|

बैतडी : केही वर्ष अघिसम्म स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जैतुनखेतीको विस्तार गरिने भएको छ। सतबाँझमा गएको १२ वर्ष यतादेखि स्याउ फल्न छोडेको छ। स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउ उत्पादन हुन छोडेको हो।

विस २०१९ सालमा स्थापना भएको वागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ। सुख्खा फलफूल विकास केन्द्रले जिल्लामा जैतुनखेतीको विस्तार गर्ने तयारी गरेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख लक्ष्मीदत्त पाण्डेयले बताए। 'जैतुन तेल उत्पादनका लागि निकै प्रसिद्ध वनस्पती हो'  उनले भने, 'जैतुनको तेल बहुउपयोगी औषधीको रूपमा समेत प्रयोग गरिन्छ।'

किसानलाई जैतुनखेतीमा आकर्षण गराउनका लागि सुख्खा फलफूल विकास केन्द्रले एक सयवटा जैतुनका माउ बोट आफ्नो नर्सरीमा लगाएको प्राविधिक अर्जुन खड्काले जानकारी दिए। 'पाँच हजार जति विरुवा कलमीका लागि नर्सरीमा राखिएको छ' उनले भने, 'एक वर्षभित्रै किसानलाई पाँच हजार जैतुनका विरुवा वितरण गरिने तयारी भएको छ।' जैतुनबाट कोलेस्ट्रोल नभएको तेल उत्पादन भएकाले यो औषधीका लागि उपयुक्त भएको उनको भनाई रहेको छ।

 छ किलो जैतुनबाट एक लिटर तेल उत्पादन गर्न सकिने भएकाले यसको खेती विस्तार भएमा यस क्षेत्रका किसानको जिविकोपार्जनमा समेत सुधार हुने अपेक्षा गरिएको छ। यसका साथै सुख्खा फलफूल विकास केन्द्रले काजुखेती, कागजी बदामलगायत किसानलाई बढी आम्दानी दिने खालका फलफूलका विरुवा नर्सरीमा राखेको प्रमुख पाण्डेयले बताए।

सतबाँझमा स्याउ फल्न छाडेपछि जैतुन, कागजी बदाम, काजुलगायत फलफूलका बिरुवा उत्पादन गर्न थालिएको छ। किसानलाई ८० प्रतिशत अनुदानमा फलफूलका विरुवा वितरण गर्ने गरिएको छ।

तत्कालीन राजा महेन्द्रले स्याउ फलाउन रोजेको बैतडीको सतबाँझ स्याउ नर्सरीमा जैतुनखेती विस्तार गरिन लागिएको छ। सुरुमा सतबाँझ स्याउ नर्सरी राखिएको त्यस ठाउँको नाम स्याउ फल्न छाडेपछि सुक्खा फलफूल विकास केन्द्र राखिएको थियो।

विस २०१९ मा सतबाँझको ५७५ रोपनी क्षेत्रफलमा स्याउ उत्पादन तथा प्रबर्धनका लागि स्थापना भएको 'सुक्खा फलफूल केन्द्र’मा पछिल्लो समय स्याउका जात लोप भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.