आकासे पानीले सुरु भयो धान रोपाइँ

|

वीरगन्ज : गण्डक नहरमा भारतले पानी नछोड्दा आकाशे पानीको भर परेका पर्साका किसानले दुई दिनयता परेको वर्षापछि रोपाइँ सुरु गरेका छन्। गण्डक नहरमा भारतले पानी नछोड्दा आकाशे पानीको भर परेका यहाँका किसानले अहिलेको मनसुनको सुरुवाती वर्षासँगै रोपाइँ सुरु गरेका हुन्।

नहरमा पानी नआए पनि आकाशे पानी आएर खेतमा पानी जम्न थालेपछि बल्ल रोपाइँ सुरु गरेको जीराभवानी गाउँपालिकाका किसान विक्रम महतोले बताए। पहिलेदेखि गण्डक नहरमा पानी भएको भए झण्डै आधाजति रोपाइँ सकिने थियो उनले भने। तर, भारतले गण्डक नहरमा पानी छोड्ला र चाँडै रोपाइँ सुरु होला भनी कुर्दाकुर्दै यो वर्ष पनि ढिलै रोपाइँ सुरु भएको उनीलगायत स्थानीयको भनाइ छ।

'राजनीति परिवर्तनपछि मुलुकमा तीन किसिमका सरकार बने पनि नेपाली किसानको हकमा भने आकाशे पानी परेपछि मात्र रोपाइँ सुरु गर्नुपर्ने बाध्यता अपरिवर्तनीय रह्यो।' पर्साको सेढवाका किसान जितेन्द्र गौरो थारूले दु:ख व्यक्त गर्दै भने।

जिल्लाको सदरमुकामभन्दा ६० किलोमिटर टाढा सुवर्णपुरका किसानले पनि गएको बुधबार राति परेको पानीपछि बिहिबारबाट रोपाइँ सुरु गरेको ठोरी गाउँपालिका-५ सुवर्णपुरका किसान गणेश पौडेलले बताए। 'स्यार्रसुर्र पानी कहिलेकाहीँ आए पनि गएको बुधबार राति परेको पानीले मात्र जमिन भिज्ने र खेतका केही गह्राहरूमा पानी जम्ने भएपछि बल्ल यो वर्षको धान रोपाईं सुरु भयो', उनले भने।

बोल्न उति फुर्सदसमेत नभएका किसान पौडेलजस्तै उनका छिमेकी पनि खेतको काममा व्यस्त देखिए। मानो खाएर मुरी उमार्ने समयमा परेको यो पानीको सदुपयोग नगरे फेरि कहिलेसम्म पानी कुर्दै बस्नु पर्ने हो ठेगान हुँदैन हतारिँदै किसानहरुले बताए।

भारतले पानी नछोड्दा नहरमा बाख्रा चर्छन्

यता, गण्डक नहरमा भने भारतले अझैसम्म पानी नछोड्दा पानी बग्ने नहरमा बाख्रा चरिरहेका छन्। यो नहरको मर्मत र देखवहाल गर्ने नारायणी सिँचाइ डिभिजन कार्यालय गण्डकले भने आफूहरूले सके गति चाँडो पानी छोड्न् सम्बन्धित पक्षसँग पहल गरिरहेको बताए। पर्साका किसान भने सिँचाइ कार्यालयका कर्मचारीको कुरो सहि नभएको भन्दै कर्मचारीले समेत ठोस पहल नगरेको दाबी गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.