|
फोटो : शैलेन्द्र थापाको फेसबुकबाट

सुनसरी  : कोसी ब्यारेजबाट ट्रक सप्तकोसी नदीमा खस्दा मृत्यु भएका दुर्इ जनाको सनाखत भएको छ। स्काभेटर लोड गरेको ना ४ ख ३५६ नम्बरको ट्रक अनियन्त्रित भएर नदीमा खस्दा ट्रक र स्काभेटरका चालकको ज्यान गएको थियो।

सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमोरियाका अनुसार हेटौँडाबाट इटहरी आउँदै गरेको ट्रक नदीमा खस्दा सुनसरी चतराका विनोद बराइली र सुनसरी झुम्का निवासी घनश्याम चौधरीको मृत्यु भएको हो। मृतक बराइली स्काभेटर चालक र चौधरी ट्रक चालक हुन्।

नदीमा डुबेर अचेत भएका उनीहरूको उपचारार्थ अस्पताल लैजानेक्रममा बाटैमा ज्यान गएको चिमोरियाले बताए। कोसी व्यारेजको १९ र २० नम्वर ढोकाबीचबाट ट्रक सप्तकोसीमा दिउँसो १ बजे खसेको थियो।

दुर्घटनामा घाइते झापाका सन्तोष अधिकारी, उदयपुरका हरी मगर र सुनसरी बराहक्षेत्रका मणीराज लिम्बूको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते तीनै ३ जनाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ।

दुर्घटनामा घाइते कृष्ण चौधरी, शुक्रराज लामा राजकुमार मण्डल, अतिशसिंह प्रधानको इनरुवा अस्पताल सुनसरीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था भने खतरामुक्त रहेको प्रहरीको भनाइ छ।

कोसी ब्यारेज पुलमा भएको खाल्डाखुल्डीका कारण ट्रक अनियन्त्रित भएर दुर्घटना भएको चिमोरियाले बताए। टकको अधिकांश भाग नदीमा डुबेको र टाउको मात्र पानी माथी देखिएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.