प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

मनोरञ्जन

अजेयराज सुमार्गीका रहस्यहरुः के छ किताबमा
SHARES

असोज १९, २०७३

    अजेयराज सुमार्गी; पुस्तकको नामले गर्दा होला, हातमा पर्नेवित्तिकै आत्मकथा हो कि भन्ने भान हुन्छ। तर २/४ पृष्ठ पल्टाउनेवित्तिकै पाठकलाई महसुस हुनेछ, यो आत्मकथा होइन। व्यवसायी अजेयराज सुमार्गीलाई नजिकबाट महसुस गर्नेहरुले उनीबारे व्यक्त गरेका विचारहरु पुस्तकमा समेटिएका छन्। धेरै जनाले व्यक्तिविशेषबारे बोलेका कुरा समेटिएकाले यसलाई व्यक्तिचित्र भन्न उपयुक्त ठहर्ला। ति चित्रहरु एकीकृत गरी कोलाज बनाउने काम गरेका हुन् लेखकद्वय निर्मल थापा र अरुणराज सुमार्गीले।

    'यो पुस्तक दुई कुशल चित्रकारले क्यानभासमा बनाएको पेन्टिङजस्तो छ,' पुस्तक विमोचन हुँदै गर्दा बैंकर अनिलकेशरी शाहले भनेका थिए, 'पेन्टिङलाई दर्शकले जसरी पनि हेर्न सक्छन्।'

    त्यसो त यसलाई यात्राकथा भनेपनि हुन्छ। सुमार्गीको समग्र जीवनयात्रा यसमा अटाएको छ। भलै अनेकन् व्यक्तिले अनेकन् कालखण्डको स्मरण गरेकाले यो यात्राकथा सिलसिलेवार भने छैन। यद्यपि यो पुस्तकले उनले बाल्यकालदेखि अहिलेसम्म तय गरेको यात्राको झलक भने प्रष्ट देखाउँछ। पुस्तकको कभरमा बन्द ढोकाको चित्र राखिएको छ, जसको अर्थ हो उनीबारे जान्न उक्त ढोका खोलेर भित्र छिर्नैपर्छ।

    ढोका खोलिसकेपछि केही परिवारका सदस्य, केही व्यवसायिक सहयात्री, केही राजनीतिक सहयात्री र गुरुजनहरुमार्फत अजेय भेटिन्छन्। पुस्तकको खासियत भनेकै यही हो कि यसले पाठकलाई विभिन्न पात्रमार्फ अजेयसँग साक्षात्कार गराउँछ। कानले मात्रै सुनेका अजेयराज सुमार्गीलाई आफ्नै चक्षुले हेर्ने मौका दिन्छ। मनले छाम्ने मौका दिन्छ। पुस्तकमा उनको सजिला दिनहरुको कुरा छ, कष्टकर दिनहरुको कुरा छ। हर्षको कुरा छ, रोदनको कुरा छ। उनी सोझै चन्द्रमाबाट धर्तीमा अवतरित भएका हुन्, अर्कै कुनै नौलो ग्रहबाट आएका मान्छे हुन् वा मेहनत र पसिनाको बलमा अघि बढिरहेका व्यवसायी हुन्- मूल्यांकनको जिम्मा पुस्तकले पाठकलाई नै सुम्पन्छ।

    पुस्तकमार्फत उनलाई छाम्ने हो भने सुमार्गी मानवजीवनको सीमा र सम्भावना राम्ररी बुझेका मान्छे हुन्। त्यही बुझाईको आधारमा उनले आफ्नो जीवनको प्राथमिकता क्रम निर्धारण गरेका छन्। परिवार, व्यवसाय र समाजसेवामध्ये सुमधुर पारिवारिक जीवन उनको प्राथमिक विषय हो। अर्थ दोस्रो हो। पुस्तकले आवरणमात्रै होइन, उनको भित्री सोच पनि दर्शाउँछ।

    पुस्तकको अघिल्लो खण्डमा पारिवारिक प्रसंगहरुलाई प्राथमिकता दिइएको छ। पिताको देहान्तपश्चात कलिलै उमेरमा अजेय कसरी परिवारको मियो बने, उनका संघर्षपूर्ण दिनहरुको कथा प्रथम खण्डले भन्छ। त्यसपछिका अध्यायहरुमा विस्तारै परिवार बाहिरका पात्रहरु पनि जोडिँदै जान्छन् र फरक-फरक समय प्रसंगका अनुभव सुनाउँछन्। उनको यात्राको परिधि कसरी फराकिलो बन्दै गयो भन्ने रोचक वृतान्त पुस्तकले कहन्छ। पुस्तकका पछिल्ला केही पृष्ठमा अजेय स्वयंले लेखकद्वयका जिज्ञासा शान्त पार्ने प्रयत्न गरेका छन्।

