|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाभित्र सञ्चालित अधिकांश मासु पसलमा गुणस्तरहीन मासु बेच्ने गरेको र नियमविपरीत सञ्चालन भएको पाइको छ। चन्द्रपुर नगरपालिका पशु विकास शाखाको आयोजनामा शुक्रबार पशु स्वास्थ्य नियमन मासु पसल तथा भेटनरी औषधी पसलको अनुगमन गर्दा अधिकांश मासु पसलले बासी मासु बेच्ने र अव्यवस्थित तबरले मासुजन्य पदार्थको बिक्री बितरण गरेको भेटिएको हो। 

चन्द्रपुर नगरपालिकाको मुख्य चोक चन्द्रनिगाहपुरमा सञ्चालित ८० प्रतिशत मासु पसल नियमविपरीत सञ्चालन गरेको पाइएको अनुगमनमा सहभागी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताए। अधिकांश बधस्थल व्यवस्थित नभएको, व्यवसायी दर्ता न्यून भएको, मासु राख्ने स्थान सफा नभएकोलगायतमा विषयमा मासु बिक्रेताले ध्यान नदिएको नगर प्रमुख चौधरीले बताए। ती व्यपारीहरूलाइ केही दिन सुधारको लागि समय दिइएको र यदि मापदण्डभित्र नआए कारवाहीको लागि अगाडि बढाइने नगर प्रमुख चौधरीले बताएका छन्।

नगर प्रमु्ख चौधरीको अगुवाइमा सो क्षेत्रका ११ वटा मासु पसलको अनुगमन गरिएको पशु कार्यालय चन्द्रपुर शाखाका प्रमुख दुर्गा प्रसाद चिमोरियाले जानकारी दिएका छन्। जसमध्ये तीनवटा मासुपसलले पसल दर्ता नगरेको र अधिकांश मासुपसलले मूल्य सूची टास नगरेर मनलाग्दी दररेटमा मासु बेच्ने गरेको पाइएको चिमोरियाले जानकारी दिएका छन्। अनुगमन गरिएका पसलमध्ये पाण्डे फ्रेस हाउस, सलमाल फ्रेस हाउस र मंसुर फ्रेस हाउसको अवस्था एकदमै फोहोर भेटिएकोले सुधार गर्नको लागि एक हप्ताको समय दिइएको चिमोरियाले बताए।

पसलको लागि पर्याप्त क्षेत्रफल हुनुपर्ने, पसलमा सजिलै फोहोर देख्न मिल्ने सेतो मार्बल तथा टायल लगाउनुपर्ने, निकासी तथा फोहोर व्यवस्थापन उचित व्यवस्था हुनुपर्ने, स्वच्छ र सफा पानीको व्यवस्था हुनुपर्ने, मासु बिक्रेताले छुट्टै पोसाक लगाउनुपर्ने, स्टिलको हुकको व्यवस्था, चिस्याउनका लागि डिप फ्रिज हुनुपर्ने  जिल्ला पशु कार्यालयका प्रमुख पशु चिकित्सक दिनानाथ यादवले बताए। तर यहाँ कुनै पनि नियम कसैले पालना नगरेको भेटिएको उनले बताए। गुणस्तरहीन मासुले स्वास्थ्यमा असर पर्ने पशु चिकित्सक यादवको भनाइ छ। मासु खरिद गर्दा उपभोक्ताले विशेष ध्यान दिनु पर्ने उनले बताए।

स्थानीय प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघ, संचारकर्मीलगायतको टोलीले सो क्षेत्रको कुखुरा, खसी, राँगा काटेर बेच्ने पसलको अनुगमन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.