|

ओखलढुंगा : सिद्धिचरण नगरपालिका २ मा दर्ता नै नगरी निजी विद्यालय सञ्चालन गर्ने सञ्चालक र प्रिन्सिपल धरौटीमा छुटेका छन्। गैरकानुनी रुपमा विद्यालय चलाउँदै आएका गुरुकूल एकेडेमीका सञ्चालक बलराम कटवाल र प्रिन्सिपल दुर्गा लिम्बु धरौटीमा छुटेका हुन्। 

कटवाललाई ५१ हजार र लिम्बुलाई ११ हजार रुपैयाँ धरौटीमा छोडिएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए। शिक्षा ऐन ०७४ (नवौं संसोधन) को दफा १७ को १ ‘क’ अनुसार अबैध रुपमा शैक्षिक गतिविधि सञ्चालन गरेको अभियोगमा मुद्दा दर्ता गरी धरौटीमा छोडिएको भट्टराईले जानकारी दिए। कटवालले दर्ता नगरी शैक्षिकसत्र ०७५ को सुरुबाटै गुरुकूल ऐकेडेमीमा प्ले ग्रुपदेखि कक्षा चारसम्म पठनपाठन संचालन गरेका थिए। गैरकानुनी रुपमा विद्यालय सञ्चालन गरेको उजुरी स्थानीयले असार २ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेका थिए। उजुरीका आधारमा प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको थियो।

अबैध रुपमा संचालन गरेको विद्यालय सञ्चालकबिरुद्ध कानुनी कारवाही सुरु भए पनि दर्ता नभएको विद्यालय भने अझै सञ्चालन भइरहेको छ। राजनीतिक पहुँचका आधारमा गैरकानुनी रुपमा संचालन भएको विद्यालय बन्द गर्नुपर्ने सरोकारवालाको भनाइ छ  गैरकानुनी भनेर मुद्दा चले पनि स्थानीय प्रशासन र नगरपालिकाले विद्यालय बन्द भने गराएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.