    यात्रा दौरानमा जो जोसँग उनको सानिध्यता रहृयो, ती पात्रहरुको प्रभाव उनमा देखिन्छ। खासगरि उनीमाथि परेको आमा कलावती र गुरु रुपचन्द्रको छाप पाठकले महसुस गर्न सक्ने तहको छ। आमाको कडा स्कुलिङमा हुर्केका उनले कसरी रुपचन्द्रको सानिध्यबाट अझ खारिने सौभाग्य पाए, संसार र जीवन बुझ्ने मौका पाए- पुस्तकले दर्शाउँछ। यस्तो लाग्छ- अजेय अलिअलि विश्वकान्ति हुन्, अलिअलि माधवराज हुन्। अलि अलि पण्डित शशिधर, अलिअलि कलानाथ र अलिअलि रुपचन्द्र पनि हुन्। ती सबैको गठजोडबाट अजेयको व्यक्तित्व विकसित भएको छ। उनीहरुले देखाएको मार्ग नै अजेयको सुमार्ग हो- जीवनदर्शन हो। अजेयभित्रको आत्मविश्वास उनीहरुबाटै निसृत छ र द्विविधारहित जीवन जिउने कला पनि अजेयले तिनै पात्रहरुबाट सिकेको देखिन्छ। उनकोे सोच र व्यक्तित्वको विकासक्रमलाई पाठकले पुस्तकमार्फ सहजै अनुभव गर्न सक्नेछन्।

    एक घनिष्ठ पारिवारिक मित्र तथा व्यवसायिक साझेदार गुणचन्द्र बिष्टबाट एक पटक अजेयलाई पोल्ट्री व्यवसायमा साझेदारी गर्ने प्रस्ताव आउँछ। तर उनी प्रस्तावलाई सहर्ष नकार्छन्। भन्छन्- 'सहयोग अवश्य रहन्छ। तर कुखुराको व्यवसायमा साझेदारी हुँदैन। किनकि त्यसमा प्राण छ।' -पृ. ३५१) 

    पंक्तिकारसंगको एक बसाईमा उनी भदन्थे- 'पशुपंक्षीको व्यवसायमा मात्रै होइन, मदिराको व्यापार र क्यासिनोजस्तो जुवा खेलाउने व्यवसायमा पनि मेरो संलग्नता रहने छैन।'

    यो उनी स्यमंले बनाएको आचरणको सीमा हो, जसले उनको क्रियाकलापलाई निर्देशित गर्छ। जीवनमा के के कुरा गर्ने र के के कुरा नगर्ने भन्नेबारे उनी प्रष्ट देखिन्छन्।

    आर्थिक प्रगतिको रहस्य

    माथि उल्लेखित कुरा जीवनदर्शनका कुरा थिए।

    तर धेरै पाठकका लागि उनको जीवनदर्शन भन्दा उनले हासिल गरेको आर्थिक प्रगति खास चासोको विषय हो। यो स्वभाविक पनि हो। एउटा सामान्य पृष्ठभूमिबाट यात्रा थालेको मान्छेले यो उडान भर्नु धेरैका लागि जिब्रो टोक्ने विषय हुनसक्छ। यो पुस्तकमा उनका व्यवसायिक उडानका ती यावत् रहस्यहरु समेटिएका छन्। तर ती कुनै तिलस्मी रहस्य होइनन्। पुस्तक भन्छ- दुरदृष्टि, लगन, मेहनत र धैर्य ! यीनै हुन् अजेयका सफलताका स्रोतहरु।

    किताबमा एउटा प्रसंग छ- लामो उडानका कर्‍याङकुरुङ शीर्षकको (पृष्ठ ३१६)। जहाँ सुमार्गीले आफ्नो व्यवसायिक उडानलाई कर्‍याङकुरुङ चरोको उडानसँग दाँजेका छन्।

