|

वीरगन्ज : आर्थिक नगरी वीरगन्जका व्यापारीले कसरी रातारात अकुत सम्पति कमाइ सर्वसाधारणलाई चकित पार्दा रहेछन् भन्ने कुराको पछिल्लो नमूना बुधबार सार्वजनिक भएको छ। पर्सा प्रहरीले छापा मारी म्याद सकिएको कोरियन जुसमा भटाभट नयाँ मिति प्रिन्ट गरिरहेको फेला पारेपछि यस्तो नमूना सार्वजनिक भएको हो।

वीरगन्जबाटै योभन्दा पहिले पनि सरकारी कागजपत्र र सरकारी छाप किर्ते प्रयोग गरी राज्यलाई ठग्ने केही व्यापारी फेला नपारेका भने होइन। तर बुधबार भने तेस्रो मुलुकबाट आयात गरी मिति सकिएर खान अयोग्य भइसकेको जुसमा नै थप दुई वर्षको मिति थप्दै गर्दा पर्सा प्रहरीले रंगेहात फेला पारेको छ।

गलत कार्य गर्दागर्दै प्रहरीले रंगेहात फेला पार्नु प्रहरीको कामको मूल्यांकनमा राम्रो कुरा भए पनि उपभोक्ताको हकमा भने यो साह्रै गलत भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। पहिलेको मिति सकिएको प्रिन्टलाई मेटाइ थप दुर्इ वर्षको नयाँ मिति प्रिन्ट गर्दैगर्दा आफूसहित घटनास्थलमा पुगेका प्रहरीले रंगेहात कामदार र हेरालुलाई फेला पारिएको उनले बताए। 'पुरानो प्रिन्ट भएको मितिलाई थिनर स्प्रिट केमिकल प्रयोग गरी मेटाउने र नयाँ प्रिन्ट गर्दा रहेछन्' उनले भने।

प्रहरीले पक्राउ गरेकामा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका मुन्ना भनिने लक्ष्मी साह कानु र त्यही रहेका अर्का पर्साको सखुवा प्रसौनी गाउँपालिका -१, शीतलपुरका ५७ वर्षीय ओम बहादुर कार्की रहेको घटनास्थल पुगेका वडा प्रहरी बिर्ता, वीरगन्जका प्रहरी निरीक्षक निशान्त थापाले बताए।  

यस्तो थियो घटना

वीरगन्ज कारागार पछाडि एउटा घरमा म्याद सकिएको जुसमा नयाँ म्याद थपी बजारमा पठाउने तयारी भइरहेको भन्ने विशेष सूचनाको अधारमा प्रहरीले बुधबार छापा मारेको प्रहरी निरीक्षक थापाले बताए। 'छापा मार्दा मेड इन कोरियाको डेलोस ब्राण्डका जुस, सन् २०१८ मार्च महिनामा नै खान अयोग्य भएको ‘कोरियन क्यान जुस, ९९ हजार पिस फेला पर्‍यो। यो सानो ठूलो मिलाई ५१ कार्टुन भयो', प्रहरी निरक्षक थापाले भने, 'पहिलेको मिति मेटाएर दुई वर्षको मिति थपिसकेका ३ हजार २०० पिसभन्दा बढी तयारी अवस्थामा रहेछ।'

सो सामानसँगै नयाँ मिति थप्न प्रयोग गरिने मेसिन, सरकारी कार्यालयका १५⁄२० वटा छाप र तयारी अवस्थाको एलइडी चिम (बत्ती) बनाउने १४ बोरा कच्चा पदार्थ र १३ बोरा तयारी अवस्थाको एलइडीसमेत फेला परेको पर्सा प्रहरीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका मानिस र सामानका बारेमा थप अनुसन्धान गरी कानुनी प्रकृया अगाडि बढाउने पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकालले बताए।

 प्रहरीले छापामारी गरेको घर वीरगन्ज महानगरपलिका वडा नम्बर ५ रेल्वे रोडमा रहेको कौशल कुमार श्रीवास्तव रहेको प्रहरीको भनाइ छ। श्रीवास्तवको घरमा संचालन भइरहेको फर्म पनि अरूको नभई उनैको भएको र व्यापारिक ठेगाना भने उनले वीरगन्जको घण्टाघरतर्फ बताउने गरेको स्थानीयले बताए।

मध्य तराईमा बढेको गर्मीसँगै अधिकांश उपभोक्ताले जुस प्रयोग गर्ने समयमा अयोग्य खाद्यवस्तुलाई योग्यजस्तो पारी ठग्ने कसैलाई क्षमा नहुने प्रहरी उपरीक्षक ढकालको दावी छ। 'यस्तो काम गर्ने जो कोही भए पनि उसलाई कानूनी दायरामा ल्याइन्छ,' उनले भने ।

पक्राउ परेका कार्कीले छोरा नभएकोले तीन चारदिनदेखि छोरीको घर कुरिदेको दावी गरे। 'काम गर्ने आउछन्, काम गर्छन्, जान्छन्, हामी पोखरा जान्छौँ भनी ज्वाईंले भनेका थिए। आफैँ फसाउँछन् भने के गर्ने?' उनले तर्क गरे।

अर्का पक्राउ परेका साहले भने आफूले पनि तीन दिनदेखि काम गरिरहेको दावी गरे। अझैसम्म प्रहरीले सो सामान कुन व्यापारिक फर्मले मगाउने गरेको भन्ने कुरा चाही फेला पार्न नसकेको बताएएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.