प्रदेश १ प्रदेशसभा बैठक :  विनियोजन विधेयक पेस

|

विराटनगर : प्रदेश १ को बुधबार बसेको बैठकमा विनियोजन विधेयक पेस भएको छ। उक्त विधेयकमाथिको छलफल बिहीबारसम्म जारी रहने संसद सचिवालयले जनाएको छ। विनियोजन विधेयकबारे छलफलमा बोल्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले तीब्र असन्तुष्टि व्यक्त गरेका छन्। विनियोजन विधेयकमा बजेट बाँडफाँड गर्दा विभेद गरिएको, कनिका छरेजस्तो सानो रकमको पनि योजना राखिएको भन्दै उनीहरूले विरोध गरेका हुन्।

यस्तै सांसदहरूले मन्त्रीले आफ्नो जिल्लामा बजेट केन्द्रीत गरेको र कांग्रेस निकटका सांसदले पेस गरेको योजना कटाइएको आरोप पनि लगाएका छन्। उनीहरूले प्रदेशले आफ्नो संरचना नबनाएसम्म बजेट कार्यान्वयनमा समस्या हुनेतर्फ सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

संसदमा बोल्दै कांग्रेसका सांसद सूयर्माराज राईले स्थानीय तहमार्फत बजेट कार्यान्वयनमा समस्या हुने बताए। ‘स्थानीय तहमार्फत बजेट कार्यान्वयन भनिएको छ,’ राईले भने, ‘चालू आर्थिक वर्षमा गएको बजेट कार्यान्वयनमा पनि स्थानीय तहका कर्मचारीले आलटाल गरेको अवस्थामा कसरी यो बजेट कार्यान्वयन गर्नु।’

राईले मन्त्रालयमा पेस गरिएका योजनाहरू काँटछाँट गरिएको आरोप पनि लगाए। ‘मैले मेरो क्षेत्रमा यो ठाउँमा भनेर राखेका योजना उल्लेख गरेको छ तर, ठेगाना फरक पारिएको छ,’ राईले भने, ‘यसलाई सरकारका मन्त्रीहरूको काइते पारा भनौं कि बेइमान भनौँ?’

यस्तै कांग्रेसकै सांसद हिमाल कार्कीले कनिका छरे जस्तोगरी बजेट ल्याएको र कुनै ठोस योजना नभएको आरोप लगाए। उनले बजेटले झापा, मोरङ, सुनसरी, भोजपुर र पाँचथरमा केन्द्रीत गरिँदा अन्य जिल्लालाई विभेद भएको बताए। ‘पञ्चायतकालमा, शाही कालमा या राणाशासनको बेलामा व्यक्तिको पहुँचको आधारमा बजेट दिने र राज्यकोषको दुरुपयोग गर्ने प्रवृत्ती थियो,’ कार्कीले भने, ‘अहिले प्रदेशको सरकारले पनि सोही प्रवृत्तीलाई निरन्तरता दिएको देखियो, झापाले रेकर्ड राखेको छ, सुनसरी, मोरङ अर्थमन्त्रीको जिल्ला पाँचथर र भोजपुरमा पनि यस्तै देखिएको छ अन्य जिल्लालाई हेला गरिएको छ।’ उनले सरकारका मन्त्रीहरूले प्रदेशसभाका सांसदलाई रैतीको जस्तो व्यवहार गरेको पनि बताए।

यस्तै सांसद लिला सुब्बाले आफूले दिएको योजना रातो किताबमा नपारिएको भन्दै असुन्तुष्टि व्यक्त गरिन्। ‘गर्नैपर्ने महत्त्वपूर्ण कामको विषयमा पेस गरिएका योजना पारिएको छैन,’ उनले भनिन्, ‘हामीले पेस गरेका योजना नपार्ने हो भने यो रातो किताब हामीलाई दिनुको कुनै अर्थ छैन।’ रातो किताब संशोधन गरेर आफूहरूको योजना पार्न उनले माग गरिन्।

विनियोजन विधेयकमाथिको छलफलमा सहभागी बन्दै सत्ता पक्षका सांसदले पनि बजेट कार्यान्वयनमा चुनौति रहेको कुरा दोहोर्‍याए। ‘संयन्त्र छैन, साना–साना धेरै कार्यक्रम विनियोजन गर्नुपर्ने अवस्था देखिएको छ,’ साम्बाले भने, ‘यस्तो अवस्थामा बजेट कार्यान्वयन जटिल देखिएकोछ।’

सत्तापक्षका अन्य सांसदहरू विजय विश्वास, शौभाग्यवती राई, उमिता विश्वकर्मालगायतले विनियोजन विधेयकको समर्थन गरेका थिए। यस्तै संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले भने बजेट कार्यान्वयनमा जोड दिए।

सांसदहरू प्रतापप्रसाद हाङ्बाङ, शिवनारायण गनगाईलगायतले भने कनिका छरेजस्तो सानोतिनो कार्यक्रममा पनि बजेट हालिएको भन्दै विरोध गरेका थिए। विनियोजन विधेयक माथिको छलफलका लागि अर्को बैठक बिहीबार दिउँसो २ बजे बस्नेछ। विनियोजन विधेयकमाथि बुधबार १३ जना सांसदले भाग लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.