|

क्रोएसियासँग पनि अर्जेन्टिना अल्झिए मेस्सीहरूको विश्वकप यात्रा कस्तो रहला? अहिले धेरैको मनमा उठिरहेको जिज्ञासा हो यो। विश्वकपको छनोट यात्रा जस्तो विषम थियो, सायद त्यस्तै होला। समूहकै दुर्बल मानिएको आइसल्यान्डसँग बराबरी खेलेपछि अहिले अर्जेन्टिना सकसमा परेको छ। ठूलो दबाबमा छ, निश्चयै बलियो अर्जेन्टिनामाथि। यो दबाबबीच आज मेस्सी, एग्वुरो र हिग्वाइनहरूले आत्मविश्वासी क्रोएसियाको सामना गर्नेछन्। यो म्याच अर्जेन्टिनाका लागि एक प्रकारले ‘गर या मर’को म्याच हुनेछ।

समस्या आइपरेपछि चारैतिरबाट घेरिन्छ। हो, अहिले अर्जेन्टिना समस्याहरूको माखेसाङ्लोमा चारैतिरबाट बेह्रिएको अवस्थामा छ। मेस्सीले पेनाल्टी चुकेको आलोचना अहिले नै साम्य भइसकेको छैन। यस्तैमा प्रशिक्षक जर्ज साम्पाउलीमाथि यौन शोषणको आरोप लागेको छ। टिम राम्रो खेलिरहँदा सबै कुरा ठीकठाक चल्छ। टिमको प्रदर्शन खस्केको बेला ससाना कुराहरूले सताउने गर्छन्। कमी कमजोरीको लस्कर देखापर्छ। गुण दोषमा फेरिन्छ र यसले सबै कुरामा प्रभाव पार्छ।

आइसल्यान्डसँगको म्याचमा मेस्सी मात्र नचलेका होइनन्, टिम नै नचलेको हो। सत्य हो, मेस्सीले पेनाल्टीमा नचुकाएको भए आज अर्जेन्टिनाको ३ अंक हुन्थ्यो। अर्थात् समूहमा क्रोएसियाभन्दा मुनि दोस्रो स्थानमा तर अल्झ्यो र नै अहिले सकसमा छ, अर्जेन्टिना। केही वर्षयता अर्जेन्टिनाले विडम्बना भोग्दै आएको छ, त्यो के हो भने ठूला टुर्नामेन्टहरूमा लगातार मेस्सी (र अरू पनि) पेनाल्टीलाई गोलमा परिणत गर्न चुकिरहेका छन्। पेनाल्टी चुकेकै कारण अर्जेन्टिनाले कोपा अमेरिका कप गुमाएको थियो र अहिले आइसल्यान्डसँगको म्याचमा अल्झेको छ।

आइसल्यान्डसँगको म्याचपछि साम्पाउली, मेस्सी, एग्वुरो डी मारियाहरूले आफ्नो कमजोरी स्वीकारे तर कमजोरी स्वीकार्दा उनीहरूले खेल्न नसकेको यथार्थभन्दा धेर बहाना नै अघि राखे। भन्नेहरूले भन्लान्, ‘आइसल्यान्डले अत्यधिक ‘डिफेन्सिभ’ खेल्यो। म्याच जित्न होइन तर बराबरीमा टुंग्याउन नै ध्यान दियो।’ तर यो आइसल्यान्डको रणनीति थियो। फ्रान्समा खेलिएको पछिल्लो युरोमा यो रणनीतिले नै आइसल्यान्डलाई क्वार्टर फाइनलसम्म पुर्‍याएको थियो। डिफेन्सिभ खेलिरहेको लाग्ने आइसल्यान्डले मौका पाउँदा कतिसम्म सटिक ‘काउन्टर अट्याक’ गर्छ, युरो कपमा इङ्ग्ल्यान्डसँगको म्याचको हाइलाइट्स हेर्नुहोस्। नभए अर्जेन्टिनासँगको पहिलो म्याच। तपाईंले थाहा पाइहाल्नुहुनेछ।

आइसल्यान्ड पक्कै लरतरो टिम होइन। अहिले अर्जेन्टिनासामु आफू जस्तै बलियो क्रोएसिया छ। क्रोएसिया, जसले पहिलो म्याचमा फुर्तिलो नाइजेरियालाई हराइसकेको छ। अफ्रिकी देशविरुद्ध जीतले क्रोएसियाको आत्मविश्वास उच्च छ। के आत्मविश्वासी क्रोएसियालाई पराजित गरी अर्जेन्टिना जीतको लयमा फर्किनेछ? या फेरि ड्र खेलेर आफ्नो यात्रालाई अझ सकसपूर्ण बनाउनेछ? अथवा पराजित भई सपना तुहाउनतिर लाग्नेछ? अहिले नै तोकेर भनिहाल्न सकिँदैन। यतिचाहिँ पक्कै हो, क्रोएसियासँगको म्याच अर्जेन्टिनाका लागि सहज हुनेछैन। क्रोएसिया त्यो टिम हो, जसले ठूल्ठूला टिमलाई जित्ने क्षमता राख्छ। मिडफिल्डरमा लुका मोड्रिक र इभान र्‍याकिटिक जस्ता विश्वस्तरमा खेलाडी छन्। त्यहीँ मारियो मान्डुस्की जस्ता स्ट्राइकर छन्, जसले हतपत्त गोल गर्ने अवसर गुमाउँदैनन्।