    उनी भन्छन्-

    'म आफ्नो जीवनयात्रालाई कर्‍याङकुरुङ चरोले अपनाएको जुक्ति दृष्टान्तमा हुल्न पुग्दछु । काम फत्ते गर्नु छ, तर समय सीमित छ। अन्धविश्वासीले चमत्कार भन्लान्। तर यो कामको शैली हो।

    साइबेरियाको चिसो छल्न, मध्यचैत्रमा आकासभरी फिँजिएर नेपाल आउने कर्‍याङकुरुङ चराबारे हामी सबैले सुनेका छौं। साइबेरियादेखि नेपालसम्म पाँच हजार माइलको उडान सहज काम पटक्कै होइन। तर उनीहरु आउँछन्।

    त्यसलाई सहज बनाउने काम नाइके चरोले गर्छ।

    नाइके चरोले आकासमा उडिरहेका बादलहरुमध्ये विशेष किसिमको बादलको छनोट गर्छ। जसमा सहज रुपमा लामो यात्रा गर्न सकिन्छ। त्यसलाई थर्मल एयर भन्दछन्। लामो यात्राका लागि थोरै ऊर्जामा, थोरै चारोमा समयमै गन्तव्यमा पुग्ने बादलको छनोट गाह्रो काम हो। तर नाइके चरोले त्यो काम गर्छ। उडिरहेका बादलहरुमध्ये थर्मल एअरको पहिचान गरिसकेपछि त्यसको अवस्था र स्थिति उसले अन्यलाई बताउँछ। त्यसपछि सबै चराहरु त्यही सप्कोमा लाइन लाग्छन्। देख्दा अन्य बादलहरुजस्तै तर उष्णतामा फरकपन बोकेको थर्मल एयरको उडानसँगै उनीहरु आफ्ना पखेटा फिँजाएर हजारौँ माइलको यात्रा तय गर्छन्। थोरै बलमा लामो दूरी तय गर्छन् । जाडो छेल्छन्, रमाउँछन्, खेल्छन् र फर्कने बेला पहिले जस्तै गरी थर्मल एयरको पछ्यौरामा फिँजिएर बासस्थान फर्कन्छन्। 

    भाग्यको पटाका फुटेर उचाईमा पुग्नेहरुलाई छोडेर भन्ने हो भने सफल मान्छे ती भए जो थर्मल एअरको चापलाई चिनेर आफू र आफ्नाहरुसँग गाँसिएर लामो उडान तय गरे।

    आएको सफलता र हात लागेको परिणामलाई म स्वभाविक रुपमा लिन्छु। त्यसमा न अहंकार छ, न त घमण्ड नै। हरेक बिहान पितृ परमेश्वरको प्राथानामा मेरो एउटै विनय हुन्छ, प्रभु, ममा अहंकार कहिल्यै नआइदेओस्।' (पृ. ३१६) 

    जेलबाटै चुनाव जितेको दिन

    अजेयराज सुमार्गी नेपालका लागि आधुनिक टेलिकम्युनिकेसनका पायोनियर (उनी तत्कालीन स्पाइस नेपाल (अहिले एनसेल) का संस्थापकमध्येका एक हुन्) मात्रै होइनन्, उनको राजनीतिक-सामाजिक पाटो पनि त्यत्तिकै रोमाञ्चकारी छ। पुस्तकमा विभिन्न पात्रले उनको जीवनका अनेक पत्रहरु खोतलेका छन्। तीमध्येको एउटा रोचक पाटो हो, जनमुखी नेता रुपचन्द्र बिष्टसँग उनको सहयात्रा। जीवनको झण्डै दुई दशक उनले रुपचन्द्रसँगै बिताए। रुपचन्द्रले अन्तिम सास फेर्दासम्म पाइलामा पाइला मिलाए।

    पुस्तकमा रुपचन्द्र र अजेयको सम्बन्धबारे बोल्दै गर्दा सांसद रामनारायण बिडारी केही नोस्टाल्जिक भएका छन्। बिडारी स्वयं थाहा आन्दोलनका अभियन्ता हुन्, जसले रुपचन्द्रको जीवनपर्यन्त साथ दिए।

