|

विराटनगर : प्रदेश १ सरकारले संसदमा पेस गरेको विनियोजन विधेयकबारे छलफल सकिएको छ। छलफलमा बोल्दै सत्तापक्षकै सांसदले सरकारलाई छेडछाड गरेका छन्।

भोजपुरबाट निर्वाचित सांसद राजेन्द्र राईले सरकारको बजेटबाटै गाउँमा मानिस मात्रै नभएर देवी देउता पनि सहर पसेको व्यंग्य गरे। ‘मैले त सुविधा खोज्दै मानिसहरू सहर पसिरहेको थाहा पाएको थिएँ, तर देवी देवताले पनि गाउँ छोड्न थालेछन्,’ राईले मठ मन्दिरको लागि पनि सहरमा मात्रै बजेट छुट्याएको टिप्पणी गर्दै भने।

कांग्रेसका सांसद चुमनारायण तबदारले आफूले मन्दिर र मूर्ति बनाइदिने बचनका साथ चुनावमा गएको तर बजेट नछुट्याइदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए। त्यही सन्दर्भलाई जोड्दै राईले व्यंग्य गरेका हुन्।

यस्तै सांसद राईले प्रदेश सरकारको आफ्नै संचारमाध्याम हुनुपर्नेमा जोड दिए। सत्तारुढ दलकै सांसद तेजमान कन्दङ्वाले माक्र्सवादको सिद्धान्तलाई टीका लगाएर मात्रै विकास र समृद्धि नआउने टिप्पणी गरे। ‘हामीले सिद्धान्तका विषयलाई सिरानीमा राखेर वा टीका लगाएर समृद्धि आउँदैन, १ नम्बरलाई १ नम्बर बनाउन सकिँदैन,’ कन्दङ्वाले भने, ‘बजेट ल्याउने क्रममा हामी भ्रममा परेका छौं, भन्नुपर्दा सरकार आफैं पनि भ्रममा परेको देखिएको छ। कन्दङ्वाले सरकारले आफ्नो स्तरमा योजना निर्माण नगरेको र बजेट पनि नछ्ट्याएको बताए।

सत्तारुढ दलकै सांसद कला घलेले मेलो न मेसोको बजेट भन्दै आलोचना गरे। ‘बजेटले स्पष्ट  दिशा दिएको हुनुपर्दछ, मैले हेर्दा मेलो न मेसोको बजेट आएको देखें,’ उनले भने।

प्रतिपक्षी दलका सांसदको आलोचनाले घेरिरहेको समयमा सत्ता पक्षका सांसदहरूले गरेको आलोचनाका कारण प्रदेशका आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोलाई दबाब बढेको छ।

नेकपाकै सांसद लछुमन तिवारीले साना योजना सिधै स्थानीय तहमा पुर्‍याउनु पर्नेमा जोड दिए। उनले आफ्नो संयन्त्र नभएको कारण प्रदेश सरकार स्थानीय तहसम्म साना–साना कार्यक्रम लिएर जान नसक्ने पनि बताए।‘पाँच हजारदेखि माथिका सानातिना योजना पनि रातो किताबमा राखिएको छ,’ तिवारीले भने, ‘त्यो कार्यक्रम कार्यान्वयन प्रदेश सरकारले कसरी गर्न सक्छ, यसलाई सोझै स्थानीय तहमा पठाउने व्यवस्था गरौँ।’

प्रदेशसभामा बोल्दै कांग्रेसका सांसद शेखरचन्द्र थापाले गतिहीन र लक्ष्यविहीन बजेट कार्यक्रम देखिएको भन्दै सरकारको आलोचना गरे। ‘बजेटले दिशानिर्देश गर्न सकेको छैन, प्राथमिकता निर्धारण गर्न सकेको छैन, यस्तो बजेटको माध्यमबाट प्रदेशको समृद्धि सम्भव देखिँदैन,’ थापाले भने ‘भएभरका ताल र मन्दिरमा पानी, अछेता र फूल छर्दैमा पाँच वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुँदैन।’ थापाले १५५ वटाभन्दा बढी आयोजना पाँचदेखि सात लाखसम्मको रहेको बताए। यसरी छुट्याएको बजेट कार्यान्वयनमा समस्या हुने उनको भनाइ छ।

प्रदेशसभामा सांसदले उठाएको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले भने सबैपक्षलाई समेटेर बजेट आएको बताए। ‘विकासका सबै साझेदारसँग छलफल गरेर र समानुपातिक ढंगले बजेट ल्याएको छु,’ आङ्बोले भने, ‘पहुँचको आधारमा बजेट विनियोजन नगरिएको र समानुपातिक प्रत्यक्षका सांसद तथा प्रतिपक्षी दलका सांसदले ल्याएका योजनालाई पनि पर्याप्त स्थान दिइएको छ।’

सरकारले मंगलबार संसदमा पेस गरेको विनियोजन विधेयकमाथिको छलफलमा ३७ जना सांसदले भाग लिएका थिए। आर्थिक मामिलामन्त्रीले जवाफ दिएसँगै छलफलको कार्यक्रम सम्पन्न भएको छ भने आगामी १० गते १२ बजेसम्मका लागि खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गर्न सांसदहरूलाई समय दिइएको छ। संसदको अर्को बैठक १० गते आइतबार २ बजे बस्ने गरी स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.