|

काठमाडौं : संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखहरूको दोस्रो सम्मेलन- २०१८ मा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले संयुक्त राष्ट्र संघको प्रधानकार्यालयमा राष्ट्रसंघीय उच्च पदस्थ पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेका छन्।

आइजिपी खनालले राष्ट्र संघका शान्ति मिसन हेर्ने उपमहासचिव जिन पिरर ल्याक्रोसी, कानुनी शासन हेर्ने सहायक महासचिव एलेक्जेन्डर जेइभ तथा राष्ट्र संघका प्रहरी विभाग प्रमुख प्रहरी सल्लाहकार लुइस क्यारिल्ले, प्रहरी उपप्रमुख सेमेन याङ एवं राष्ट्र संघीय प्रहरी भर्ना छनोट महाशाखाका प्रमुख एटा यिङ्गुन, एफपियु कोअर्डिनेटर भिक्टर हर्नान्डेज, एसएएटी कोअर्डिनेटर इयस महदेनलगायतका उच्च पदस्थ पदाधिकारीहरूसँग मंगलबार शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा राष्ट्र संघीय उच्च पदस्थ पदाधिकारीहरूले नेपालले राष्ट्र संघलाई पुर्‍याएको योगदानको प्रशंसा गर्नुका साथै आगामी दिनमा सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गरेका थिए। जवाफमा आगामी दिनमा पनि यस्तो सहयोगको निरन्तरता रहने प्रतिबद्धता खनालले जनाएका थिए। 

भेटका अवसरमा संयुक्त राष्ट्र संघका महासचिवको कार्ययोजनाअनुसार सन् २०२० सम्ममा राष्ट्र संघमा महिला सहभागितालाई २० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको हुँदा सदस्य राष्ट्रहरूले आफ्नो भर्ना प्रणालीमा तदनुरूप मिलाई महिला प्रहरी संख्या बढाउनुपर्ने सुझाव राष्ट्र संघका पदाधिकारीहरूले दिएका थिए। 

प्रहरी महानिरीक्षक खनालले संयुक्त राष्ट्र संघको आवश्यकताअनुसार प्रहरी कर्मचारी भर्नामा महिला सहभागितासमेत बढाउने उद्देश्यले सकारात्मक पहल थालिएको र मिसनमा बढीभन्दा बढी महिला सहभागिता गराउन तयारीसमेत गरिएको जानकारी दिएका थिए। खनाल असार ३ गते अमेरिका प्रस्थान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.