‘सभापतिले पार्टीभित्र अधिनायकवाद लाद्न खोज्नुभयो’

|
फोटो : गोविन्द परियारको फेसबुकबाट

काठमाडौं : मकवानपुरको हेटौँडामा जारी कांग्रेस जिल्ला सभापतिको भेलामा जिल्ला सभापतिको बोल्ने क्रम सकिएको छ। ७७ जिल्ला मध्ये ७२ जिल्लाका जिल्ला सभापतिले आफ्नो धारणा राखेका छन्।

अधिकांश जिल्ला सभापतिले पार्टीको हारको मुख्य कारण नेतृत्व तह भएको आरोप लगाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान र पद्धतिअनुसार नचलाएका कारण पार्टीले हार व्यर्होनु परेको उनीहरूले आरोप लगाएका थिए। देउवा पक्षका जिल्ला सभापतिले पनि देउवाको चर्को आलोचना गरेका थिए। पार्टीलाई विधानअनुसनार सञ्चालन नगर्दा पार्टी यो हविगतमा आएको जिल्ला सभापतिहरूको तर्क थियो। 

कतिपय जिल्ला सभापतिहरूले पार्टी सभापतिको खुलेर आलोचना गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। उनले भने, ‘धेरै जिल्ला सभापतिहरूले पार्टी सभापतिले पार्टीको विधानअनुसार नचल्दा पार्टी हारेको धारणा राख्नुभयो। उहाँहरूले सभापतिलाई अब सुधारिएर जान आग्रह गर्नुभयो।’

यस्तै धेरै जिल्ला सभापतिहरूले पार्टीले वाम गठबन्धनका कारणभन्दा पनि आफ्नै कारणले निर्वाचनमा पराजय भोग्नुपरेको धारणा राखेको बताए। उनले भने,‘वाम गठबन्धनभन्दा पनि आफ्नै कारणले चुनाव हारेको साथीहरूको धारणा थियो। उहाँहरूले टिकट बाँड्दा एकलौटी निर्णय गरिएकाले पार्टी हारेको धारणा राख्नुभयो।’

यस्तै, जिल्ला सभापतिहरूले अधिकार नपाएको पनि गुनासो गरे। उनीहरूले आफूहरूको अधिकार कटौती भएका कारण जिल्लास्तरका नेताहरूलाई नियन्त्रणमा राख्न नसकिएको गुनासो गरे। तीन तहको निर्वाचनमा पार्टी केन्द्रले परिपत्र गर्ना साथ आफूहरूले मान्नु पर्ने अवस्था आएका कारण पार्टीले हार व्यहोर्नुपरेको जिल्ला सभापतिहरूको गुनासो थियो। जिल्ला सभापतिहरूले अब आफूहरूलाई अधिकार दिनसमेत केन्द्रीय समितिलाई आग्रह गरे। 

यस्तै जिल्ला सभापतिहरूले पछिल्लो समय कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको आरोपसमेत लगाएका छन्। भेलामा बोल्ने क्रम सकिएपछि एक जिल्ला सभापतिले भने,‘अहिले पार्टी संसदीय दलको नेता पनि पार्टी सभापति देउवा नै हुनुहुन्छ। तर उहाँले संसदमा सशक्त ढंगले कुरा राख्न सक्नुभएन। कम्युनिस्टको घोषणापत्रअनुसार बजेट आएको छैन। यस विषयमा पनि आफ्ना भनाइ राख्न सक्नुपर्थ्यो।’

जिल्ला सभापतिहरूले अब पनि संसदमा सशक्त प्रतिपक्षको भूमिका खेल्न नसके अर्को निर्वाचानमा पनि पार्टीको अवस्था उस्तै रहने धारणा राखे। 

यस्तै जिल्ला सभापतिहरूले अब पार्टी संगठ विस्तार र निर्माणतर्फ लाग्नुपर्ने धारणा राखेको केन्द्रीय सदस्य पौडेलले जानकारी दिए। उनले भने,‘ जिल्ला सभापतिहरूले अब पार्टीलाई विधानअनुसार स्थानीय तहदेखि नै विस्तार गर्दै लैजानु पर्ने धारणा राख्नुभयो। उहाँहरूको माग तत्काल महाधिवेशनको थिएन। तर स्थानीय तहमा पनि पार्टीलाई बलियो बनाउँदै महाधिवेशन म्याद सकिने समयभन्दा एक दिन पनि ढिला गर्न नहुने धारणा राख्नु भएको थियो।’

