|

भक्तपुर : भक्तपुर नगरभित्र हिउँदमा मात्र होइन वर्षातको समयमा समेत खानेपानीको चरम अभाव हुने गरेको छ। खानेपानी वितरणको जिम्मा लिएर बसेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मागअनुसार खानेपानी वितरण गर्न सकेको छैन। यस्तो अवस्थामा कुनै बेला नगरको खानेपानी आपूर्तीको मुख्य स्रोतको रुपमा रहेको प्राचीन ढुंगेधाराहरु भने संकटमा छन्।

केही दशकअघिसम्म नगरवासीको खानेपानीको मुख्य स्रोतको रुपमा रहेका ती ढुंगेधारा अहिले जीर्ण गएका छन्। सम्बन्धित निकाय र स्थानीय समेतको बेवास्ताका कारण भक्तपुर नगरका ऐतिहासिक र धार्मिक महत्त्वका ढुंगेधाराहरु जीर्ण बन्दै गएका हुन्।

लिच्छवि र मल्लकालमा भक्तपुर शहरलाई दैनिक उपभोगका लागि आवश्यक पानीको व्यवस्थापन गर्न सहरबाहिरका मुहानबाट भुमिगतरुपमा पानी ल्याई ढुंगेधाराहरु निर्माण गरिएका थिए। मुहानको उचित संरक्षण र मर्मत नहुँदा ढुंगेधाराहरु सुक्न थालेसँगै स्थानीयले समेत बेवास्ता गरेपछि ती ढुंगेधाराहरुमध्ये केही जीर्ण अवस्थामा छन् भने केहीका अस्तित्व नै लोप भइसकेको छ।

पछिल्लो समय घरघरमा खानेपानीका धारा वितरणसँगै स्थानीयले संरक्षणमा ध्यान नदिँदा ढुंगेधाराको अस्तित्व संकटमा परेको हो। संरक्षण र नियमित सरसफाइको अभावमा परम्परागत ज्ञान, प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका ती ढुंगेधाराहरु कुनै भत्किन थालेका छन् भने कुनै माटोले पुरिन थालेका छन्।


ढुंगेधाराहरु प्रायजसो दुर्लभ प्राणीहको मुखको आकारमा निर्माण गरिएका छन्। ढुंगेधारामा कुँदिएका ती कलाले मानव र पशुपंछीहरुबीचको सम्बन्धलाई पनि देखाएको छ। ढुंगेधाराहरुको धार्मिक विशेषता पनि छ। धाराका वरिपरि र धारामाथि भगिरथी, महादेवलगायत विभिन्न देवीदेवताका मूर्तिका साथै गोही, भेंडा र बोकाका आकृति कुँदिएको पाइन्छ।

कलात्मक शैलीका ढुंगेधाराहरु फरक–फरक दिशामा मुखाकृत गरी निर्माण गरिएका छन्। जसको धार्मिक, सामाजिक तथा ऐतिहासिक महत्त्व छ। भक्तपुर नगरमा ८८ वटा ढुंगेधारा रहेको यसका अध्ययनकर्ताहरु बताउँछन्। तीमध्ये अहिले २३ वटा पूर्वाभिमुख, ३५ वटा पश्चिमाभिमुख, २४ वटा दक्षिणाभिमुख र एउटा उत्तराभिमुख ढुंगेधारा छन्। यीबाहेक लोप भइसकेको छ।

संस्कृतिविद् ओमप्रकाश धौभडेलका अनुसार मल्ल राजाहरुले वास्तुकलालाई मुख्य आधार बनाएकाले उत्तरतर्फ फर्किएका ढुंगेधाराको संख्या कम भएको हो। उनले भने, ‘दक्षिण दिशा फर्केर आगो बाल्न नहुने, खाना पकाउन नहुने, सिरानी पार्न नहुनुका साथै पानी पनि पिउन नहुने भन्ने धार्मिक मान्यताले उत्तरतर्फ फर्किएको ढुंगेधाराको संख्या कम भएको हो।’

प्राचीनकालमा खानेपानीलाई सर्वसुलभ तरिकाले वितरण गर्न तथा विभिन्न देवीदेवताका पीठमा स्नान गर्नुपर्ने मान्यतालाई समेत ध्यानमा राखेर निर्माण गरिएका ढुंगेधाराहरु पछिल्लो समय मानव अतिक्रमणले संकटग्रस्त भएको स्थानीयहरु बताउँछन्।

भक्तपुर नगरपालिका–१ स्थित विद्युत प्राधिकरण पछाडिको ढुंगेधारा भएको ठाउँमा हाल बसपार्कमा परिणत भएको स्थानीय रामकाजी श्रेष्ठले बताए। उनले भने, ‘जनैपूर्णिमाको राति स्नान गर्ने धार्मिक परम्परा रहेको मेभारी ढोलचा ढुंगेधारा वरिपरि कम्पोष्ट प्लान निर्माण र ढलको निकास समेत त्यही ठाउँमा बनाएका कारण त्यो क्षेत्र समेत दुर्गन्धित भएको छ, त्यसमा कसैले वास्ता गरेको छैन।' त्यो सँगसँगै नासमनाको राठोर ढुंगेधारा, टौमढीको धौभडेल ढुंगेधारा, सुकुलढोकाको बुलुबुलु हिटी र विद्यापीठ ढुंगेधारालगायत ढुंगेधारा पनि जीर्ण अवस्थामा पुगेका छन्। तर, सम्बन्धित निकायको ध्यान जान सकेको छैन।

