|

कञ्चनपुर :  चिया पसलमा भएको केरा खेतीबारे बहसबाट उत्साहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केरा खेतीबाटै जिल्लाकै सफल किसान बनौंला भनेर सपनासम्म देखेका थिएनन्।

२०६२ मा चार साथीको बहस सुनेर उत्साहित भई केरा खेती‍ थालेका उनी जिल्लामै व्यवसायिक केरा खेती गर्ने किसानका रुपमा मात्रै चिनिएनन् सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा समेत परिचित भएका छन्।

'मन मिल्ने चार जना साथी चिया पसलमा बसेर भारतीय बजारबाट आउने केराबारे बहस गर्दै थियौं' रानाले पुराना दिन सम्झिए, ‘भारतीयहरुले कसरी केरा खेती गर्दा रहेछन्। भारतमै गएर हेरौं भन्ने बहसकै क्रममै निधो गर्‍याैं।' त्यसपछि उनीहरु भारतको बारावंकी गए। त्यहाँका किसानले खेतमा रोपेको केरा देखेर प्रभावित भएकाे उनकाे भनाइ छ। त्यसपछी केरा खेती गर्न थालेको उनले बताए।

भारतीय किसानबाट केरा खेती गर्ने तरिकाबारे जानकारी लिएपछि केराका विरुवा भारतबाटै ल्याएर खेती गरे। त्यसबाट आम्दानी राम्रो भएपछि उत्साहित भएर व्यवसायिक खेती गर्दै आएका उनले बताए। व्यवसायिक केरा खेतीलाई निरन्तरता दिन थालेपछि कृषि विकास कार्यालयको सल्लाहमा काठमाडाैंको भैंसेपाटीमा रहेको प्रयोगशालाबाट टिस्युकल्चर गरिएका जी नौ जातका विरुवा रोपे। यसपछि उनको आम्दानी बढेको छ।

उनले केरा बेच्ने मात्र होइन, केराका विरुवाहरु नर्सरीमा तयार गरी बिक्री गर्दै अाएका छन्। विरुवा बिक्री गरेर वार्षिक १० लाख र केरा बिक्रीबाट २८ लाखदेखि ३० लाखसम्म आम्दानी गर्दै आएका छन्। उनले १० लाख रुपैयाँ लगानीमा सात बिघा दश कठ्ठा जग्गामा केरा लगाएका छन्। ती जग्गामध्ये तीन बिघा उनको  स्वामित्वको रहेको छ भने बाँकी भाडामा लिएका हुन्। भाडा बापत बर्सेनि प्रतिबिघा ६५ हजार रुपैयाँ तिर्दै आएका छन्। उनका अनुसार प्रतिबिघा केराको उत्पादन चार लाख देखि सात लाख रुपैयाँसम्म हुने गरेको छ।

केराको एउटा घरीमा १२ देखि २५ दर्जनसम्म केरा उत्पादन हुने गरेको छ। खरिदका लागि व्यापारीहरु घरमै अाउने गरेका छन्। डडेल्धुरा, महेन्द्रनगर, धनगढी अत्तरियालगायतका बजारका व्यापारीले नगदमै केरा खरिद गरी घरबाटै लैजाने गरेका छन्। घरबाटै बिक्री हुने गरेकाले बजार खोज्दै जानु पर्ने झन्झट समेत नभएको उनको भनाइ छ।

रानाको २६ जनाको परिवार छ। परिवारका सदस्यले केरा खेतीका लागि सामुहिक रुपमा कार्य गर्दै आएका छन्। केरा खेतीको कमाइबाट उनले गाउँमै दुई वटा पक्की घर, बजारमा घरघडेरी जोडेका छन्। चार वटा ट्रयाक्टर, मोटरसाइकल खरिद गर्नुका साथै सिँचाइ गर्ने मोटर पम्पसेट जोड्नुका साथै घर खर्च चलाएका छन्।यसका साथै अाफ्ना सन्तानलाई प्राविधिक शिक्षा पढाएका छन्।

केरा खेतीको रेखदेखका लागि स्थायी रुपमा दुई जना र अस्थायी रुपमा २० जनालाई रोजगारी समेत दिएका छन्। नगरपालिकाको कृषि शाखाले केरा खेती गर्दै आएका रानालाई नर्सरी तयार गर्नमा सहयोग गर्न ४० हजार रुपैयाँ सहयोग गरेको छ। आधुनिक तरिकाले केरा खेती लगायत अन्य खेतीका लागि हैरु, रोटाभेटर, पावर टिलर, मिनि पावर टिलर, रिपर, सिँचाइका लागि डिजल इन्जिन लगायत अनुदानमा उपलव्ध गराइएको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताए। ‘बेला बेलामा केरा देखिने रोग, किराको प्रकोप र अन्य प्राविधिक सल्लाह समेत खेतमै गएर रानालाई उपलव्ध गराने कार्य समेत गर्दै आएका छौं’ शाखा प्रमुख मल्ले भने। उनको सिको गर्दै यस क्षेत्रका तीन दर्जन बढी किसानले केरा खेती गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.