यस्तै सभापतिहरूको भेलामा देउवा पक्षका भनिएका जिल्ला सभापतिहरूले नै देउवको आलोचना गरेका थिए। देउवा निकट मानिएका सभापतिहरूले पार्टी सभापति देउवाले पार्टीभित्र अधिनायकवाद लाद्न खोजेको आरोप लगाए। भेलामा सहभागी एक जिल्ला सभापतिले भने,‘सभापतिले कम्युनिस्ट सरकारले अधिनायकवाद ल्याउछ भन्नुभयो। तर पार्टीभित्र नै उहाँले अधिनायकवाद ल्याउन खोज्नु भएको छ।’

जिल्ला सभापतिहरूको सुझावलाई लिपिवद्ध गरिएको छ। बैठक शुक्रबार सभापतिले सम्बोधन गरेपछि सकिने बताइएको छ। सभापति देउवाले भेलामा उठेका प्रश्नमाथि आफ्ना धारणा राख्ने छन्।

हिन्दु राष्ट्रको कुरा उठ्यो

पार्टीका दिवंगत नेता खुमबहादुर खड्काले पार्टीभित्र हिन्दु राष्ट्रलाई बहसको विषय उठाउँदै आएका थिए। उनले हिन्दु राष्ट्रका लागि अभियाननै चलाए। पछिल्लो समय कांग्रेसभित्र हिन्दु राष्ट्रको कुरा सुनिएको थिएन।  

तर जिल्ला सभापतिको भेलामा भने हिन्दु राष्ट्रको मुद्दा उठाउनुपर्ने माग उठ्यो। विभिन्न पाँच जिल्लाका सभापतिहरूले हिन्दु राष्ट्रको मुद्दालाई पार्टीले उठाउनुपर्ने माग राखेका छन्। 

पार्टीका दाङ सभापति कीर्तिबहादुर खड्का, पर्वत सभापति, खिमप्रसाद धिताल, अछामका सभापति भरत स्वाँर, डडेल्धुरा सभापति कर्ण मल्ललगायतले अब पार्टीले धर्मनिरपेक्षको मुद्दालाई त्यागेर हिन्दु राष्ट्र बनाउनुपर्ने  सुझाव दिएका थिए। 

‘नियतले नै सिटौला, सिंह र केसीलाई बोल्न दिइएन’

जिल्ला सभापतिको भेलाबाट पार्टी एक भएको कार्यकर्तालाई सन्देश दिइने लक्ष्य थियो। तर त्यो उद्देश्य पूरा नहुने भएको छ। भेलामा पनि गुटगत विवादले उग्र रूप लिएको छ। 

भेला उद्घाटनदेखि नै गुटगत विवाद सुरु भयो। तर पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कुनै विवाद नरहेको दाबी गरेका छन्। उद्घाटन कार्यक्रममा पार्टी नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी असन्तुष्ट भए। सिंह र केसी मञ्चमा गएर बसे। तर सिटौला भने मञ्चमासम्म गएनन। सिटौला निकट एक नेता भन्छन्,‘ सिंह र केसीलाई झुक्याइयो। सभापतिले पेल्न खोजेको सिटौलाले थाहा पाउनुभयो र उहाँ मञ्चमा जानुभए।’ 

ती नेताले कार्यक्रममा समय नभएर बोल्न नदिएको नभइ नियतबस बोल्न नदिइएको दाबी गरे। उनले भने,‘कार्यक्रममा समय नभएर बोल्न नदिइएको होइन। उहाँहरूले नियतले नै हो। कार्यक्रम सकिएपछि नाचगान गरेर बस्नुभयो। उहाँहरूले निषेध नै गर्न खोज्नु भएको हो।’

सिटौला, सिंह र केसीसहित एक युवा नेतालाई बोल्न दिइनुपर्ने धारणा राखे। उनले भने,‘सभापतिमा लड्नुभएका कृष्ण सिटौला, अनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्नुभएको सिंह र एक जना युवा नेतालाई बोल्न दिनुहुन्छ भन्ने सोचेका थियौँ। तर उहाँहरूले दिनुभएन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.