|

  • जङ्ग तामाङ

पाँचथर : सदरमुकाम फिदिम बजार क्षेत्रको करिब २० हजार जनसंख्यालाई खानेपानी वितरण गर्दै आएको फिदिम दोस्रो साना सहरी खानेपानी उपभोक्ता समितिले दूषित पानी वितरण गरेको उपभोक्ताले गुनासो गरेका छन्।

अढाई वर्षदेखि फिदिममा पानी वितरण गर्न थालेको समितिले स्वच्छ पानी वितरण नगरेको भन्दै अधिका‌श उपभोक्ताहरु बजार क्षेत्रका कुवा र पुरानै धारामा गाग्रो लिएर पुग्ने गरेका छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वच्छ पिउने पानी उपलब्ध गराउने भनेर समितिले ढाँटेको उपभोक्ताहरुको आरोप छ। फिदिम नगरपालिकाका–५ चोकमागु घर भई फिदिममै बस्दै आएकी सुशीला तामाङ समितिले वितरण गर्दै आएको पानी नपिएको बताउँछिन्। पानीको मुहानमा शव जलाउने र ढल पनि मिसिने गरेको सुनेर पानी नपिएको उनले बताइन् । ‘घरी पानी पनि धमिलो आउँछ, लुगा र भाँडाकुँडा सफाइ चाँही गर्छु। ’उनले भनिन्, ‘पिउन त देहले मान्दैन।’ 

समितिले वितरण गरेको पानी घरघरमै आउँछ। बिहान बेलुका दुई घण्टाको दरले पानी वितरण हुन्छ। वितरित पानी ट्रिटमेन्ट प्लान्ट हुँदै ट्याङकमार्फत उपभोक्ताको धारामा झर्छ। तर, पानी पिउन नसकिने खालको आउने गरेको अर्का उपभोक्ता शंकर आङदेम्बे बताउँछन्। एशियाली विकास बैँकको सहयोगमा बृहत् फिदिम खानेपानी आयोजना सम्पन्नपछि वितरणको जिम्मा पाएको समितिले शुद्ध पानी वितरण गर्न नसकेको उनको गुनासो छ। 

फिदिम नगरपालिकाको वडा न‍ं. १, २ र ४ को एक हजार ६०५ वटा धारामार्फत पानी वितरण हुने गरेको छ। यद्यपि, उपभोक्ताहरुको पुरानै धारा र कुवामा भिड लाग्ने गरेको छ। पहिले जसरी नै लाइन लागेर पानी थाप्ने उपभोक्ताहरुको लर्को देख्न सकिन्छ। फिदिम नगरपालिका उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले पनि कहिले काँही पानीमा किरा नै आउने गरेको जनगुनासो आउने गरेको बताइन्। 

मानवीय स्वास्थ्यमाथि कसैले खेलबाड गर्न नहुने भन्दै उनले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरले नियमन गर्नु आवश्यक रहेकोमा जोड दिएकी छन्। ‘धमिलो पानी धारामा आउनु गम्भीर सवाल हो, कहिले किरा पनि आउँछ भन्छन्’ उनले प्रश्न गरिन्, ‘१९ करोड खर्चेर ल्याएको पानीलाई शुद्धीकरण गर्ने थप उपकरण राख्न सकिन्न र?’

पानी शुद्धीकरणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ट्रिटमेन्ट प्लान्ट पनि राखेको छ। जिल्लामै निक्कै प्रविधि सम्पन्न रिजर्भ ट्याङक पनि निर्माण गरिएको छ। यसो गर्दा पनि पानी धमिलो झर्ने गरेको छ। पानी वितरक फिदिम दोस्रो साना सहरी खानेपानी उपभोक्ता समिति अध्यक्ष गजाधर भट्टराईले पनि यसअघि उपभोक्ताहरुलाई भनेजस्तो शुद्ध वितरण गर्न नसकिएको स्वीकारे। उनले ट्रिटमेन्ट प्लान्टले बाढी आएको बेला पानी थिग्राउन नसकेको बताए। अब पानीको मुहानमा रफ्लिङ प्लान्ट (पानीको धमिलोपनलाई सुरुमै छान्ने प्रणाली) जडान आवश्यक रहेको औँल्याए। ‘रफ्लिङ प्लान्टविना ट्रिटमेन्ट प्लान्टले मात्रै नहुँदो रहेछ, मुहानमा चाहिने रहेछ,’ उनले भने, ‘खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय समक्ष माग गरेको छु, राखेपछि पानी शुद्ध हुन्छ।’ 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले सुरुमा कन्सलट्यान्टले सर्भे गर्दा वर्षातको समयमा पानी यतिको धमिलो हुन्छ भनेर नसोच्दा यस्तो भएको बताउँछन्। हाल समितिले वितरण गर्दै आएको पानीले आगामी २० वर्षसम्मको फिदिमको जनसंख्यालाई धान्ने भनिएको छ। नयाँ सहर पनि फिदिममै निर्माण भइरहेको र सरकारको पनि सन् २०३० सम्ममा एक लाख जनसंख्या फिदिमा राख्ने लक्ष्य छ। सोहीअनुसार नयाँ सहरको संरचनाहरु निर्माणाधीन अवस्थामा छन्। यद्यपि, समितिले २४ सै घण्टा वितरण गर्ने भनेको पानी हाल ४ घण्टा मात्रै दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.