    बिडारी भन्छन्,

    'रुपचन्द्रजस्तो विद्रोही नायकसँग जीवन जोडिने सौभाग्य प्राप्त भयो। युवाकाल 'थाहा' का लागि उर्त्र्सग गर्न पायौं, भाग्यमानी हौं हामी। अजेय त्यसबेलादेखि नै रुपचन्द्र र अरुसँग पनि व्यापक चर्चा परिचर्चा गर्ने मान्छे। तार्किक क्षमता भरपुर भएको मान्छे। अरुका कुरा सुन्ने र आफ्ना मतलाई राख्ने बानी थियो। रुपचन्द्र अजेयको स्वभावलाई मन पराउनुहुन्थ्यो र इनकरेज पनि गर्नुहुन्थ्यो। तर पारिवारिक कारण, ऋणमा डुबेको अवस्था, व्यवसायहरुको दूरावस्था बुझेर उहाँ चाहनुहुन्थ्यो- अजेय मूल रुपमा व्यवसायमै केन्द्रित होस्।' (पृष्ठ २०६- २१२)

    बिडारीले जनमुखी राजनीतिकर्मीहरुमाथि तत्कालीन प्रशासनले कसरी वक्रदृष्टि राख्थ्यो भन्नेबारे पनि पुस्तकमा रोचक वर्णन गरेका छन्,

    'त्रिचालिस सालको चुनाव सकिनेबित्तिकै सरकारले रुपचन्द्रलाई गिरफ्तार गर्‍यो। उहाँ कालिमाटी टंकेश्वरको मेरो डेरामा हुनुहुन्थ्यो। त्यहीँबाट समातिनुभयो। त्यसबेलाका चिनिएका जनमुखीहरुमा मलगायत विश्वकान्ति कलावती सुमार्गी, अमृत राजथला, अशोक बानियाँ र अजेय नै थियौं।

    सबैजनाको भेला गरी रुपचन्द्रलाई थुनेको विरोधमा आन्दोलन गर्ने तयारी भयो। छलफल अजेय सुमार्गीको घरमा भएको थियो। बैठक बसिरहेका बखत प्रहरीले घर घेराउ गर्‍यो र सबैजना पक्राउ परे। नपरेका भनेको म र विश्वकान्ति दिदी थियौं । प्रहरी आएपछि भागाभाग भयो। म हत्त न पत्त घरको आँगनमा रहेको अम्बाको रुखमा चढिहालें। रुखमा चढेको कसैले चालै पाएनन् र जोगिन पुगें। अरु जम्मै जनमुखी साथीहरुलाई प्रहरीले पक्राउ गरेर लग्यो। त्यसमा अजेयबाबु पनि पर्नुभयो। अशोक बानियाँ, अमृत राजथला लगायतका साथीहरु पनि थिए।

    मलाई वारेन्ट जारी गरिएको थियो। स्थानीय चुनावको सरगर्मी पनि चलेको अवस्था थियो। आवश्यक सल्लाह सुझाव लिनका लागि म छद्मभेषमा रुपचन्द्रलाई भेट्न काठमाडौं केन्द्रीय कारागार पुगें। उहाँले अशोक बानियाँलाई प्रधानपञ्चमा उठाओ, अजेय र अमृतलाई नगरसभा सदस्यमा उठाओ भनी आवश्यक रणनीतिमा लाग्न अराउनुभयो । सबैको जेलबाट नै फारम भर्ने चाँजोपाँजो मिलाई उम्मेदवारीका लागि चुनावी मैदानमा हामी उत्रियौँ। त्यही क्रममा अशोक बानियाँ जेलबाट छुट्नुभयो। तर अजेय र अमृतलाई भने छोडिएन। जनमुखीहरुमाझ फुट ल्याउनका लागि चालेको चाल थिया त्यो।

    बाहिर भएका र चुनाव हाँक्नेहरुमा विश्वकान्ति कलावती र म मात्र भयौं। सभाको तयारी गरियो। जनमुखीहरुको सभामा को आउला भन्ने सबैको मनमा बसेको थियो। पक्राउ पर्ने सम्भावना रहेकाले मैले भाषण गर्ने नगर्ने भन्ने अन्योलता सहकर्मीहरुमा थियो।  तर म पक्राउ परे पनि परिएला, साथीहरु तयार रहनुहोला भनी भाषणमा उत्रिएँ। मान्छेहरु ठूलो संख्यामा भेला भएका थिए । 'रुपचन्द्र विष्टको झयालखानबाट आएको सन्देश सुनाइने, जनमुखी उम्मेदवार को हुन् को होइनन् यकिन ठहर गरेर घोषणा गर्ने,' नारा थियो।

    हाम्रो सबै सेटले नै त्यो चुनाव जितेको थियो। जेलबाटै चुनाव जित्ने नेपालका थोरै मान्छेहरुमा ती दुई जनाको नाम समावेश छ। चुनाव जितेपछि पनि रुदाने, अजेय  लगायतका सहकर्मीहरु जेलमै थिए, उनीहरुलाई नछाडेसम्म शपथ नखाने निर्णय अशोक बानियाँको थियो। तर पछि बाध्य भई पदभार लिनु परेको थियो।' (पृष्ठ २१३- २१४)

    रुपचन्द्र अझै बाँच्थे कि !

