|

उदयपुर : केही दिन अघिमात्र ताप्ली गाँउपालिका ५ रुपाटारका भक्तबहादुरज्यू जग्गाको खोजी गर्दै मालपोत कार्यालय कटारी पुगे। आफूले भोगचलन गरिरहेको जग्गा अरू नै व्यक्तिले नामसारी गरेको हल्ला गाउँमा सुनेपछि खोजी गर्न मालपोत कार्यालय कटार गरी पुगेको हुन्। उनको जग्गा गएको चैत्र १२ गते नै नामसारी भएर तीनजना व्यक्तिको नाममा पास भइसकेको फेला पारे।

भक्त बहादुरज्यूको नाममा रहेको जग्गा उनलाई थाहा नै नदिई अर्को व्यक्तिमा नामसारी भएको थियो। ‘मैले कमाइ खाएको जग्गाको एक्कासि कस्को नाममा गयो,’ उनले भने, ‘गाउँमा हल्ला चलेपछि आउँदा थाहा पाएँ, म सुकुम्बासी भइसकेको छु।’

काठमाडौं महानगरपालिका-४ बस्ने भक्तबहादुर सिंह ठकुरी र बाजेको नाम नरबहादुर र जंगबहादुर नाम गरेको व्यक्ति एउटै हो भनी काठमाडौंबाटै सिफारिस ल्याएर भक्तबहादुर सिंह ठकुरीका छोरा प्रकाशसिंह ठकुरी, प्रवीणकुमार सिंह र हरिहरकुमार सिंहको नाम भक्तबहादुरज्यूको जग्गा मालपोतका कर्मचारीले पास गरिएको मालपोत कार्यालय कटारीको भनाइ छ। यसरी आफ्नो जग्गा अरूकै नाममा मालपोत कार्यालयका कर्मचारीले मोटो रकम लिएर जग्गावाला ज्यूलाई थाहा नदिकन अर्को व्यक्तिलाई गरिदिएको पीडित भक्तबहादुरको आरोप छ। ‘मेरो जग्गा हरायो,’ उनले भने, ‘मेरो भोगचलन गरिरहेको जग्गा अरूकै भन्दै कसरी गयो, पैसा नलिकन यस्तो कसरी गरे कर्मचारीले?’

ताप्ली गाउँपालिका-५ रूपमाटारमा रहेको भक्तबहादुरज्यूको कित्ता नम्बर ६ घ २११, ९८, ३२०, ३२२, ३१८ र ४८ गरी नम्मा ६ कित्ताको १२ रोपनी ५ आना ०७४ साल चैत्र २६ गते कटारी मालपोत कार्यलयले जग्गा नामसारी गरिदिएको मालपोत कार्यालय निमित्त प्रमुख शान्तिराम रिमालले जानकारी दिए। मालपोत कार्यालय कटारीका प्रमुख रिमालले कर्मचारीले पैसा लिएर पास गरिदिएकाले समस्या आएको गुनासो गरे। ‘गल्ती भयो, माफ पाऊँ, मैले थाहा पाइनँ, भोलि नै सच्याउनेछु,’ प्रमुख रिमालले भने, ‘काम सिक्दै जाँदा गल्ती गरेँ, हामीबाट भुल भएकै हो, सबैलाई बोलाएको छु मिलाउँछु।'     

इलाका प्रशासन कार्यालय कटारीका प्रमुख शाखा अधिकृत सुनिल पौडेलले छानविन गरेर काराबाहीको लागि सिफारिस गर्ने बताएका छन्। ‘पैसामा मिलेमत्तो र कर्मचारीको साँठगाँठ देखिन्छ,’ उनले भने, ‘काठमाडौंबाट भक्तबहादुरज्यू र भक्तबहादुरज्यू ठकुरी एउटै व्यक्ति भनी सिफारिस आएपछि ताप्ली गाउँपालिका-५ समेत नबुझी तथा ३५ दिने सूचनासमेत प्रकाशन नगरीकन नामसारी गर्न पाइँदैन तर त्यही गरिदिए कर्मचारीले।’ मलाई जानकारी गराएअनुसार जग्गा फिर्ता गरिदिने सहमति भएको छ।

पीडित भक्तबहादुरका अफन्त अर्जुन राजकोटीले मालपोत कार्यलयले यो कुरा बाहिर हल्ला नगर्न भनेर निर्देशन दिएको बताए। ‘जग्गा भक्तबहादुरज्यूको हो,’ आफन्त राजकोटीले भने, ‘मृत्यु भइसकेका भक्तबहादुर सिंह ठकुरीका छोराहरू प्रकाशसिंह ठकुरी, प्रवीणकुमार सिंह र हरिहरकुमार सिंहले लिएका छन्। त्यो पनि काठमाडौं महानगरपालिका-४ वडाको सिफारिसमा ताप्ली गाउँपालिका पुगेरे तिरोसमेत तिरेका छन, यो कसरी सम्भव भयो?’

