|

दशैं फेरिंदै गएको छ।

त्यतिबेलाको भन्नाले हामी केटाकेटी हुँदाको समयको दशैं वर्षरिको सबैभन्दा ठूलो र महत्वपूर्ण धार्मिक कृत्य थियो। त्यसैले उतिबेलाको दशैंमा मनोरन्जनभन्दा धार्मिक पक्ष सबल हुन्थ्यो। ठूलाबडाको त कुरै छाडौं साना केटाकेटीले समेत बिहानै नुहाउनु पर्थ्यो। केही नखाई धार्मिकस्थलको दर्शन गर्न जानु पर्थ्यो। दशैंको अर्थ घटस्थापनादेखि पूणिर्मासम्मको धार्मिक कार्य सम्पन्नताको अर्थ थियो।

गाउँमा सक्नेले घरैपिच्छे खसी काट्थे। किनभने दशैंको एउटा अर्थ मासु थियो। 'नौरथामा बली दिने' भन्ने एउटा स्थापित मान्यता थियो। दशैं भनेको भगवतीलाई दिने बलि र ठूलाबडाबाट लिने आशिषको जमरा थियो। घरमा खसी काट्न नसक्नेले पनि मिलेर खसी काट्थे। उतिबेलाको मापो धार्नी, बिसौली हुन्थ्यो। दशैंको एउटा मान्यता के थियो भने सके पनि नसके पनि अष्टमीको दिन त मासु खानै पर्छ। थोरै लानेले पनि बिसौली लान्थ्यो। वैष्णव धर्मालम्बीहरुको कुरो अलि फरक हुन्थ्यो। उनीहरु दशैंमा मासु पाकेको घरमा जान पनि रुचाउँदैनथे।

पछि दशैं विवादमा आयो। अज्ञानी विद्वानहरुले दशैं हाम्रो चाड होइन त्यो बाहुनहरुको चाड हो, त्यसैले दशैं बहिष्कार गर्नु पर्छ भन्ने आन्दोलन चलाए। नेपालमा स्याल हुइँयाको ठूलो प्रभाव हुन्छ। दुई वर्ष त्यसको प्रभाव पनि रह्‍यो। त्यसपछि त्यो बहिष्कार आफैं बहिष्कृत भएर कतै हरायो।

अहिले जस्तो बग्रेल्ती विदा हुँदैनथे उतिबेला। अहिलेजस्तो यातायातको सहजता पनि थिएन। यति हुँदाहुँदै पनि हामीजस्ता दुर्गम पहाडी क्षेत्रबाट काठमाडौंमा अध्ययन गर्न आएकाहरु १५ दिनको दशैं विदामा जसरी पनि घर जानु पर्छ भन्ने मानसिकतामा हुन्थ्यौं। रातरात हिंडेर पनि हामी दशैं मनाउन घर पुग्थ्यौं। घर पुग्न तीन चार दिन, सप्तमीदेखि टिकासम्मको दशैं, एकादशीका विदाई अनि पूर्णिमाको काठमाडौं। यो वार्षिक क्यालेण्डर नै थियो मजस्ता विद्यार्थीहरुको।

पछि दशैं विवादमा आयो। अज्ञानी विद्वानहरुले दशैं हाम्रो चाड होइन त्यो बाहुनहरुको चाड हो, त्यसैले दशैं बहिष्कार गर्नु पर्छ भन्ने आन्दोलन चलाए। नेपालमा स्याल हुइँयाको ठूलो प्रभाव हुन्छ। दुई वर्ष त्यसको प्रभाव पनि रह्‍यो। त्यसपछि त्यो बहिष्कार आफैं बहिष्कृत भएर कतै हरायो।

यथार्थमा दशैं जनजातिको चाड हो। बलिप्रथा त्यसको बलियो उदाहरण हो। बाहुनहरु आधारभूत रुपमा माङ्साहारी हुँदैनन् परम्परागत हिसाबमा। तर राई लिम्बू सम्प्रदायमा एउटा उखानै छ- आँखाभरि आँसु, दुनाभरि मासु। अर्थात मांसाहार उनीहरुको प्रमुख प्रवृत्ति थियो। आर्यहरुमा वैष्णव सम्प्रदाय भएजस्तै राई लिम्बुमा साधु भन्ने सम्प्रदाय हुन्छ। उनीहरु मांसाहारी हुँदैनन्। तर यो अपवाद हो। उत्तरको चिसोबाट आएकाहरु मांसाहारी हुनु र दक्षिणको भावरबाट आएकाहरु शाकाहारी हुनु स्वभाविक चरित्र हो।