    रुपचन्द्रसँगका यस्ता थुप्रै प्रसंगहरु किताबमा समाविष्ट छन्। नयाँ पुस्तालाई रुपचन्द्रजस्तो जुझारु नेताबारे बुझ्न यसले धेरै हदसम्म सहयोग पनि पुर्‍याउनेछ।

    गुरु रुपचन्द्रलाई सम्झने क्रममा अजेय कतिपय ठाँउमा भावुक भएका छन्। रुपचन्द्रको अन्तिम दिन नजिकिँदै गर्दा आफूबाट भएको एउटा गल्तिबारे पुस्तकमा अजेयले कन्फेसन गरेका छन्। उनलाई लाग्दोरहेछ, 'मैले बोल्ने ढंग पुर्‍याएको भए रुपचन्द्र अझै बाँच्थे कि !'

    उक्त प्रसंगबारे चर्चा गर्दै अजेय भन्छन्,

    'एकपटक मैले शैली गुमाएछु गुरुसँगको कुराकानीमा। मेरो बोलाईमा शिष्टता पुगेनछ।

    हामी सामाखुसीमा बस्थ्यौँ त्यसबेला। उहाँलाई रोगले च्याप्दै लगेको थियो। अस्पताल लैजाने सल्लाह भयो।

    अस्पताल जाने बेला मेरो तीन/चार वर्षे कान्छो छोरो पनि हामीसँगै जाने भनेर जिद्दी गर्न थाल्यो। उसलाई पनि गाडीमा चढाइयो। छोरालाई उहाँले समाउनुभएको थियो। निकै पीडामा पनि हाँसिरहनुभएको थियो।

    मोटरमा दुईवटा सिटमात्र थियो। छोरोलाई हाम्रो सिटपछाडि उभ्याएर राख्यौं। ठाउँ थोरै थियो। मैले उहाँलाई समातेको छु, उहाँले बाबु समाउनुभएको छ। निकै गाह्रो भए पनि उहाँ बच्चासँग हाँसिरहनुभएको छ। त्यसरी हामी अस्पतालका लागि हामी निस्किएका थियौं।

    बाटोमा रुदानेले वीर अस्पताल जाने भन्नुभयो।

    मलाई उहाँको कुरा चित्त बुझेन।

    'खर्च मैले गर्ने हो नि ! तपार्इंलाई किन चाहियो !'  म झर्किएँ, 'जहाँ गए पनि राम्रो उपचार गराउने न हो।'

    मैले शाब्दिक भद्रता गुमाएको क्षण थियो त्यो। शिष्टता, शालिनता, नम्रता हराएको त्यो बोली- गुरुको श्री स्वास्थ्यलाभका लागि होस नपुर्‍याई हतारमा फुत्केको बोली थियो।

    उहाँले पुलुक्क मतिर हेर्नुभयो र भन्नुभयो,

    'आमनेपाली जनताले जुन ठाउँमा गएर उपचार पाउँछ, त्यहीँ जाने हो रुपचन्द्र विष्ट।'

    उहाँको नैतिक प्रश्न अघिल्तिर मेरो डेग चल्ने अवस्था थिएन।

    वीर अस्पताल लिएर गएँ।

    दमको समस्या, मुटुमा असहजता र मिर्गौला पनि फेल भएको अवस्था थियो। दिसा लागेर पानी गइरह्यो। मिर्गौला सुख्खा हुँदै गयो। स्लाइनबाट दिइएको पानीले काम गरेन। उहाँलाई दिसा लागेको सम्बन्धमा उपचार हुनुपर्थ्यो, त्यो अस्पतालले गरेन।

