|

नवदुर्गा गाउँपालिका डडेल्धुरा जिल्लामा अवस्थित छ। जिल्लाका साविकका मणिलेक, कोटेली, नवदुर्गा र बेलापुर गाउँ विकास समिति मिलाएर नवदुर्गा गाउँपालिका बनाइएको हो।

नवदुर्गा गाउँपालिकाको कुल क्षेत्रफल १४१.८९ वर्ग कलोमिटर रहेको छ। यो गाउँपालिकामा पाँचवटा वडा छन्। गाउँपालिकाको कुल जनसंख्या १९ हजार ९५७ छ। यहाँको घरधुरी संख्या चार हजार १३२ रहेको छ। यस गाउँपालिकाको साक्षरता दर ६३.३९ प्रतिशत रहेको छ। नवदुर्गा गाउँपालिकामा ब्राह्मण, क्षेत्री र दलित समुदायको बसोबास छ।

मष्टा भगवती, नवदुुर्गा भगवती, विजयाशैनी भगवतीलगायतका धार्मिक पर्यटकीय क्षेत्र यहाँ छन्। सडक मार्गबाट जिल्ला सदरमुकमदेखि नवदुर्गा गाउँपालिका २५ किलोमिटर टाढा छ। 

गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नवदुर्गा गाउँपालिकाको अध्यक्षमा तत्कालीन नेकपा एमालेले जित्यो भने उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए। गाउँपालिकाको अध्यक्षमा एमालेका कवीन्द्र विष्ट विजय भए भने उपाध्यक्षमा कांग्रेसकी डम्मरी ओली विजयी भइन्। 

गाउँपालिकाको अध्यक्ष पदमा एमालेका विष्ट दुई हजार ९६९ मत प्राप्त गरी विजयी भएका हुन्। गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी ओलीले अत्यधिक बहुमत प्राप्त गरेर जीत हासिल गरेकी छन्। उनले तीन हजार सात मत प्राप्त गरेकी हुन्।

वि. सं. २०३० असार १५ गते साविकको बेलापुर गाविस– ३, हाल नवदुर्गा– ४ सुवाकोटमा जन्मेका विष्टले लामो समय स्वास्थ्य क्षेत्रमा काम गरे। साथै उनले राजनीति पनि गरे। गाउँपालिका अध्यक्ष विष्टसँग डडेल्धुराको स्वास्थ्य क्षेत्रमा २४ वर्ष काम गरेको अनुभव पनि छ। विष्टले २४ वर्षसम्म डडेल्धुराको स्वास्थ्य क्षेत्रमा सिनियर अहेवको रूपमा काम गरेका हुन्।

निर्वाचनमा विजयी भइसकेपछि जनप्रतिनिधि भएर अहिलेसम्म गरेको काम, अबका वर्षहरूमा गर्ने योजनालगायतका विविध विषयमा केन्द्रित रही थाहाखबरकर्मी प्रकाश पार्कीले गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टसँग गरेको कुराकानी प्रस्तुत छ।

जनप्रतिनिधिका रूपमा गाउँपालिकामा एक वर्ष बिताउनुभएको छ। केके काम गर्नुभयो यो एक वर्षमा?

एक वर्षभित्र हामीले गर्न त थुप्रै काम गरेका छौँ। भौतिक पूर्वाधारको ठूलो अंश लिएको लगभग पुँजीगत बजेटको भण्डै २५ प्रतिशत बजेट ग्रामीण सडकहरूमा खर्च गरेका छौँ। हामीले ४६ किलोमिटर सडक विस्तार गरेका छौँ। धार्मिक पर्यटनका लागि विभिन्न मठमन्दिरहरू निर्माणमा पनि हामीले सहयोग गरेका छौँ। 

कृषि क्षेत्रमा तरकारीका बिउ वितरण गरेका छौँ। तरकारीका पकेट क्षेत्र निर्धारण गरेर आलु खेती, मैरी पालनलगायतका पकेट क्षेत्र बनाएका छौँ। तरकारी खेतीमा युवा स्वरोजगार कार्यक्रमलाई जोडेर हामीले १५–२० हजार रुपैयाँ अनुदान दिएर सहयोग गरेका छौँ।

