|

काठमाडाैं : महानगरपालिकाले उपत्यकाको सवारी व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको जिपिएस प्रणाली लागू गर्न अध्ययन सुरु गरेको छ। राजधानी काठमाडाैंमा बढ्दो सवारीसाधनसंँगै अव्यवस्थित बसस्टपलाई व्यवस्थित बनाउनका लागि महानगरले जिपिएस प्रणालीको अध्ययन सुरु गरेको हो।

जिपिएस प्रणाली लागू भएपछि जथाभावी बसस्टप गर्ने परिपाटीको अन्त्य हुनुको साथै निर्धारित बसस्टपमा यात्रुले सवारीसाधन आगमनको यथार्थ विवरण थाहा पाउन सक्नेछन्। यसले यात्रुलाई सुविधा पुग्नुको साथै अव्यवस्थित सवारी चापलाई कम गरी सवारी सुशासन कायम गर्न सकिने विश्वास महानगरले लिएको छ।

महानगरले विशेष गरेर सडक सुशासन कायम गर्दै प्रभावकारी सार्वजनिक यातायातका लागि अन्तर्राष्ट्रियस्तरका गाडी सञ्चालन गर्नेबारे पनि छलफल अघि बढाएको कार्यकारी प्रमुख यादवप्रसाद कोइरालाले जानकारी दिए। बिहीबार राजधानीमा आयोजित ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धि साथै सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी कार्यक्रममा उनले ट्राफिक लाइट व्यवस्थापन र सडक सुशासनमा महानगरीय ट्राफिक प्रहरीसँग सहकार्य गर्न महानगर तयार रहेको पनि जानकारी दिए।

कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सवारी व्यवस्थापनसम्बन्धी नियम कानुन कार्यान्वयनमा ट्राफिक प्रहरीलाई नागरिक समुदायले सहयोग गर्नुपर्ने बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २०७४ साउनदेखि  २०७५ जेठसम्म नेपाल भरमा ९ हजार ९ सय ८९ सवारी दुर्घटना भएका छन्। तीमध्ये ५ हजार ७ सय ८१ दुर्घटना काठमाडौं उपत्यकामा मात्रै भएका छन्। यो अवधिमा भएको सवारी दुर्घटनामा परी मुलुकभर २ हजार ३१८ जनाले ज्यान गुमाएका छन्। उपत्यकामा भएको दुर्घटनामा परी १६८ जनाले ज्यान गुमाए। त्यस्तै, दुर्घटनामा परी घाइते हुनेमा उपत्यकामा ११ हजार ३१० र मुलुकभर ४ हजार ९९ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.