    पछि भाइ कान्छा (गुणचन्द्र) पनि आउनुभयो र रुदानेले ओछ्यानबाटै,

    'वोउ!' भन्नुभयो र हात मिलाउनुभयो। त्यही नै अन्तिम शब्द थियो उहाँको। क्रमशः औषधिको असर घट्दै गयो, प्राण गल्दै गयो र अन्ततः उहाँ सधैंका लागि बिदा हुनुभयो।

    गुरुलाई बोलेको गलत शब्दको छायाँले मलाई लामो समयसम्म लखेटिरहृयो। बह फुकाउने ठाउँ ज्ञानसिंह सरदार हुनुहुन्थ्यो। सबै कुरा ज्ञानसिंहलाई भनेपछि उहाँले ठूलो गल्ती गरेको अनुभूति गराइदिनुभयो।

    उहाँले भन्नुभयो,

    'भन्न नहुने भनेछौ। तिमीले रुपचन्द्र विष्टलाई त्यो भन्न मिल्थ्यो- तिमीले त उहाँलाई भन्नुपर्थ्यो, मलाई तपार्इंको सेवा गर्ने अवसर दिनुपर्‍यो। उपचार गर्ने मौका दिनुपर्‍यो। यसो भनेको भए, उहाँ सय प्रतिशत तिम्रो कुरा मान्नुहुन्थ्यो र उपचार हुने थियो।'

    मेरो त्रुटिपूर्ण शब्द ज्ञानसिंहले त्यसरी टकटकाइदिनुभएको थियो।' (पृष्ठ ३२७- ३२८)

    यो पुस्तक के का लागि पढ्ने?

    यो पुस्तकले उनको जीवनभित्र चिहाउने छिद्रलाई निकै फराकिलो पारेको छ। यसमा केही परिवारका कुरा छन्, उनीहरुका भावनाका कुरा छन्। केही व्यवसायका कुरा छन्, व्यवसायिक उतारचढावका कुरा छन्। गुरुहरुका कुरा छन्, जीवनदर्शनका कुरा छन्। र, छ जीवनप्रति अजेयको प्रष्ट दृष्टिकोण।

    अजेयका सफलताका शुत्रहरु हरकोहीका लागि लाभदायक हुनसक्छ। तर के हो त उनको सफलता- मूल प्रश्न यो हो। आर्थिक प्रगतिको आधारमा मात्रै उनको सफलता नाप्न खोजियो भने त्यो प्रयत्न सायद अपुरो हुनेछ।

    अजेयको सफलता धन र मनको सन्तुलनबीच लुकेको छ। अजेयको सफलता व्यवसायिक जीवन र पारिवारिक जीवनको सन्तुलनबीच लुकेको छ। अजेयको सफलता भौतिक र आध्यात्मिक चिन्तनको सन्तुलनबीच लुकेको छ। अजेयको सफलता समय र सम्बन्धको व्यवस्थापनबीच लुकेको छ। अजेयको सफलता जीवनमा के गर्ने र के के नगर्नेको सीमाबीच लुकेको छ।

    किन विवादास्पद छन् अजेय?

    जनमानसमा व्यवसायी अजेयराज सुमार्गीको इमेज केही विवादास्पद छ। त्यसका पनि कारणहरु छन्।

    यो खुला बजार हो। यसको आफ्नै प्रवृत्ति हुन्छ। आफ्नो कद बढाउन अर्कोको कद खुल्याउन खोज्नु बजारको निर्मम चरित्रमध्येकै एक हो। त्यसको थोरबहुत सिकार अजेय पनि बनेको देखिन्छ।

    यो पुस्तक किन त ! भन्ने सन्दर्भमा लेखकमध्येका एक अरुण भन्छन्,

    'लामो समयदेखि उहाँबारे भ्रम फैल्याउने काम भइरहेको थियो। त्यसका लागि भर्खरै बामे सर्दै गरेको, परिपक्व बन्न खोज्दै गरेको सञ्चार उद्योगका केही मिडियाहरुको दुरुपयोग गरियो। तीनलाई साधन बनाइयो। तीनको माध्यमबाट उहाँलाई खेद्ने र खुइल्याउने प्रयास गरियो। रहस्यमय ब्यक्तिको रुपमा प्रोजेक्सन गरी मास-र्साइकोलोजीलाई नकारात्मक बनाउन हरसम्भव प्रयास भयो। उहाँलाई भिक्टिमाइज गरियो भन्दा पनि हुन्छ। मिडियाकै लागि पनि यो एउटा बहसको बिषय हुनसक्छ।

