अधिकांश क्लिनिक मापदण्डविपरीत

|

उदयपुर : उदयपुरमा निजी स्वास्थ्य संस्थाको अनुगमन सुरु गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, प्रशासन अनि स्थानीय तहको अगुवाइमा अनुगमन सुरु गरिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयका उदयपुरका निमित्त प्रमुख दुनियालाल यादवले जिल्ला आठवटै स्थानीय तहमा रहेका निजी स्वास्थ्य संस्थामाथि अनुमगन सुरु गरिएको बताए। ‘कतै मापदण्ड विपरित सञ्चालन भएको, कतै दर्ताविनै चलिरहेको भन्ने जनगुनासो धेरै आयो,’ उनले भने, ‘त्यसको लागि स्थानीय तह, प्रशासन र जनस्वास्थ्य कार्याको अगुवावाई अनुगमन सुरु गरेका छौँ।’

मंगलबार अनुगमन टोलीले कटारी नगरपालिकाको बजारमा अनुगमन गरेको छ। जन स्वास्थ्य कार्यालय निमित्त प्रमुख यादवका अनुसार कटारीका अधिकांश निजी अस्पताल, पोलिक्लिनिक र फार्मेसीहरु मापदण्ड पूरा नगरेको भेटिएको छ। आकृति डेण्टल क्लिनिक र रोहित रोशन  मेडिलले दर्ता नगरिकन पोलीक्लीनिक सञ्‍चालन गरेको, रोग्यम हेल्थ क्लिनिकले सरकारी प्रक्रिया पूरा नगरेको, होमियो फार्मेसीमा म्याद नाघेका औषधि बिक्री वितरण पाइएकोले तत्काल गल्ती सच्याउन निर्देशन दिइएको यादवको भनाइ छ।

सगरमाथा हस्पिटल एण्ड रिसर्च सेन्टर अवैधानिक रूपमा सञ्चालन भएको, उज्जल मेडिकलको, जनआस्था फार्मेसी, जनता साझा पोलिक्लिनिक, हलेसी फार्मेसीले पनि मनोमानी रूपमा उपभोक्ता स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ। सम्राट् औषधालयमा औषधि पसल नै दर्ताविनै सञ्चालन भएको पाएको छ। प्रक्रिया पूरा नगरेकालाई आगामी १५ गतेभित्र मापदण्ड पूरा गर्न निर्देशनसमेत दिइएको निमित्त प्रमुख यादवको भनाइ छ।

जिल्लाभरी अनुगमन हुने

निमित्त प्रमुख यादवले जिल्लाको आठवटै स्थानीय तहमा रहेको निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न लागेको जानकारी दिएका छन्। ‘धेरै भयो निजी स्वास्थ्य संस्थाको अनुगमन नभएको,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनपछि स्थानीय तहले गर्नुपर्ने अनुगमन अहिले योपटक संयुक्त रूपमा गर्न लागिएको हो।

निजी स्वास्थ्य संस्था सरकारी मापदण्डविपरीत छन्। निर्देशिकाअनुसार निजी अस्पताल सञ्चालनका लागि न्यूनतम एकजना एमबिबिएस डाक्टर अनिवार्य राख्नुपर्ने, आफ्‍नै भवनमा अस्पताल सञ्चालन हुनुपर्ने, भाडा लिएको भवन भए पार्किङलगायत सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था छ। यस्तै, जनस्वास्थ्य कार्यालयमा मासिक प्रतिवेदन बुझाउनुपर्ने, सुपरिभिजन फारम, कर्मचारी विवरण, लेखापरीक्षण तथा सेवा शुल्क विवरण प्रष्ट खुलाउने पर्ने प्रवधान छ।

तर, उदयपुरका विभिन्न बजार क्षेत्रमा सञ्चालित अस्पतालले उक्त मापदण्ड पूरा नगरेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले भने, ‘हामीले पटक-पटक ताकेता गर्दा पनि निजी अस्पताल सञ्चालकहरूले अटेर गर्ने गरेका छन, ती अस्पतालहरूले नवीकरण समेत गरेका छैनन्, त्यही भएर संयुक्त रुपमा अनुगमन गर्न सुरु गरेका छौँ।’

उदयपुरमा करिब चार दर्जनको हारहारीमा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन्। तीमध्ये कतिपय जनस्वास्थ्य कार्यलयमा दर्ता समेत नगरी सञ्चलान भएका छन्। जिल्लामा कतिवटा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन् भन्ने तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालयसँग पनि छैन। कटारी, गाईघाट, घुर्मी, नेपालटार, रुपाटार, बेल्टार, बसाहा, रामपुरलगायतका क्षेत्रमा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.