पशुपालनमा हामीले भैँसीको दूधको पकेट क्षेत्र भनेर भैँसीका पाडा र राँगाहरू वितरण गरेका छौँ। साथै बाख्रा पालनमा पनि अनुदान दिएका छौँ भने आगामी आर्थिक वर्षमा पशु र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर कुनै पकेट क्षेत्र तोकेर यसलाई नमुनाका रूपमा अगाडि लैजाने तरकारी खेतीहरू, यसपछि पशुपालनमा बाख्रा र कुखुरा पालनलाई व्यावसायीकरण गरेर अगाडि लैजाने योजना छ। यस्तै, मैरी पालनलाई पनि विशेष महत्त्व दिई मह प्रशस्त हुने ठाउँमा व्यावसायीकरण गर्ने योजना रहेको छ। 

स्वास्थ्य क्षेत्रमा ‘एक गाउँ एक स्वास्थ्यकर्मी’ विशेष कार्यक्रमअन्तर्गत घरमै गएर दम, उच्च रक्तचाप, सुगरका जेष्ठ नागरिक बिरामीहरूलाई औषधिहरू दिने र चेक जाँच गरेका छौँ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले तोकेका ४०–४५ किसिमका औषधिहरूको अभाव हुन दिएका छैनौँ। 

यस्तै, बर्थिङ सेन्टरहरूलाई व्यवस्थित गर्दै लगिरहेका छौँ। यस वर्ष दुई दिने विशेषज्ञ स्वास्थ्य शिविरहरू प्रत्येक वडामा सञ्चालन गर्‍यौँ, जसमा स्वास्थ्य संस्थामा पुग्न नसकेका नागरिकहरूलाई घरमै सेवा प्रदान गर्‍यौँ, जसमा हामीले तीन हजार बढी बिरामीको उपचार गरेका थियौँ। 

यस गाउँपालिकाले शिक्षा क्षेत्रमा केके काम गरेको छ? बताइदिनुस् न!

यो एक वर्षको अवधिमा हामीले शिक्षा क्षेत्रमा पनि केही सुधार गर्ने प्रयास गरेका छौँ। विद्यालयहरूलाई शैक्षिक सामग्री दिने र मर्मत गर्ने कुरा त छँदैछ। हामीले प्रधानाध्यापक बैठकको आयोजना गरेर गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सुझाव संकलन गर्ने गरेका छौँ। ‘एक वडा एक नमुना विद्यालय’ कार्याक्रम पनि सञ्चालन गर्‍यौँ, जसमा हामीले पाँचवटै वडामा एक एकवटा कार्यक्रम सञ्चालन गरेर अहिले ती वडाहरूमा शैक्षिक क्षेत्रमा सुधार आएको छ। आगामी दिनमा पनि ती कुराहरूमा निरन्तरता दिने हाम्रो योजना छ।

चुनावी प्रतिबद्धताहरू के कति पूरा भए यस बीचमा?

बहुचर्चित जलाशययुक्त पश्चिम सेती विद्युत् आयोजना बनाउने कुरा हाम्रो योजनाभित्र पर्दैन। विगत ३०–४० वर्ष पहिलेदेखि सेती जलविद्युत् आयोजना हुन्छ हुन्छ भने कुरा भएको हुनाले मैले पनि समय समयमा यो पश्चिम सेतीको कुरालाई उजागर गरिरहेको छु। यो हुनुपर्छ, सरकारले यो वा त्यो मानेमा कुनै पनि हालतमा यसलाई रोकी राख्नुहुँदैन। 

चुनावका बेला भनेका सबै प्रतिबद्धताहरू एकै वर्षमा पूरा हुने त कुरा भएन। चुनावी प्रतिबद्धता गर्दा मैले आधारभूत कुराहरू पुर्‍याउँछु भनेको थिएँ। चुनावका बेला जनताका माझमा गरेका प्रतिबद्धताहरू आफ्नो कार्यकालभित्र पूरा गर्छु।

सडक सञ्जालका कुराहरू, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना गर्नेलगायतका कुराहरूमा म लागिरहेको छु। मैले गाउँपालिकाबाट गर्ने कुरा होस् वा प्रदेश सरकार र केन्द्रीय सरकारसँग पनि सहकार्य गरेर मैले अघि भनेका कुराहरू अगाडि बढाउनमा लागिरहेको छु।

तपाईंले नवदुर्गा गाउँपालिकाका मुख्य समस्याहरू केके देख्नुभएको छ?