अहिलेसम्म प्रमाणित आधारमा नेपालमा सभ्य मानवको बसोबासको इतिहास झण्डै छ हजार वर्षपुरानो छ। अहिलेसम्म प्राप्त ज्ञानले खसहरु नेपालका आदिवासी हुन् भन्छ। उनीहरु मध्यएसियाको ककेससबाट मानसरोबरतिर लागे। मानसरोबरबाट खसहरुको एउटा हाँगो जुम्ला छिर्‍यो। तिनीहरु जातपात मान्दैनथे। तिनीहरुका कुनै भगवान, भगवती पनि थिएनन्। निराकार नै तिनीहरुको भगवान, भगवती सम्पूर्ण थिए। केही कालसम्म तिनीहरुले बोन धर्म माने। उनीहरुले नै नेपालमा शिवको उपासना सुरु गराएका हुन्। किराँतहरुको शक्तिशाली सरदार भएको हुनाले शिव नेपालको पहाडी र हिमाली क्षेत्रमा पुज्य थिए।

जाडो ठाउँबाट बाटो लागेका, मानसरोबरजस्तो चिसो पठारमा समय बिताएका र नेपालको हिमाली प्रदेश हुँदै पहाडतिर झरेका खस र रैथाने किराँतीहरु नै दशैंका सर्जक देखिन्छन्। किनभने मासु उनीहरुको प्रमुख खाद्य पदार्थ थियो।

समयक्रममा दक्षिणबाट लिच्छबी, तिरहुँतेहरुको नेपाल खाल्डोमा प्रवेश हुँदै गयो। चर्को भावरका मानिसमा स्वास्थ्यका कारण नै मासु भन्दा सागसब्जी प्रिय हुन्छ। त्यसैले रक्तबलि परम्पराको दशैं दक्षिणबाट नेपाल पसेकाहरुको चाड हुने सम्भावना अत्यन्तै न्यून हुन्छ। न्यून भएको विषय सर्वव्यापी चाड बन्नै सक्दैन।

मासुको अनिवार्य उपस्थितिका कारण दशैंलाई दशा भन्ने चलन पनि पुरानै हो। हुनेखानेहरुका लागि दशैं चाड हुन्थ्यो, हुँदा खानेहरुका लागि दशैं दशा हुन्थ्यो। म आफैं साक्षी भएको छु यस्ता दृष्यहरुको। व्यक्तिगत हिसावमा मेरा लागि दशैं टिकाको पर्व थियो। घरमा आमा मासु खानु हुन्नथ्यो। उतिबेला दाजु त वैष्णव नै हुनुहुन्थ्यो। त्यसैले हाम्रो घरमा मासुको चासो धेरै हुँदैनथ्यो। मेरा घरका र मावलका दुबै हजुरआमाहरु जीवित हुनुहुन्थ्यो। हाम्रो मूलघरमा टिको लाएपछि म मावलतिर कुदिहाल्थें। मावलको मूलघरमा पनि माछामासु चल्दैनथ्यो। त्यसैले मेरा लागि दशैं मासुको चाड भएन। तर मैले देखेको र भोगेको समाजमा दशैं मासुकै चाड थियो ।

टिकाको दिन भुइँ नछोडे स्वर्ग जान पाइदैन भन्ने अन्धविश्वास पनि बलियो थियो समाजमा। गाउँ गाउँमा लिङ्गे पीङहरु ठड्याइएका हुन्थे। बिहान एकछिन भीड हुन्थ्यो र तर टिकाको दिन, दिनभरि नै मान्छेहरु पिङमा झुण्डिइरहेका हुन्थे।

मासुको चाडको निरन्तरता अहिले पनि छ। टिका र जमरा पनि जस्ताको तस्तै छन्। तर चचहुँइ चचहुँइ गर्दै मच्चिने लिङ्गे पिङहरु बिस्तारै हराउँदै छन्। पिङलाई अहिले कोठाभित्र खेलेर बसिने तासले जितेको छ। दशैं बिस्तारै तासको दशा हुँदै गैरहेको छ ।

दशैंको अर्को पाटो पनि फेरिंदै छ। २०३४/३५ सालमा मैले लुम्बिनीका गाउँहरुमा दशैं मनाएँ। दशैं अगाडि आउने तीजको रौनकले दशैंको रौनकलाई खाइदिएजस्तो लाग्यो मलाई। त्यहाँको दशैं, दश दिनको मात्र हुँदो रहेछ। टिकाको दिन नै दशैं सकिंदो रहेछ। अनौठो लाग्यो मलाई। एकदिनको टिकामा पारिवारिक टिका त हुन्थ्यो। तर पुजनीय आफन्तको जान नभ्याइने। लुम्बिनीमा मैले दुइटा दशैं मनाएँ। म पहाडिया बाहुन र क्षेत्रीको घरमा बसेको थिएँ ।

२०३६ सालको दशैं मनाउन पुगें म मेची। त्यहाँ मैले तीन वर्षको दशैं मनाएँ। एकपल्ट झापा र इलाममा अनि दुइ पल्ट ताप्लेजुङ। त्यहाँका पहाडी जिल्लामा त दशैं एक महिनाको हुँदो रहेछ मङ्गोल समुदायमा। यी विविधता बिस्तारै सुक्दैछन्।

दशैं, लिङ्गेपिङको बन्न सक्दैन भने त्यो तासको पनि बन्नु हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.