन्ध बढाउनका लागि ओली भारतसँग डराउँदैन भन्ने तर्क पनि गरिन्छ।

नेपार र भारतविरुद्ध चीनले रेड कार्ड किन खोल्छ?

आर्थिक नाकाबन्दीपछि नेपालले भारतमाथिको निर्भरता कम गर्न आवश्यक देखियो। साथै नेपालको दशकौँदेखिको चाहना हो- चीनसँग रेल मार्ग जोड्ने। चिनियाँ विज्ञले पनि नेपाल र चीनबीच रेल मार्ग जोड्न सजिलो रहेको बताउँदै आएका छन्।

यो रेल परियोजनामा ठूलो लागत लाग्ने अनुमान गरिएको छ तर नेपाललार्इ एउटा डरले सताएको छ, कतै नेपाल पनि तजाकिस्तान, लाओस, माल्दिभ्स, किर्गिस्तान, पाकिस्तान, मंगोलिया, श्रीलंका र मोन्टेनेग्रो देश जस्तै ऋणमा डुब्ने त होइन।

'युरेसिया रिभ्यु'को एक रिपोर्टका अनुसार चाइना-लाओस रेलवे परियोजना वान बेल्ट वान रोडअनुसार सुरु गरिएको थियो। यो परियोजनाको पूरा लागत छ अर्ब डलर अर्थात् लाओसको कुल गार्हस्थ उत्पादन (जिडिपी)को आधा रकम हो। यो रिपोर्टका अनुसार चीनसँग नेपालको डर भनेको कतै ऋणमा डुब्नुपर्ने त होइन भन्ने नै हो।

भारतविरोधी भावनाका कारण ओली चुनावमा विजयी भएको तर्क गरिन्छ। भारतको चाहना महाकाली नदीको बचेको पानी यमुना नदीलार्इ उपलब्ध होस् भन्ने हो। युरेसिया रिभ्युका अनुसार यसका लागि भारतले नेपालसँग दुर्इ पटकसम्म सम्पर्क गरिसकेको छ। ओलीको कार्यकालमा यो सम्भव नहुने पनि बताइएको छ। त्यस्तै, भारतले नेपालसँग खुलेर दुश्मनी गर्न सक्दैन भन्ने विषयमा धेरै विशेषज्ञ सहमत देखिएका छन्। नेपाल एउटा सर्वभौम देश हो भन्ने विषयलार्इ ओलीले बलियो बनाउने कोसिस गरिरहेको र नेपालको विदेश नीतिलार्इ कुनै पनि देशको मातहतबाट अगाडि बढाउन नचाहेको समेत बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.