हाम्रो गाउँपालिकाभित्रको मुख्य समस्या भनेको सडक सञ्जाल नै हो। हाम्रो गाउँपालिकाका सबै सडकहरू धुलाम्य छन्। अझै हामीले ग्राभेल गर्न सकिरहेका छैनौँ। हामीले सबै वडामा सडक विस्तार गर्ने योजना बनाएका छौँ र गर्छौँ पनि। अझै हाम्रो गाउँपालिकाका वडा नम्बर ४ र ५ को सडक गाउँपालिकाको केन्द्रसम्म पुगिसकेको छैन। 

आउने आर्थिक वर्ष २०७५/०७६ मा हामीले सबै वडामा सडक सञ्जालको पहुँच पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेका छौँ। साथै हामी सडकको स्तरोन्नति गर्ने कार्यमा पनि लागिपरेका छौँ। 

तपाईंको गाउँपालिका नजिकै बहुचर्चित जलाशययुक्त पश्चिम सेती विद्युत् आयोजना छ। यसको बारेमा के हुँदै छ?

बहुचर्चित जलाशययुक्त पश्चिम सेती विद्युत् आयोजना बनाउने कुरा हाम्रो योजनाभित्र पर्दैन। विगत ३०–४० वर्ष पहिलेदेखि सेती जलविद्युत् आयोजना हुन्छ हुन्छ भने कुरा भएको हुनाले मैले पनि समय समयमा यो पश्चिम सेतीको कुरालाई उजागर गरिरहेको छु। यो हुनुपर्छ, सरकारले यो वा त्यो मानेमा कुनै पनि हालतमा यसलाई रोकी राख्नुहुँदैन। 

सरकारले प्रस्तुत गरेको बजेटमा पनि यसबारे कुरा आएको छ। संसदमा अर्थमन्त्रीज्यूले बनाउने भनेर बजेट भाषण त गर्नुभएको छ, तर अब बनाउने के हो? कार्यविधि केही पनि बनाइएको छैन। प्रत्येक दुई–चार वर्षमा यो परिर्वतन हुँदै जान्छ तर सरकारले किन हो यसलाई सञ्चालनमा ल्याउन नसकेको बुझ्न सकिएको छैन। 

गाउँपालिकाको समृद्धिका लागि तपाईंले सोचेको बाँकी चार वर्षका योजना के छन्?

सबै ठाउँमा हामीले यातायात पुर्‍याइसकेपछि आर्थिक समृद्धिका कुराहरूलाई अगाडि बढाउँछौँ। त्यसमा हामी विशेष गरेर स्वरोजगारका कुराहरूलाई प्राथमिकता दिन्छौँ। 

गाउँपालिकासँग भएको सम्भाव्यतालाई अध्ययन गरेर त्यसैमा टेकेर हामीले स्वरोजगारमूलक कार्यक्रमहरूलाई अगाडि बढाउने, साना उद्योगहरूको स्थापना गर्ने, गुणस्तरीय शिक्षा, स्वास्थ्य पुर्‍याउनेमा लागिरहेका छौँ र त्यसमा म प्रतिबद्ध पनि छु।  

नवदुर्गा गाउँपालिकाले प्रदेश र संघीय सरकारबाट के अपेक्षा गरेको छ?

हामीले संघीय सरकार र प्रदेश सरकारबाट केही स्वरोजगारका कार्यक्रमहरू, यहाँका धुलाम्य सडकहरूलाई गुणस्तरीय वा कालोपत्रे बनाइदिने, ठूलाठूला खानेपानी र सिँचाइका योजनाहरूमा सहयोगको अपेक्षा गरेका छौँ। अन्य कुराहरू त हामी आफैँ पनि गर्न सक्छौँ।

गाउँपालिका सञ्चालन गर्दा नीतिगत वा कानुनी समस्याहरू छन् कि?

गाउँपालिकामा अझै कर्मचारीहरूको समस्या नै छ। यदि कुनै पनि काम गर्ने हो भने कर्मचारीको काम पर्छ। यहाँ प्राविधिक कर्मचारीदेखि लिएर प्रशासनिक कर्मचारीहरूसम्म तोकेअनुसार भएनन् भने काम अगाडि बढाउन समस्या हुन्छ। 

केन्द्रबाट कर्मचारीहरू तुरुन्तै आउँछन् भनेर भन्छन्, कहिले हामीलाई नै भर्ना गर भन्छन् फेरि कहिले रोक्छन्। यस्ता कुराहरू आएको हुनाले हामीलाई केही समस्या परिरहेको छ। नीतिगत समस्या त छैन तर कार्मचारीको भने ठूलो समस्या छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.