|

रामेछाप : नेपाली कांग्रेसका नेता डा.रामशरण महतले सरकारको पहिलो प्राथमिकता शिक्षा हुनुपर्ने बताएका छन्। अहिलेको युग विचारले निर्देशित गर्ने र दिमागले सञ्चालन गर्ने युग भएकाले शिक्षा पहिलो प्राथामिकतामा हुनुपर्ने नेता महतले बताए।

उद्यमशीलताले विकास र आविष्कार गर्ने बताउँदै अबको शिक्षा पनि उद्यमशीलतासँग जोडिनुपर्ने डा. महतले बताए। अहिलेसम्म राजनैतिक अस्थिरताले देशको विकास हुन नसकेको उल्लेख गर्दै अब राजनीतिक अस्थिरताको अन्त्य भइसकेकाले देशको विकासले फड्को मार्ने पनि उनको भनाइ थियो।

अब देश विकासमा अवरुद्ध गर्ने बाहना कोहीकसैसँग पनि नभएको नेता महतको तर्क छ। कालिन्चोक फाउन्डेशन र नेपाल विद्यार्थी संघले मन्थलीमा आयोजना गरेको सिसि क्यामेरा प्रदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता महतले भोलीका देशका कर्णधार बालबालिकाको शैक्षिक गुणस्तर राम्रो हुनुपर्ने भन्दै विकास र उन्नतिको युग हाक्न सक्ने दक्ष जनशक्ति उत्पादन अहिलेको आवश्यकता भएको बताए।

नेता महतले मन्थली उच्च माध्यमिक विद्यालयलाई २० थान सिसी क्यामेरा प्रदान गर्नुका साथै एक हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। विद्यालयलाई प्रदान गरिएको सिसि क्यामेरा तथा शैक्षिक सामाग्री नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईंले सहयोग गरेका हुन् ।

शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले व्यक्तिगत रूपमा सिसि म्यामेरा र शैक्षिक सामाग्री सहयोग गरेको चौलागाईंले बताए। सिसि म्यामेरा तथा शैक्षिक सामाग्री कांग्रेस नेता महतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश सुवेदीलाई हस्तान्तरण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.