|

दमक (झापा) : अढाई दशकदेखि देश सम्झिएर शरणागत जीवन भोगि रहेका झापा र मोरङ बसोवास गरिरहेका नेपालीभाषी बुधबार पुनः देशको सम्झनामा स्तब्ध भए।

१८औँ विश्व शरणार्थी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले देशविहीन भएर जीउनुको पीडा पनि पोखे। दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका भएको कार्यक्रममा बेलडाँगी शिविरमा सचिव टीकाराम रसाइलीले शरणार्थीको दैनिकी र जीविकाप्रति दातृनिकायले सहयोग घटाउँदै गएको प्रति चिन्ता व्यक्त गरे। सो क्रममा आफूहरूका मागप्रति कुनै सुनुवाइ नभएको भन्दै दुखेसो पोखे।

स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन, स्थानीयकरण, अन्तर्राष्ट्रियकरण र दर्ता छुटेका शरणार्थीको दर्ता गरिनु पर्ने शरणार्थीहरुको माग छ।

९० प्रतिशत समस्या समाधान

नेपाली सरकारी अधिकारीहरूले भुटानी शरणार्थीको समस्या ९० प्रतिशत समाधान भइसकेको बताएका छन्। शरणार्थी समन्वय इकाइका निर्देशकसमेत रहेका झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तेस्रो मुलुक स्थानान्तरण भएर ९० प्रतिशत समस्या समाधान भएको उल्लेख गरे।

बाँकी रहेका सात हजार हाराहारीका शराणर्थीका समस्या अझै ठूलो र गम्भीर रहेको भन्दै उनीहरूप्रति पनि नेपाल सरकार गम्भीर रहेको बताए। दाहालले स्वदेश फिर्ती नै दीर्घकालीन समस्याको समाधान भएकोले यसमा सबै सरोकारवाला निकायले उल्लेख्य भूमिका निर्वाह गर्नु पर्ने बताए।

उनले भने– ‘अझै शिविरमा रहेका शरणार्थीहरु प्रति पनि दातृ निकाय गम्भिर बन्नु पर्छ, उनीहरूलाई दिँदै आएको रासन र सहायता निरन्तर हुन आवश्यक छ।’ 

शरणार्थीसम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयुक्त दमक शाखाकी प्रमुख आन्ना पेलासीले भने संसारमा हरेक दुर्इ सकेन्डमा एकजना शरणार्थी बनिरहेको तथ्य सुनाइन्। उनले नेपालमा भूटानी शरणार्थी समस्या समाधानमा नेपाल सरकार र शरणार्थीहरूले उच्च योगदान दिएको भन्दै धन्यवाद दिइन्।

यस्तै प्रदेश-१ का प्रमुख न्यायाधीवक्ता चुडामणि आचार्यले शरणार्थी पनि मानिस भएकोले उनीहरूमा कुनै पनि विभेद नगरी दीर्घकालीन समस्या समाधान गर्नु पर्नेमा जोड दिए।

मुख्यमन्त्रीलाई ज्ञापन पत्र

विश्व शरणार्थी दिवशको अवसर पारेर सोमबार आफ्नो देश फर्कन चाहाने भूटानी शरणार्थीहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ज्ञापन पत्र पठाएका छन्। प्रदेश १ का प्रमुख न्यायाधीवक्ता चुणामणि आचार्य र यूएनएचसीआरमार्फत उनीहरूले ज्ञापन पत्र पठाएका हुन्।

भूटान स्वतन्त्र जनमञ्च, राष्ट्रिय पुनर्मिलन समिति भुटान र भुटानी शरणार्थी स्वदेश फिर्ती जेष्ठ नागरिक समितिले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका हुन्। शरणार्थीहरुको तीनवटै समितिले फरकफरक ज्ञापनपत्र बुझाउँदै स्वदेश फर्कन चाहाने भुटानी शरणार्थीहरुका लागि तत्काल वातावरण मिलाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.