|

जाजरकोट : बारेकोट गाउँपालिका–५ तोलखानका ४९ वर्षीय गोविन्दबहादुर सिंह पेशाले पशु प्राविधिक हुन्। ३१ वर्षदेखि  पशु प्राविधिकको रूपमा  सरकारी सेवामा कार्यरत  सिंह पाँच वर्षदेखि  जाजरकोटका जंगलहरूमा  विश्वका दुर्लभ चराहरुको बासस्थान खोज्दै हिँडिरहेका छन्। विश्वमा दुर्लभ र लोपोन्मुख मानिएका चरा र जनावरहरूको खोजीमा रातदिन सक्रिय गोविन्दलाई आफनो जीवन र जागिरभन्दा पक्षी सरंक्षणको चिन्ता छ। 

२०६९ फागुनमा  काठमाडौंमा भएको एक कार्यक्रममा उनलाई सहभागीहरुले 'जाजरकोटमा झाडापखाला मात्र पाइन्छ' भनेर जिस्काएपछि दुर्लभ चराको खोजी सुरु गरेका गोविन्दले सो अवधिमा  विश्वमा लोपोन्मुख र दुर्लभ मानिएका  आधा दर्जन चरा र अन्य केही जनावर समेत पाएका छन्। उनले  पाएका चरा र जनावर  पक्षी विज्ञ र  अन्य सरोकारवालाहरूले  प्रमाणित समेत गरिसकेका छन्।

उनले जाजरकोटका जंगलहरुमा  चार थरीका दुर्लभ एवं लोपोन्मुख गिद्धहरु : सुनगिद्ध, सेतो गिद्ध, हार्डफोर गिद्ध र हिमाली गिद्ध,  विश्वकै  दुर्लभ चरा चिर कालिज, नेपालमै पहिलो पटक जलेवा चराको गुड, लाटोकोसेरोको प्रजाति हाप्सिलो हुचिल, मलाहा हुचिल, दुर्लभ  जनावर हाइना, हिमचिुतुवा, वन कुकुर, ब्वाँसो, र कस्तुरी भेटाएका छन्।  

जाजरकोटमा भेटिएका  चारथरिका गिद्ध अन्य दुर्लभ चराहरु र अन्य जनावरहरु पक्षी तथा पशु विशेषज्ञले नै प्रमाणित गरिसकेको  सिंहले बताए। उनले  पाँच वर्षको अवधिमा  साबिकका १६ गाउँ विकास समितिका जंगलमा  डुलेको र सो क्रममा  ३३ वटा  हिमाली गिद्धका गुँडहरु, तीनवटा हार्डफोर गिद्धका गुँड, दुईवटा सेतो गिद्धका गुँड र एउटा सुनगिद्धको  गुँड फेला पारेको बताए। 

रात दिन ज्यानको बाजी थापी दुर्लभ चराहरुको बासस्थानको खोजीमा जंगलको  यात्रामा हिँडेका सिंहले अहिलेसम्म कसैले सहयोग नगरेको र सरोकारवाला निकायले समेत सहानुभूति नराखेकोमा दुखेसो पोखे।  दुर्लभ चराहरुको बासस्थान खोज्न व्यक्तिगत लगानीमा  पहल गरिरहेका   सिंहले कुनै सरकारी तथा  गैरसरकारी निकायले  जाजरकोटमा पाइने  महत्त्वपूर्ण चराहरुको खोजी एवम संरक्षणका लागि पहल नगरेको गुनासो  गरे।

अहिलेसम्म  क्यामेरा तथा अन्य  सामग्रीका लागि  व्यक्तिगत पाँच लाख बढी खर्च गरिसकेका  सिंहले  जाजरकोटलाई  दुर्लभ चरा र जनावरको बासस्थान हो  भनेर चिनाउन रातदिन नभनी जंगल डुल्ने गरेको बताए।  रातभरि जंगल खोला,  ओडारमा बसेर  आफूले जाजरकोटमा धेरै कुरा पत्ता लगाएको सिंहको दाबी छ। ‘नेपालमै पहिलो पटक भेटिएको  जलेवाको गुँड नलगाड नगरपालिकाको रग्दाको चौखामा रहेको छ’, उनले भने, ‘बारेकोट–९ काप्तीको जंगलमा  लाटो कोसेरोका प्रजातिहरु भेटिएका छन्। भेरी नगरपालिकाको  कुदु र  कुसेको  पैंकमा  हाइना भेटिएको छ।’ 

आफूले बरेकोट र भेरी नगरपालिकामा  भेटाएका  दुर्लभ एवम लोपोन्मुख गिद्धका वुडहरु, दुर्लभ चराहरु र  अन्य पक्षीहरुको अध्ययन गर्न  पक्षीविज्ञ   डा. हेमसागर बराल, जीवविज्ञ डा करण शाह पनि जाजरकोट पुगेको  र उनीहरुले जाजरकोट विश्वका दुर्लभ चराहरुको सुरक्षित बासस्थान भएको  प्रतिक्रिया दिएको बताए। 

यस्तै  पक्षी संरक्षणविज्ञ कृष्ण भुसालले जाजरकोटमा भेटिएका विश्वमै दुर्लभ सुनगिद्ध र  लोपोन्मुख अवस्थामा रहेको  सेतो गिद्धको बासस्थान जाजरकोट रहेको भनेर प्रमाणित गरेको पनि  सिंहले बताए।  रातदिन  चराहरुको बासस्थान र नयाँ नयाँ चरा खोज्न रमाइरहेका सिंहले चराहरुकै संरक्षणका लागि नेपाल  पक्षी संरक्षण संघको  सदस्यता लिएको बताए।   

विदेशी  अध्ययनकर्ताहरु  र स्वदेशी  केहि व्यक्तिहरु आएर जाजकोटमा पाइने चराहरुको बारेमा व्यक्तिगत रूपमा  बुझ्ने गरेको सिंहको भनाइ छ। उता  बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले  आफुहरूले  पनि  रेडपाण्डा लगायतका  विश्वकै दुर्लभ चराहरुको संरक्षणका लागि केही बजेट र कार्यक्रम बनाउने गरेको बताए। आगामी वर्षदेखि विशेष पहल गर्ने गरि आफुहरुले सोचिरहेको  अध्यक्ष  शाहले जाकारी दिए। जिल्लाका  भेरी नगरपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिका र  नलगाड नगरपालिकामा  विश्वकै दुर्लभ चरा र  अन्य दुर्लभ जनावर पाइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.