|

काठमाडौं : रुसमा जारी विश्वकप फुटबल २०१८ को बिहीबार भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले बराबरी खेलेका छन्। डेनमार्क र अष्ट्रेलियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन्।

विश्वकपको समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा डेनमार्कका लागि क्रिष्टियन इरिकसनले खेलको सातौँ मिनेटमा नै गोल गरेर खाता खोलेका थिए। तर त्यसको जवाफमा अष्ट्रेलियाका लागि मिल जेडिनकले ३८ औँ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए।

त्यसपछि खेल अवधिभरी पटक पटक दुवै पक्षबाट गोल गर्ने प्रयासहरू भएपनि गोल थप्न नसकेपछि खेल एक एकको बराबरीमै सीमित भएको हो।

यस पटकको विश्वकपको पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित भएको अष्ट्रेलियाले डेनमार्कसँग बराबरी गर्न सफल भएकाले अघिल्लो चरणको सम्भावना जिवितै रहेको छ। डेनमार्कले भने आफ्नो पहिलो खेलमा पेरुलाई १–० ले पराजित गर्न सफल भएको थियो।

बिहीबार नै समूह ‘सी’ कै दोस्रो खेल राति पौने ९ बजे पेरु र फ्रान्स भिड्न लागेका छन्। पहिलो चरणमा डेनमार्कसँग पराजित भएको पेरुलाई फ्रान्स पनि कडा चुनौती हुने अनुमान गरिएको छ। फ्रान्सका खेलाडीले यसअघिको खेलमा अष्ट्रेलियालाई पराजित गरेका थिए।

बिहीबारको तेस्रो खेल अझ रोचक हुने अनुमान गरिएको छ। राति पौने १२ बजे चर्चित खेलाडीहरू सहभागी अर्जेन्टिना र क्रोएसियाका बीचमा प्रतिश्पर्धा हुने भएकाले थप चासोका साथ प्रतिक्षा गरिएको छ। अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सीका कारण पनि यो खेल धेरैले प्रतिक्षा गरेका हुन्।

अर्जेन्टिनाले पहिलो राउण्डमा आइसल्याण्डसँग बराबरी खेल्दै १ अंक बटुलेको छ भने क्रोएसियाले नाइजेरियालाई हराउँदै ३ अंक बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.