२०४२ मा जर्मनीको सहयोगमा ढुंगेधाराहरुको जीर्णोद्वार गर्ने प्रस्तावलाई भक्तपुरवासीले साथ नदिएकाले ढुंगेधाराको संरक्षणमा प्रतिकूल असर परेको संस्कृतिविद् धौभडेलको भनाइ छ। पुरातत्त्व विभागअन्तर्गतको दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका प्रमुख मोहनसिं लामाले ढुंगेधारा  जिउँदो इतिहास भएकाले यसको संरक्षण गर्नु, जीवन्तता दिनु र सुरक्षा गर्नु पुरातत्त्व विभागको काम भएको स्वीकार गरे। उनले भने, ‘अहिले राज्यको आँखा कुना काप्चामा रहेका ढुंगेधाराभन्दा प्रत्यक्ष देखिने सम्पदामा बढी केन्द्रित भएकाले ढुंगेधाराको संरक्षणमा ध्यान जान नसकेको हो।’उनका अनुसार जति पनि ढुंगेधारा छन् ती सबै जमिनभन्दा करिब एक डेढ तला गहिराइमा छ। बढ्दो आवाससँगै पानीका स्रोतहरु सुक्दै गएकाले ढुंगेधारा अलपत्र पर्दै गएको हो।

पछिल्लो समय पानी सुक्दै गएका ढुंगेधारा परिसरमा स्थानीयले फोहोर फाल्ने डम्पिङ्ग साइडको रुपमा प्रयोग गरेको पाइन्छ। सरकारी उदासिनता, परम्परागत व्यवस्थापन प्रणालीको विखण्डनमा कमी र पछिलो समयमा सार्वजनिक जग्गा तथा सम्पदाहरुको अतिक्रमणले लिच्छवि र मल्लकालीन ऐ‌तिहासिका महत्त्व बोकेको ढुंगेधाराहरु प्रभावित भएको हो। 

ढुंगेधाराका पानीको मुख्य स्रोत परम्परागत राजकुलो हुन्। जथाभावी बस्ती बिस्तार र सडक निर्माणले राजकुलो मासिँदै गएका छन्। पानीको स्रोत बन्द हुनु र घाँसपात तथा फोहरले पानीको स्रोत पुरिँदै गएकाले पनि ढुंगेधाराको अस्तित्व मेटिँदै गएको हो। स्रोत नमासिएका ईन्द्रायणी पीठलगायतका केही ढुंगेधाराहरुमा अझै कलकल पानी बग्ने गरेको छ।

भक्तपुर नगरपालिकाको सम्पदा शाखाका इञ्जिनियर सूर्यभक्त खर्बुजाले आधुनिक निर्माण कार्यको जग खन्ने क्रममा पानीको स्रोत राजकुलो बन्द भएपछि नगरका अधिकांश ढुंगेधारामा पानी आउन बन्द भएको बताए। उनले नगरमा भएका ८८ वटा ढुंगेधारामध्ये केही ढुंगेधाराहरु विलुप्त भैसकको बताए। सम्पदा शाखाले नगरका केही ढुंगेधाराहरुमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट वितरीत  खानेपानीको पाइपमार्फत पानी पठाउने व्यवस्था गरेर ढुंगेधारालाई जीवन्तता दिने प्रयास गरेको बताए। नगरका व्यासी, लालाछें, कमलविनायकलगायतका केही ढुंगेधारामा पाइप लाइनमार्फत पानी आउने बनाइएको छ।

ढुंगेधारा संरक्षणका लागि सम्बन्धित निकायले ढुंगेधाराको महत्त्वबारे जनचेतना जगाउने, यसको क्षति गर्ने उपर दण्ड सजाय दिने, विकास निर्माण कार्यहरु गर्दा ढुंगेधारा संरक्षणको प्रतिकूल असर देखिएमा वैकल्पिक व्यवस्थाको लागि सरोकारवालापक्षको ध्यानाकार्षण गराउने तथा स्थानीयलाई संरक्षण गर्न दवाब दिनुपर्ने र सरकारले यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गर्नुपर्ने देखिन्छ। 

इतिहास, संस्कृति, प्रविधि विकास, जीवनशैली तथा समाज विकासको दर्पण रुमपा रहेका ढुंगेधाराहरुलाई जीवन्तता दिन र जीर्णोद्वार गर्न नसक्नुमा स्थानीय सरकार, पुरातात्विक विभागलगायत नगरवासीको समेत कमजोरी दखिन्छ। यदि सम्बधित निकायले समयमै ध्यान नपु¥याउने हो भने सांस्कृति र धार्मिक सभ्यताको विकासको चिनो, इतिहासको दर्पणको रुपमा रहेका ढुंगेधाराहरुको लोप निश्चित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.