भन्छन्, 'पानी पर्‍यो कि महाकालीतिर हेर्नुपर्छ।'

|

दार्चुला : वर्षायाम सुरु भएसँगै दार्चुलाको सदरमुकाम खलंगाका वासिन्दा ढुक्कसँग निदाउन पाउँदैनन्। पाँच वर्षअघि बाढीले क्षति पुर्‍याएको खलंगावासी वर्षासँगै कति बेला बाढी आएर महाकाली नदीले उग्र रूप लिएर पुनः विस्थापित बनाउने हो भन्ने पीर उनीहरुमा छ।

महाकाली नदी किनारमा पक्की तटबन्ध गरिएको छ। करिब नौ मिटर अग्लो र साढे चार किलोमिटर लामो तटबन्ध निर्माण गरिएको छ। तर, महाकालीपारि भारतीय क्षेत्र खोतिलमा गएको सुख्खा पहिरो कारण खलंगावासीले सुरक्षित महसुस गर्न सकेका छैनन्। महाकाली नगरपालिका–४ का मदनसिह धामीले भन्छन्, ‘वर्षा लाग्यो, निरन्तर वर्षा भयो भने राति उठेर महाकालीतिर हेर्नै पर्छ।’ 

तटबन्ध निर्माण हुँदै गर्दा खोतिल क्षेत्रमा ०७३ असोज १८ मा सुख्खा पहिरो गयो। पहिरो भारतीय क्षेत्रको महाकाली किनारमा पहिरो थुप्रियो र नदीको वहाब नेपालतिर हानियो। यस्तै, असोज २८ मा पुनः सोही क्षेत्रमा ठूलो पहिरो गयो। महाकालीलाई नै झण्डै थुनियो। पहिरोका कारण नेपालतिर होचो भई नदीको पानी नेपालतिर आयो। तटबन्ध निर्माणको जिम्मेवारी पाएको महाकाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर उक्त पहिरोले महाकालीको वहाब नेपालतिर फर्काउने र तटबन्धलाई कमजोर बनाउने निष्कर्ष निकालेका छन्। 

भारतको बेवास्ता

यस पहिरो हटाउने नेपाल र भारतीय अधिकारीबीच छलफल भयो। भारतीय पक्षले पहिरोले थुपारेको माटो हटाउन सहमत भयो। तर, अहिलेसम्म हटाइएको छैन। कहिले काम गर्न खर्च छैन त कहिले थप पहिरो आएर थप क्षति गर्छ भन्ने भारतीय पक्षले भन्ने गरेको आयोजनाका एक इन्जिनियरले बताए।

गत मार्च ५ मा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र भारतीय समकक्षी पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीएम) एस रविशंकरबीच भारतको पिथौरागढमा भएको वार्तामा तत्काल दुई पक्षले अध्ययन गरेर पहिरो हटाउने सहमति भयो। यद्यपि, कुनै काम भए। नदी नियन्त्रण आयोजनाका प्रमुख शुसिल चन्द्र देवकोटा भन्छन्, ‘भारततिर गएर हामीले पहिरो हटाउन मिल्दैन, भारतले हामीलाई हटाउ भन्यो भने पनि बिस्फोटक पदार्थ नभएकाले सम्भव छैन।’ 

तीनवटै तहका सरकार गठन भएपछि उच्च स्तरीय सरकारी संयन्त्रबाटै पहिरो हटाउने पहल नभएसम्म जिल्ला तहबाट समाधान नहुने सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी बताउँछन्। उनले भने, ‘हामीले गृह मन्त्रालयमा पूर्ण व्यहोरा जानकारी गरायौं र कुटनीतिक पहल गर्न अनुरोध गरेको छौं।’

पछिल्लो पटक भारतीय र नेपाली अधिकारीबीच तीन बुँदे सम्झौता भएको छ। गत बुधबार भएको सम्झौतामा वर्षा याम सकिएपछि पहिरो, पहिरो आइहाले भारतीय पक्षले बिस्फोटक पदार्थ प्रयोग गरी पहिरो हटाउने तथा नेपाली पक्षले एक्साभेटर प्रयोग गरि पहिरो हटाउने उल्लेख छ। यस्तै, यस क्षेत्रको समस्याको पूर्ण समाधानका लागि वर्षा यामपछि दुवै पक्षले संयुक्त निरीक्षण गराएर तत्कालिक स्थितिअनुसार समाधान निकाल्ने सहमित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.