|

नवलपरासी : नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५/०७६ का लागि ६० करोड १६ लाख ७१ हजार बजेट विनियोजन गरेको छ।

सभाले नेपाल सरकारको निशर्त वित्तीय समानिकरण अनुदान १६ करोड २८ लाख, राजश्व बाँडफाडबाट नौ करोड ९१ लाख ९० हजार, आन्तरिक आयतर्फ पाँच करोड २४ लाख ३५ हजार, सड्क वोड नेपालबाट १७ करोड २१ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमबाट १८ लाख ४४ हजार, सुहारा कार्यक्रमअन्तर्गत १३ लाख ३९ हजार, चालु आवको बचत रकम एक करोड २३ लाख, शसर्त अनुदान ७५ लाख, प्रदेश सरकारको वित्तीय समानिकरण अनुदान ९४ लाख ३१ हजार र स्थानीय सरकारको राजश्व बाडफाडबाट एक करोड रुपैयाँ आय हुने गरी उक्त रकम विनियोजन गरेको हो।

नगरसभामा कुल आयमध्ये प्रसासनिक खर्च तर्फ ३७ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको छ। नगरसभामा भौतिक पूर्वाधारमा २, ३ र ५ वडाका लागि २५ लाखका दरले र १ ,४ र ६ देखि १३ वडालाई ३५ लाखका दरले १४ देखि १८ वडालाई ५० लाखका दरले रकम विनियोजन गरिएको छ।  जनसंख्या भूगोललाई आधार मानी छ करोड ५० लाख, वडा स्तरिय मर्मतसंभार २९ लाख ५५ हजार रुपैयाँ र भेलाद्धारा प्राप्त सुझावका आधारमा वडा तहमै नौ करोड छ लाख ५५ हजार विनियोजन गर्ने व्यवस्था नगरसभाले गरेको छ।

नगरसभाले कषि विकास कार्यक्रमका लागि ९० लाख ८६ हजार, पशु विकास कार्यक्रमका लागि ६४ लाख, स्वास्थ्य विकास कार्यक्रमका लागि ५२ लाख ६२ हजार, महीला विकास कार्यक्रमतर्फ १५ लाख, शिक्षा ब्यवस्थापनका लागि ९३ लाख ८१ हजार, खानेपानी कार्यक्रम २५ लाख गरी तीन करोड ४१ लाख २९ हजार रुपैयाँ विनियोजन गरेको छ। वडा तहबाट प्राप्त भएका नगरस्तरीय योजना र नगरका गौरवका योजनाका लागि १० हरोड ५१ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले यस आर्थिक वर्षमा चारवटा गौरवका आयोजना सञ्चालन गर्ने लक्ष्य लिएको छ। जसमा सभा गृह, घण्टाघर, अटो भिलेज र सपिङ मल रहेको छन्। जिल्लाको सदरमुकाममा विभिन्न कार्यक्रम तथा ठूला बैठक तथा सभा गर्नको लागि सभागृहको आवश्यकता महशुस गर्दै सभागृह निमार्णलार्इ गौरव आयोजनाअन्तर्गत राखिएको रामग्राम नगरपालिका का प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए।

त्यस्तै घण्टाघरलाई परासीको बुद्धचोकदेखि पश्चिम महेशपुर चोकमा बनाइने भएको छ। महेशपुर जानको लागि जिप, बस र भ्यानहरू रोकिन ठाँउलाई महेशपुर चोक भनिन्छ तर महेशपुर भन्ने ठाँउ अन्तै भएको कारणले महेशपुर चोकलाई घण्टाघर नाम दिनका लागि घण्टाघर बनाउने रणनिति लिएको नगरपालिका प्रमुख गुप्ताले बताए।

 यसैबीच उनले परासी बजार व्यवस्थापनको लागि सपिङ मल र अटोभिलेज पनि बनाउने आयोजना रहेको जानकारी दिए। यी गौरव आयोजनामा २० प्रतिशत नगरपालिकाले लगानी गर्ने र ८० प्रतिशत बाहिरी स्रोत ल्याउने नगरपालिका प्रमुख गुप्ताले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.