कटारी नापी र मालपोतको यस्तो चर्तिकला

कटारी नगरपालिकाका प्रमुख ज्ञान्द्र श्रेष्ठले गएको ०७४ पुसमा कानुनी कारबाही अघि बढाउने चेतावनी दिँदै नापी कार्यालय गाईघाटबाट कटारीमा खटिएका कर्मचारीले सेवाग्राहीबाट उठाएको नगद ६ हजार रुपैया फिर्ता गरेका थिए। नापीका कर्मचारी जग्गा नक्सा सुधार गर्न भन्दै सर्वसाधारणसँग लिएको ६ हजार रकम फिर्ता गरेका नगरप्रमुख श्रेष्ठले बताए। ‘सेवाग्रहीबाट पैसा उठाएको गुनासो आयो’, नगर प्रमुख श्रेष्ठले भने, ‘गएर बुझे, कुरा हो रहेछ, त्यसपछि उठाएको पैसा सेवाग्राहीलाई फिर्ता गरेको छु।’

नापीका कर्मचारीले हात जोड्दै गल्ती भएको स्वीकार गर्दै रकम फिर्ता गरेका थिए। नापी कार्यालय गाईघाटबाट खटिएका तत्कालिन टोली प्रमुख सुकदेव चौधरी र कार्यालय सहयोगी इन्द्रदेव यादवले सर्वसाधरणबाट रकम लिएका थिए। यसैक्रममा गएको ०७४ चैत्र महिनामा कटारी मालपोतका कर्मचारीले सेवाग्राहीबाट पैसा लिएको रहस्या बाहिरियो। कटारीका स्थानीय दीपक कोइरालाले आफ्नो नामको जग्गाको जग्गा धनी पूर्जाको प्रतिलिपि बनाउन जाँदा मालपोत कार्यलय कटारीका मुद्धा फाटका कर्मचारी तुलसी कट्टेल ५ सय लिनु पर्ने ठाउँमा एक हजार ५ सय मागेका थिए।

तत्कालै मालपोत र नापी कार्यलयका कर्मचारीको बैठक बोलाई सेवा ग्राहीलाई दुख दिने, राजस्व बाहेक अरु कुनै नाममा पैसा नलिन निर्देशन दिएको इलाका प्रसाशन कार्यलय कटारीका प्रमुख सुनिल पौडेलले निर्देशन दिए। ‘कट्टल जीलाई कारवाहीको लागि समेत सिफारिस गरेको थिए,’ इलाका प्रशासन प्रमुख पौडेलले भने, ‘अहिले उहँनै सरुवा भएर जानु भएको छ।’

किन हुन्छ यस्तो ?

उदयपुरको आधा भूभाग पर्ने पश्चिमी क्षेत्रलाई सहज रूपमा सरकारी सेवा गराउने उदेश्यले कटारीमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना गरिएको छ। जसमा मालपोत र नापीका कर्मचारीले समेत थोरै थोरै गरेर पैसा जम्मा गर्ने माध्यमसमेत बनाउँदै आएका छन्।

नापी र मालपोतका कर्मचारीले लेखापढी व्यवसायीलाई प्रयोग गर्दै सेवाग्राहीबाट पैसा लिने गरेका छन्। ‘म सानो मान्छे सानै मात्र काम हुन्छ,’ नाम नखुलाउने सर्तमा एक लेखापढी व्यवसायीले भने, ‘कसैको अनुगमन छैन, सकेसम्म इलाका प्रशासन कटारी प्रमुखलाई मिल्ने गरी पैसा असुलिन्छ, बाडफाँड गरिन्छ।’ सेवाग्राहीसँग कानुनी नियमभन्दा बाहिर गएर पैसा लिनु भनेको घुस नै हो। इलाका प्रशासन कार्यालय कटारीका पौडेलले निरन्तर अनुगमन गरिहेको बताउँदै आएका छन्।

जिल्ला नापी र मालपोतको पनि कमी छैन घुस काण्ड

गएको चैत्र २९ गते पचास हजार घुससहित जिल्ला नापी कार्यालय गाईघाटका हाकीम प्रमुख श्यामबाबुप्रसाद साह ५० हजार रुपैयाँ घुससहित रंगे हात पक्राउ परे। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेर अहिले थुनामा राखिरेको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख विष्ण्ुाकुमार कार्कीले जानकारी दिएका छन्। सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सासुधार र संशोधन गरिदिने भन्दै साहले दुई लाख रुपैयाँ घुस मागेको मध्ये ५० हजार पेश्की र बाँकी काम सम्पन्न पछि लिने दिने सहमतिमा पेश्की रकम बुझ्दै गर्दा  पक्राउ परेका थिए।

यसैगरी जिल्ला अर्को घटना रहेको छ। सप्तरीको कदमाहादेखि खोटाङ दिक्तेल जोड्ने सगरमाथा राजमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा सडक खण्डको मोतिगडा क्याम्पस गेट नजिकको करिब आठ कठ्ठा राजमार्गको जग्गा बिक्री भयो। साविक गाईघाट १ ख किता नम्वर ७०१ को ७ कठ्टा १९ धुर मध्ये राजर्मागमा ७ कठ्ठा १८ धुर बिक्री भएको हो। नापी कार्यालय गाईघाटका सर्वेक्षक शिवचन्द्र ठाकुर पनि राजमार्गको जग्गा किन्ने र बेच्नेसँग मिलेमत्तो गरेको आरोपमा अहिले प्रहरीको नियत्रन्त्रण्मा छन्।

 जग्गा किन्ने ललितपुर खोकना- ३ का नेपाल डंगोल र राजमार्गको जग्गा मेरो जग्गा भन्दै बेच्ने शिवप्रसाद दाहाल र छोरा बुद्धिप्रसाद दाहाल पनि पक्राउ परेका छन्। राजमार्गको एक करोड २७ लाख २० हजारमा बिक्री नापी र मालपोतका कर्मचरीको संठगाँठमा भएको थियो। प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले नक्सा पास गर्ने ठाकुर पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए। ‘जग्गा किनबेच हुँदा नक्सा पास गर्ने सर्वेक्षक ठाकुर नै हुन,’ प्रजिअ कार्कीले भने, ‘अब ठाकुरबाट मालपोत र नापीका को को कर्मचारीले संग्लनता भन्ने बारेमा खुल्छ होला।’ 

सम्बन्धित समाचारहरू:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.