|

चितवन :  पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनस्थित रत्ननगर नगरपालिकाको बजारको चार लेनको नमुना सडकमा विवाद चुलिएको छ। गुणस्तरहीन भएपछि एकचरण भत्काएर पुनः कालोपत्रे गरिएको सडक दुरुस्त बन्न नसकिरहेका बेला पुन: विवाद चुलिएको हो। 

सडकको दायाँबाँयाँ चौडाइ कुल ५० मिटरको बनाइए पनि मध्यविन्दु (सेन्ट्रल प्वाइन्ट) तल्लो भागमा सारेको आरोप स्थानीयले लगाएपछि काम नै रोकिएको छ।सडक निर्माणमा पुन: विवाद देखिएपछि रत्ननगर नगरपालिकाको अगुवाइमा बिहीबार सडक डिभिजन कर्यालय चितवनका इन्जिनियर अरुणकुमार कर्णसहित स्थानीयले रत्ननगरमा आकस्मिक छलफल तथा सडकको स्थलगत अवलोकन गरेका छन्।


 
सो सडकको स्थलगत अवलोकन गरेका इन्जिनियर कर्णले समस्या यथासक्य चाँडो समाधान गर्ने आश्वासन दिए। छलफलमा नगरपालिकाका प्रमुख नारायण वनले सडक बिगार्ने ठेकेदार र इन्जिनियर भन्दै सो विषयमा गृहमन्त्रालयमा समेत लिखित उजुरी गरिसकेको जानकारी दिए। 

२२ सय मिटर सडक निर्माण गर्न तीन वर्ष लाग्नु लज्जाको विषय भएको उल्लेख  भन्दै उनले स्थानीयलाई चित्त बुझ्नेगरी काम गरेर देखाउन इन्जियिनर कर्णलाई आग्रह गरे। रत्ननगर नगरपालिका–२ का वडाध्यक्ष तिलकराज शर्माले सडक अपांगमैत्री नबनेको बताए। स्थानीय रवीन्द्र श्रेष्ठ भौगोलिक अवस्थाको अध्ययन नै नगरी सडक निर्माण गर्दा समस्या आएको दाबी गरे। उनका अनुसार सो सडकको मध्यभाग नै बिचमा नरहेको दाबी गर्दै पुन नापजाँच गर्न भनिएको छ। स्थानीयले सडकको मध्यभागको 'डिभाइडर' ६०\७० सेन्टिमिटर तल्लो क्षेत्रमा सारिएको आरोप लगाएका छन्। ‘सेन्ट्रल प्वाइन्ट तल्लो साइडमा सारिएको छ, यो कसरी भयो छानबिन गर्नुपर्‍यो,’ श्रेष्ठले भने।

विभिन्न क्षेत्रमा सडक अग्लो होचो बनाएको, दुई छेउमा अग्ला पर्खाल लगाएर स्थानीयको घरमा जान खुड्किला राख्नुपर्ने अवस्था आएको, ढललाई बेवास्ता गरेर सर्भिसलेन निर्माणको काम तीव्र पारिएको लगायतआरोप स्थानीयले लगाएका छन्। सडकभन्दा फुटपाथ धेरै अग्लो बनाइएकाले अपांगलाई समस्या भएको स्थानीय सुन्दर श्रेष्ठले गुनासो गरे।

पूर्व पश्चिम राजमार्गमा पर्ने चितवनको रत्ननगर बजार क्षेत्रमा ग्रिनरीसहितको चार लेनको नमुना सडक बनाई दुइतर्फी नै सर्भिस लेन र फुटपाथ बनाउने सडकको योजनामा उल्लेख छ।  दुई हजार २०० मिटरको उक्त सडक म्याद थपिँदासमेत निर्माण सम्पन्न हुन सकेको छैन।  नगर स्तरिय उपभोक्ता समितिका अध्यक्ष रामेश्वर भट्टराईले यहाँ ढलको च्याम्बर समेत व्यवस्थापन नै नगरी धमाधम गिटीले पुरेर लापरवाहीपूर्ण तरिकाले काम गरिरहेको बताए। स्थानीय देवेन्द्रकुमार श्रेष्ठले मुख्यविन्दु (बिच भाग) राम्ररी एकीन नहुँदा पहिले  घर परेकाहरुको अहिले घर नपर्ने र पहिले नपरेका घरहरु अहिले सडकमा पर्ने अवस्था आएको बताए।

'सडकबाट मानिसको घरमा जान भर्‍याङ उक्नुलिपर्ने अवस्था अाउनु विडम्बना हो', रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले भने। रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दवाडीले सडक निर्माणमा केटाकेटी पारा देखिएको बताइन्।

सबैको भनाइ सुनेपछि सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अरुणकुमार कर्णले सडकको मध्यविन्दु यकिन गर्न शुक्रबार नै नापी शाखालाई नापजाँचका लागि पत्र काट्ने र एक हप्ताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। उनले पर्खाल लगाएको ठाउँमा भत्काउन परे भत्काएर समस्या समाधान गरिने समेत बताए। परियोजना ढिलो भएको र बेसलाई फेल भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान अायोगले समेत छानविन गरिरहेको जानकारी दिए। 

विद्युत् पोल, खानेपानीका विभिन्न समस्या र ठेकेदारको पनि केही कमीकमजोरीले सडक निर्माणमा ढिलाई भएको कर्णको भनाइ छ। सम्झौताअनुसार उक्त सडक चार लेन, छुट्टै सर्भिस लेन, ग्रिनरी, रोड डिभाइडर तथा फुटपाथ र ढल निकासका पूर्वाधार समेत निर्माण हुने छ। चार लेनको सडक बनाएर अहिले सर्भिसलेन निर्माणको काम चलिरहेको छ।

करिब ४० करोडको आयोजना भए पनि पहिलो चरणमा चार लेन तथा डिभाडरसहित ढल निर्माण गर्ने गरी १९ करोड ७० लाखमा २०७२ असारमा ठेक्का सम्झौता भएको थियो। श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडाले सडकको स्तरोन्नतिका लागि निर्माणको जिम्मा लिएको हो। स्थानिय निकाय र उपभोक्ताको साझेदारीमा नेपाल सरकारको बजेटमा सडक निर्माण थालिएको हो 

सम्झौताअनुसार २०७३ साल असोजमा निर्माण सक्ने गरी जिम्मा लिएको श्रेष्ठ कन्ट्रक्सनले निर्माण नसकेपछि एक बर्षका लागि थपिएको म्याद समेत गएको २०७४ असोजमा सकिएको थियो। अहिले आगामी असोजसम्मका लागि म्याद थपको माग गरिएको भए पनि अहिलेसम्म थपिएको छैन।

श्रेष्ठ कन्स्ट्रक्सनका एकजना कर्मचारी मुकेश तामाङ अहिलेसम्म ७८ प्रतिशत काम सकिएको र फिल्डमा झण्डै ९० प्रतिशत काम सकिएको दाबी गर्छन्। तामाङले स्थानीयको अवरोधका कारण बुधबारदेखि काम गर्न रोकिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.