    खुला बजारको चरित्रै हो कि यसले आम मान्छेको इन्द्रियहरुमा प्रभाव जमाइराख्न हरदम प्रयास गर्छ। त्यसले गर्दा के हुन्छ भने- हामी त्यतिमात्रै देख्न बाध्य हुन्छौं, जति उनीहरु देखाउँछन्। हामीले त्यतिमात्रै सुन्छौं, जति सुनाइन्छ। हाम्रो स्वाद त्यतिमा मात्रै खुम्चिन पुग्छ छ, जति बजारले पस्कन्छ।

    यसो भनेर मैले सबै मिडियालाई सोलोडोलो एउटै डालोमा हाल्न खोजेका होइन। मिडियाको गरिमा हामी बुझ्छौं। हामी आफै पनि विगत ८ वर्षदेखि मिडिया सञ्चालकको रुपमा रहिआएका छौं। मेरै बुवा माधवराज सुमार्गी पनि निर्मल साप्ताहिक चलाउनुहुन्थ्यो, जुन पञ्चायतकालताका छापिने गरेका पत्रिकामध्ये अग्रणी प्रगतिशील पत्रिका मानिन्थ्यो। हजुरबा कलानाथ अधिकारी जानेमाने साहित्यकार हुनुहुन्थ्यो।

    दाइका बारेमा चलाइएको त्यही भ्रमलाई चिर्न पुस्तक लेखेको हुँ।'

    दाइका बारेमा भाइले किन लेखे?

    'आफै किन लेख्नुभयो?' अरुणलाई सोधियो।

    'हो, म नाताले अजेयको भाइ हुँ। तर मेरा लागि उहाँ दाइमात्रै होइन, गुरु पनि हो। त्यतिमात्रै होइन, म उहाँको यात्राको पाइला-पाइलाको साक्षी पनि हुँ। त्यसैले मैले नै लेख्‍नुपर्छ जस्तो लाग्यो। यसमा मलाई निर्मलजीले सघाउनुभयो।

    दोस्रो कुरा, म र निर्मलजी माध्यममात्र हौं। पुस्तकमा हाम्रो कुरा कहाँ छ? अजेयलाई देख्ने-जान्ने विभिन्न व्यक्तिहरुले यसमा आफ्नो कुरा राख्नुभएको छ। पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टदेखि सांसद रामनारायण बिडारीसम्म हुनुहुन्छ। स्वामी कमलनयनाचार्य हुनुहुन्छ, बाल्यकालदेखि अहिलेसम्म दाइसँग जोडिनुभएका बहुसंख्यक व्यक्तित्वहरु हुनुहुन्छ। यसका लेखक त तिनै हुन्, ज-जसका कुराहरु यस पुस्तकमा समेटिएका छन्।'

    मिडियाबाजीबिरुद्ध पुस्तकबाजी

    'त्यसोभए के मिडियाबाजीबिरुद्ध पुस्तकबाजी गर्न खोजिएको हो त?' यो प्रश्नचाँहि अजेयलाई थियो।

    'होइन। यो भ्रमलाई चिर्ने र यथार्य उजागर गर्ने प्रयास हो। म मेरो अहोभाग्य ठान्छु कि मैले पिताको रुपमा माधवराज सुमार्गी पाएँ, आमाको रुपमा विश्वकान्ती कलावतीलाई पाएँ। रुपचन्द्र मेरो गुरु हुनुभयो।

    रुपचन्द्र बिसका बिस मान्छे हुनुहुन्थ्यो। उहाँ आफ्नो सिद्धान्त र विचारबाट कहिल्यै बिसको उन्नाइस हुनुभएन। मन, वचन र कर्मले एक हुनुहुन्थ्यो। उहाँसँगको दुई दशक लामो यात्राले मलाई धेरै सिकाएको छ।

    अरुण र निर्मल, यी दुई भाइहरुले मैले अहिलेसम्म पार गरिआएको समयको कथा यो पुस्तकमा समेटेका छन्। मेरो जीवन र मेरो बाँच्ने शैलीबारे विभिन्न पात्रहरुले आ-आफ्नो अनुभव पोख्नुभएको छ। मेरो जीवनबाट, मेरो यात्राबाट एकजनामात्रको पनि जीवन रुपान्तरण यदि हुन्छ भने म धन्य हुनेछु। त्यही नै यो पुस्तक र मेरो जीवनको सार हुनेछ।'

