|

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गरेको छ। प्राधिकरणले स्थानीय सरकार, नेपालको संविधान र वर्तमान ऐन नियमको बर्खिलाप काम गरेको भन्दै नगरप्रमुख श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरेर प्राधिकरण खारेजको माग गरेको हो।

प्राधिकरणले मध्यपुर थिमि नगरभित्र सञ्चालन भइरहेका जग्गा एकीकरण आयोजनाको जग्गा व्यवस्थापन समितिको अध्यक्षबाट मध्यपुर थिमि नपाका नगरप्रमुखलाई हटाउने निर्णय गरेपछि प्रमुख श्रेष्ठले प्राधिकरण नै खारेज हुनुपर्ने माग राखेका हुन्।

नपाको सभाहलमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडाअध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थितमा नगरप्रमुख श्रेष्ठले स्थानीय सरकारलाई वाइपास गरेर अघि नबढ्न प्राधिकरणलाई चेतावनीसमेत दिए। उनले भने, ‘मुलुक संघिय संरचनामा प्रवेश गरिसकेको छ। सो अनुसार स्थानीय, प्रदेश र केन्द्रिय सरकार गठन भई काम शुरु भइसकेको छ। यस्तो अवस्थामा प्राधिकरणका केही व्यक्तिको  फाइदा हुने मनसायले पछिल्ला काम भएका छन, जुन हामीलाई मान्य छैन।’

आयोजना प्राधिकरणका केही व्यक्तिहरूको भ्रष्टाचारको अखडा बन्दै गएको आरोप लगाउँदै प्रमुख श्रेष्ठले नगर कार्यपालिकाको २१औं बैठकले तत्कालको लागि कमेरोटार र दिव्यश्वरी आयोजनाले विकसित घडेरी बिक्रीको लागि प्रकाशित सूचनामा उल्लेख भएका जग्गा बिक्रीका लागि घरबाटो सिफारिसलगायतको कार्यमा रोक लगाउने र मोलपोत कार्यालय भक्तपुरमा समेत रोक्का राख्नको लागि पत्र पठाउने निर्णय गरेको जानकारी दिए।

मध्यपुर थिमि नगरभित्र प्राधिकरणले सञ्चालन गरेको कमेरोटार र दिव्यश्वरी जग्गा एकिकरण आयोजनाको विषयमा नगरप्रमुख श्रेष्ठ र प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीबीच लामो समयदेखी आपसी टकराव रहेको छ। नगरप्रमुख श्रेष्ठले दुवै आयोजना नगरपालिकाको मातहत सञ्चालन हुनुपर्ने अडान राख्दै आइरहेको छ भने आयुक्त तिवारी हालकै संरचना अनुसार सञ्चालन हुनुपर्ने अडानमा छन्।

प्राधिकरणको गत जेठ २२ गते सम्पन्न बैठकले मध्यपुर थिमि नगरप्रमुखको कार्य व्यस्तताले कमेरोटार र दिव्यश्वरी आयोजनाको बैठक बस्न नसकेको, त्यसले गर्दा विकास निर्माण, जग्गा व्यवस्थापन स्विकृत जस्ता निर्णय हुन नसकेको कारण देखाउँदैं दुईटै जग्गा एकिकरण आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्षबाट नगरप्रमुख श्रेष्ठलाई हटाउने निर्णय गरेर सोही अनुसार गत जेठ २८ गते परिपत्र गरेको थियो।

तत्कालिन नगर विकास ऐन २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भएका जग्गा एकिकरण आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्ष स्थानीय नगर प्रमुख रहने व्यवस्था छ। साथै नगरप्रमुख उपस्थित नभएको अवस्थामा अर्थात नगरप्रमुख रिक्त भएको अवस्थामा उपसमितिका सदस्यसचि समेत रहेका काठमाडौं उपत्यका नगर विकास संयोजक हाल नायव विकास आयुक्तले अध्यक्षता गर्ने व्यवस्था छ।

तर प्राधिकरणको गत जेठ २२ गते सम्पन्न बैठकले नगर प्रमुख श्रेष्ठलाई हटाई मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालन भईरहेका कमेरोटार र दिव्यश्वरी जग्गा एकिकरण आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्षता जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्षले गर्ने र आयोजना सम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार आयोजना प्रमुखलाई दिने व्यहोरा परिपत्रमा उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.