|

बुटवल : ज्यानमारा सडकको नामले चिनिएको सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रको पहिरो नियन्त्रणका लागि संघीय सरकारले पहाड काट्ने भएपछि प्रदेश सरकारले वैकल्पिक मार्ग बनाउने भएको छ।

मृत्युमार्गको रुपमा चिनिएको सिद्धबाबा खण्डको विकल्पको रूपमा चरंगेदेखि झुम्सासम्मको सडक निर्माणका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ।

सोही सडकको ट्याक खोल्ने काम पूरा भएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीसहितको टोलीले निरीक्षण गरेको छ।

पाल्पाको झुम्साबाट रुपन्देहीको सिमा क्षेत्र चौकीभञ्ज्याङ  हुँदै चरंगेसम्मको २१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम यसै हप्ता पूरा भएको थियो। सडकको निरीक्षणपछि मुख्यमन्त्री पोखरेलले झुम्सा–चरंगे सडक खण्डमा ठाउँठाउँमा मानव वस्तीहरु समेत भएकाले यो सडक निर्माणले ग्रामीण क्षेत्रको समेत विकास हुने बताए।

भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले झुम्सा–चरंगे सडकलाई वैकल्पिक सडक मात्र नभई नियमित सवारी साधन सञ्चालन गर्ने गरी दुई लेनको सडक बनाउने प्रदेश सरकारको योजना रहेको बताए।

उनले यो सडकलाई ट्रक–टिप्पर लगायत ढुवानीका ठूला सवारी साधन चलाउने सडकको रुपमा दुई वर्ष भित्रै दुई लेनको बनाउने  बताए। मन्त्री चौधरीले झुम्सा–चरंगे सडकलाई प्रदेश सरकारको कार्य कुशलता र क्षमता देखाउने गरी ‘रोल मोडल रोड’ बनाउने लक्ष्य रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.