    पुस्तकका कमिकमजोरीहरु

    पुस्तकमा केही कमिकमजोरी नभएका होइनन्। विभिन्न पात्रहरुले एउटै व्यक्तिका बारेमा बोलेका हुनाले केही प्रसंग दोहोरिएका छन्। तर फरक- फरक कोणबाट प्रसंगविशेषको व्याख्या गर्न खोजिएकाले यसले पाठकलाई झिंझो महसुस गराउँदैन। व्यकरणीय र भाषागत त्रुटिहरु ठाँउ-ठाँउमा देखिन्छन्। यसलाई प्रकाशकले अर्को संस्करणमा सुधार्ने वाचा गरेका छन्।

    पुस्तकमा पात्रहरुको नामअनुसार उपशीर्षक दिइएको भए पठनमा अझ सहजता हुने थियो। त्यस्तै हार्डकभरमा मात्रै छापिएकाले पुस्तकको मुल्य रु. १००८ छ, जुन केही महँगो लाग्छ। सफ्टकभरमा पनि छापिएको भए धेरै पाठकसम्म यो पुग्न सक्दथ्यो।

    निचोड

    यो पुस्तकले अजेयराज सुमार्गीका बारेमा धेरै कुरा थाहा दिन्छ। पानैपिच्छे उनको जीवन र व्यक्तित्वलाई संकेत गर्ने सानाठूला जानकारीहरु भेटिन्छन्। कतिपय नितान्त पारिवारिक कुराहरु परेका छन्, तर त्यसले हानी गर्दैन, उल्टै अजेयलाई बुझ्न मद्दतै गर्छ। पुस्तकमा बेलाबेला झुल्कने रुपचन्द्र र कलानाथको प्रसंग पाठकका लागि थपुवा मज्जाको विषय हुनसक्छ। त्यस्ता प्रसंग र अजेयको संघर्षको कथाले यो पुस्तकलाई पठनयोग्यमात्रै होइन, जीवनोपयोगी पनि बनाएको छ।

    (थाहा अध्ययन प्रतिष्ठानले प्रकाशित गरेको पुस्तक निर्मल थापा र अरुणराज सुमार्गीले लेखेका हुन्।)

    पुस्तकबारे पत्रकार पी खरेल

     

    - Written by Prof. P. Kharel, the review was first published in the Friday Supplement of The Rising Nepal. A former chief editor of the The Rising Nepal and the first professor of Tribhuvan University's Central Department of Journalism and Mass Communication, the writer has authored more than 20 books and 3000 newspaper articles.

     

    सम्बन्धित समाचार

    Book Review: “Sumargi” The Right Path of Living

    व्यवसायी अजेयराज सुमार्गीको जीवनयात्रा पुस्तकमा

    अजेयराज सुमार्गीको जीवनयात्रा पुस्तकमा

    अजेयराज सुमार्गी सार्वजनिक

    रोचक र वास्तविक जीवनगाथा समेटिएको सुमार्गीको पुस्तक विमोचन​

    व्यायसायी सुमार्गीको पुस्तक विमोचन

    सुमार्गीको जीवन संघर्ष समेटिएको पुस्तक सार्वजनिक

    जन्मदिनको मौका पारेर व्यवसायी सुमार्गीको जीवनयात्रा लोकापर्ण

    सुमार्गीको पुस्तक विमोचन

    सुमार्गीबाबुको मलाई चिन्ता लागिरहन्छ : कीर्तिनिधि बिष्ट

    व्यवसायी अजयराज सुमार्गीको जीवनसँग सम्बन्धित पुस्तक सार्वजनिक

    सुमार्गीको रहस्यः प्रचण्डले भन्दा १० वर्षअघि नै बन्दुक बोकेका थिए !

    व्यवसायी अजेयराज सुमार्गीको जीवनयात्रा पुस्तकमा



     

     

पवनराज पौडेल

पत्रकार पौडेल थाहा संचार नेटवर्कको स्टेशन म्यानेजर हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • neerav shrestha

    we must thank to author Nirmal kumar Thapa & Arunraj Sumargi for their brilliant presentation, this book is more like self help rather then biography, so i recommend to everyone who has some dreams and vision in life, they must go through this timeless book, AJEYARAJ SUMARGI.

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]