सबैभन्दा ठूलो कुरा क्रोएसियाली खेलाडीहरूमा 'टिम स्पिरिट' छ। फुटबल सामूहिक प्रयासले जित्ने कुरा उनीहरूलाई राम्ररी थाहा छ। नाइजेरियालाई जित्दा क्रोएसियाली खेलाडीहरूमा यो टिम भावना गजबको देखिएको थियो। यसको ठीकविपरीत अर्जेन्टिनी खेलाडीहरूमा यो टिम भावना उस्तो देखिँदैन। एक एक विश्वस्तरका खेलाडीहरू भए तापनि उनीहरूले एकल प्रदर्शनलाई अधिकतर जोड दिन्छन्। नभए मेस्सीमाथि धेरजसो भर पर्छन्। आइसल्यान्डसँगको खेलमा पनि अर्जेन्टिनी खेलाडीहरूको यो एकल प्रदर्शनमाथिको जोड देखिएको थियो। मेस्सी, एग्वुरो डी मारियाहरूको एकल प्रदर्शनले कहिलेसम्म जिताउन सक्छन्? साम्पाउलीले युवा ट्यालेन्ट पाउलो डिबेलालाई नखेलाउनु कारण के हो? अर्जेन्टिनाका साँचो समर्थकहरूको मनमा अहिले यस्तै प्रश्नहरूले घर बनाएर बसेको हुनसक्छ।

क्रोएसिया बलियो छ। लरतरो र पानीमरुवा प्रदर्शन गरे म्याच मात्र होइन, टुर्नामेन्ट नै अर्जेन्टिनाको हातबाट फुत्किनेछ। यसमा दुई मत छैन। यसैले पछिल्लो खराब प्रदर्शनलाई बिर्सेर आजको म्याचमा उम्दा प्रदर्शन गर्नु नै अर्जेन्टिनाले आफू ठूलो टिम रहेको प्रमाण पेस गर्नु हो। यो म्याचमा मेस्सीहरूले जति राम्रो प्रदर्शन गर्नेछन्, टिमका लागि उति राम्रो हुनेछ किनभने समूह चरणको अन्तिम म्याच पनि बलियो नाइजेरियासँग खेल्नु छ। कम्तीमा ड्रले अर्जेन्टिनी सपनालाई जिउँदै राखे पनि अन्तिम म्याच जित्नैपर्ने ठूलो दबाब हुनेछ। हामीले देखेका छौँ, दबाबमा अर्जेन्टिनी टिम कसरी भंग हुन्छ? यसैले बलियो अर्जेन्टिनाअघि जीतबाहेक अर्को विकल्प छैन।

यसको विपरीत क्रोएसियाको बाटो केही सहज छ। बाटो सहज भएकै कारण लुका मोड्रिकहरूलाई भोलिको म्याचमा उस्तो दबाब छ। यद्यपि, यो म्याच जिते क्रोएसिया अघिल्लो चरणमा पुग्नेछ, निश्चित छ। यसले समूहको अन्तिम म्याच अपेक्षाकृत कमजोर आइसल्यान्डसँग खेल्नेछ, जुन क्रोएसियाका लागि चटारो म्याच हुँदै होइन। अहिलेसम्म अर्जेन्टिना र क्रोएसिया विश्वकपमा एक पटक मुखामुखी भएका छन्। सन् १९९८ को विश्वकपमा भएको यो भीडन्तमा अर्जेन्टिनाले क्रोएसियालाई १-० ले पराजित गरेको छ। इतिहास हेरेर अर्जेन्टिनी प्रशंसकहरू अवश्यै खुसी हुनसक्छन् तर उनीहरूको यो खेल मेस्सीहरूको प्रदर्शनमा भरपर्नेछ।

आइसल्यान्ड जस्तै पानीमरुवा प्रदर्शन गरे यस पटक इतिहासले पनि कोल्टे फेर्नेछ। आजको म्याचमा इतिहासले कोल्टे फेर्नु भनेको अर्जेन्टिनाको विश्वकप यात्रा धरापमा पर्नु हो। के यति छिट्टै अर्जेन्टिनी सपना धरापमा पर्छ त?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.