सामान्य तरकारी खेतीबाटै मासिक ३५ हजार

|

काभ्रेपलाञ्चोक : जिल्लाको बेथानचोक–१ का यज्ञप्रसाद घिमिरेले घरमा नै बसेर खेतीबाट मासिक ३४/३५ हजार कमाइरहेका छन्। ६ वर्षअघि विदेशमा गएर आएका उनी विगत एक वर्षदेखि गाउँमा नै खेती गर्दै आएका हुन्।

घरमा गाई र बाख्रा पालेर तरकारी खेती गर्दै आएका घिमिरे अहिले व्यवस्थित भकारो सुधार कार्यक्रम गरी गाईको गहुँत संकलन गर्दै तरकारीमा हालेर किरा भगाउने काम गरेका छन्। संकलित गाईको पिसाबमा पानी मिसाएर तरकारीमा हाल्दा फस्टाउने र किराबाट पनि उमुक्ति पाइने उनी सुनउँछन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोन कार्यालय बनेपाले भकारो सुधार कार्यक्रममार्फत केही अनुदानसँगै प्रयोगको विधि सिकाएपछि थप उत्साह मिलेको उनले बताए। ‘गहुँतबाट धेरै फाइदा पाएँ।’ घिमिरेले भने, ‘विदेशमा गएर खटेजति गरे आफ्नै गाउँघरमा सुन फल्छ।'

अहिले उनले दुईवटा गाई पालेर दैनिक १६/१७ लिटर दूध बेच्ने गरेको छ। ‘आलु खेती गरेर भर्खरै बेचिसकेँ, ७० हजार कमाइ भयो।’ उनले भने, ‘त्यससँगै गोलभेडा, बन्दा, काक्रो र अरू तरकारीहरु खेती गरिरहेको छु, यसैमा धेरै खुसी छु।’

विदेशमा खट्नु बाध्यता

विदेशमा गएर कमाउँदा पैसा देखिने भए पनि परिवारसँगै बसेर गरेको कामजस्तो सन्तुष्टि नहुने उनी बताउँछन्। ‘विदेशमा गएर कमाउँदा पैसा देखिन्छ, तर घरपरिवारको टेन्सन हुन्छ’ उनले भने, ‘घरमा के भयो, कसो भयो, खेतीपाती कस्तो भयो फोन गरिरहनुपर्ने हुन्छ।’ आफूले नै गरेको खेती र अरू खेताला लगाएर गरेको खेतीमा धेरै फरक पर्ने उनले अनुभव सुनाए।

मलेसिया तीन वर्ष र दुबईमा दुई वर्ष बसेर गाउँ फर्केका घिमिरे अहिले दैनिक खेती किसानीमा व्यस्त छन्। उनी गाउँमा नै हुँदाखेरी फलाएको तरकारी बजारमा बेच्न पाउने सुविधा थिएन, जति उत्पादन गर्‍यो खानको लागि मात्रै प्रयोग हुन्थ्यो, अहिले गाडी चल्न थालेसँगै उत्पादित सबै वस्तु सिधै बजारमा बेच्न पाउने सुविधा भएका कारण घरपरिवारसँगै बसेर काम गरिरहेको उनले बताए। ‘धेरै खुसी छु, त्यो वेला गरेर पनि कमाइ गर्न सकिने अवस्था थिएन बाहिर जानु नै पर्ने थियो।’ घिमिरेले भने, ‘अहिले यहीँ सबैचिज गर्न सकिने र सुविधा पनि छ, त्यसैले गाउँमा नै कमाई गरिरहेको छु।’

विदेश नै जानुपर्छ भन्ने बाध्यता हट्यो

देशमा भएका युवाहरु शैक्षिक योग्यता भए पनि त्यो अनुसारको काम र कमाई नभएपछि धेरै युवाहरुको अन्तिम गन्तब्य भनेको विदेश जाने नै हो, तर यहाँ त्यहीअनुसारको अवसर र गर्ने ठाउँ पायो भने त्यसरी जानुपर्छ भन्ने बाध्यता नरहेको उनको अनुभव छ। ‘विदेशमा गएर आउनेहरु प्राय त्यहाँ जति गरेको मेहनतले यहाँ पनि गर्ने ठाउँ र अवसर भएमा फेरी फर्केर जाने इच्छा गर्दैन।’ उनले भने, ‘दुःख र मिहिनेत गर्‍यो भने आफ्नै परिवारसँगर बसेर त्यहाँ जतिको त यही पनि कमाइ गर्न सकिन्छ।’

तर, यहाँ त्यो खालेका प्रविधि र अवसर नभएका कारण धेरै युवाहरु विकल्प खोजेर बाहिर गएको पाएको उनले बताए।

आलु सुपरजोन र भकारो सुधार कार्यक्रम सहयोगी

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई आलु सुपरजोन कार्यालय बनेपाले किसानहरुको आयआर्जनमा थप बृद्धि गर्नका लागि जिल्लाका आलु सुपरजोन कार्यक्रम सञ्चालन भएका स्थानहरुमा कृषक समूहमार्फत भकारो सुधार कार्यक्रम सञ्चालन गरिरहेको छ।

सो कार्यक्रमले किसानहरुले परम्परागत रुपमा गर्दै आएको गोठलाई सुधार गरी आधुनिक ढंगले विकास गर्ने र गोबर र पिसाबलाई व्यवस्थित गरी खेतीबाट आम्दानी बृद्धि गराउने उद्धेश्यले किसानहरुलाई सो अनुदान वितरण गरेको जनाएको छ। उक्त कार्यक्रमअन्तर्गत एक गोठ बराबर पाँच हजारका दरले भकारो सुधार र पिसाब संकलनका लागि अनुदान सहयोग गरेको छ।

जसअनुसार जिल्लाको पाँचखाल, नाला, पनौती र बेथानचोकको ढुंखर्क लगायतका ठाउँका किसानहरुलाई भकारो सुधार कार्यक्रम सञ्चालन गरेको हो। ‘आलु सुपरजोन कार्यक्रम सँगसँगै किसानहरुको आर्यआर्जनमा थप सहयोग पुगोस् भन्ने हेतुले यो कार्यक्रम सञ्चालन गरेका हौं।’ आलु सुपरजोन कार्यालय बनेपाका प्रमुख किशोर प्रसाद पन्तले भने, ‘जिल्लाका विभिन्न स्थानमा गरी चार सय वटा गोठमा भकारो सुधारको लागि पाँच हजारका दरले २० लाख बराबरको कार्यक्रम यसै आर्थिक बर्षमा सञ्चालन गरेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.