|

भक्तपुर : गैरकानुनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। अदालतले मोरङ कानेपोखरी गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई थुनामा पठाएको हो। 

काभ्रेपलाञ्चोक टुकुचा घर भई हाल बनेपा–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई लोभलालच देखाई, किर्ते कागज बनाएर छोरा हो भन्दै  मिर्गौला झिकेर बस्नेतले आफूमा प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले पक्राउ गरी बस्नेतमाथि मुद्दा दायर गरेको थियो। 

भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बस्नेतलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय ९२० अनुसार कानूनबमोजिम सिधा खान पाउने गरी थुनामा राख्न पठाइदिनु भनी मुलुकी ऐन अव १२४ नं बमोजिम कारागार चलानको आदेश दिएको इजलास अधिकृत कमल महतले जानकारी दिनुभयो। 

जीवन रक्षाको अधिकारलाई प्रत्याभूति गर्दै बस्नेतलाई थुनामा छुट्टै राख्ने प्रबन्ध मिलाई कारागारमा रहँदा नियमित स्वास्थ्य जाँच गराउने, अस्पताल भर्ना गराउनुपर्ने अवस्थामा भर्ना गराउने, उनको जीवन रक्षाको सम्पूर्ण प्रबन्ध मिलाई आर्थिक अवस्थाले उपचार गर्न सक्ने अवस्था नभए राज्यको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने गरी आदेश जारी भएको हो। 

मिर्गौला झिकिएका गिरीलाई भने साधारण तारिखमा छाड्ने आदेश भएको छ। गिरीको हकमा मिर्गौला झिकिएका पीडित व्यक्ति भएको, अस्पतालको नियमित निगरानीमा रहनुपर्ने, मानसिक रोगी भएको, तत्कालै फरार हुन सक्ने वा प्रमाण मेटिने काम गर्न नसक्ने र निजको मानसिक, शारीरिक, आर्थिक तथा पारिवारिक अवस्थालाई मध्यनजर गर्दै गिरीलाई तारेखमा राख्ने आदेश दिइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.