|

उदयपुर : दुईदशक अगाडि हप्ताको एक दिन लाग्ने हाट बजार अहिले व्यापारी केन्द्रको रूपमा परिणत हुँदै गएका छन्। ग्रामीण क्षेत्रमा सडक विस्तार भएसँगै विगतमा हप्ताको एक दिन लाग्ने हाट बजार स्थान अहिले कराेडाैंकाे कारोबार गर्ने व्यापारिक केन्द्र बन्दै गएका हुन्।

विकट क्षेत्रमा सडक सञ्जाल जोडिएपछि हप्ताको एक दिन लाग्ने हाट नामले परिचित बजार क्षेत्र अहिले व्यापारी केन्द्र बन्दै गएको त्रियुगा उद्योग वाणिज्य संघ गाइघाटका अध्यक्ष गजेन्द्रकुमार भगवतले बताए। ‘उदयपुरकै कयौ हाट बजारहरू अहिले व्यापारी केन्द्रको रूपमा विकास हुँदै गएका छन्,’ उनले भने, ‘दैनिक रूपमा कराेडाैंकाे व्यापार पनि उतैबाट भइरहेको देखिन्छ। यसरी हाट बजार व्यपारी केन्द्रको रूपमा विकास हुँदै जानु मुख्य गरी गाउँ गाउँमा सडक सञ्जाल जोडिनु हो।’

व्यापारिक केन्द्रका कारण सर्वसाधारणको दैनिक जीवन सहज समेत बनेको छ। हिउँदमा धुलाम्य र वर्खायाममा हिलाम्ये हुने कच्ची सडक विस्तार भएसँगै रामपुर, घुर्मी, मुर्कुची, सल्ले, रसुवा, वीरेन्द्रबजार, रानीटार, रुपाटार, पोखरी लगायतका क्षेत्रमा अहिले व्यापारी कारोबार बढ्दै गएको छ। ‘अहिले कटारी नगरपालिका पर्ने लेखानीको पोखरीमा मंगलबार मात्र बजार लाग्थ्यो,’ घुर्मीका स्थानीय कुमार धमलाले भने, ‘अहिले सिद्धिचरण लोकमार्गले घुर्मीसम्म पुगेपछि अहिले लेखानी र घुर्मी दुवै व्यापारिक केन्द्रको रूपमा परिणत भएका छन्।’ यसरी विगतका हाट बजार अहिले व्यापारिक केन्द्रमा परिणत भएपछि उदयपुरबासीलाई मात्र होइन। खोटाङ, ओखलढुंगा, तथा भोजपुर जिल्लाका सर्वसाधारणलाई पनि दैनिक उपभोग्य वस्तुको खरिद गर्न वा गाउँघरमा उत्पादन भएका कृषिजन्य वस्तुको बिक्री वितरण गर्न सहज भएको छ। 

दैनिक उपभोग्य वस्तु सहज रूपमा अपूर्ति हुँदै गएको छ। साताभरिका लागि खरिद गरेर राख्ने चलन समेत हराउँदैछ। त्यसैले साप्ताहिक हाटको चलन हराउँदै गएको कटारी नगरपालिका ११ का वडा अध्यक्ष दीपक बुढाथोकीले बताए। ‘लेखानीको पोखरीमा मंगलबार एक दिन बजार लाग्थ्यो,’ उनले भने, ‘यताका कृषकहरू त्यही गएर मकै, कोदो, भटमास बेचर नुन, तेल, सावुन खरिद गर्दथे, अहिले मकै, कोदो, भटमासको पनि बिक्री घरबाटै हुने गरेको छ।’

बेल्टारमा बिहीबार, रामपुरमा शनिबार, कटारीमा शुक्रबार साप्ताहिक अहिले पनि हाटबजार लागिरहेका छन्। तर अहिले लाग्ने यी साप्ताहिक हाटले पहिलेको जस्तो महत्व घट्दै गएको अनुभव उदयपुर उद्योग वाणिज्य संघ कटारीका पूर्व उपाअध्यक्ष मदन कटुवालले बताए। ‘विगतमा साप्ताहिक हाटको धेरै ठूलो थियो,’ उनले भने, ‘अहिले यी साप्ताहिक हाटहरू सामान्य तरकारी किन्ने र न्यून आय भएका सर्वसाधारणको गुजारा गर्ने माध्यम मात्रै भएका छ। गाउँका बजारमा कारोवार समेत बढेको छ।’

पहाडी क्षेत्रमा दुई दिन लगाएर साप्ताहिक हाट भर्न आउने चलन थियो। २० वर्ष अघिसम्म खोटाङका सर्वसाधारण दुई दिन हिँडेर उदयपुरको बेल्टार, कटारी, गाईघाट, मुकुर्ची बजारमा लाग्ने हाट भर्न आउथे। कटारीका ७८ वर्षे स्थानीय लोकबहादुर दनुवारले भने, ‘दुईरचार पाथी नुन, मरमसला र मट्टितेल लिन अाउने चलन अहिले हटिसकेको छ।’ साप्ताहिक हाट चलन अहिले हराउँदै गएको छ। गाउँमा सडक पुग्यो, घरघरमै गाडीले बोकेर दैनिक उपभोग्य वस्तु पुर्‍याउन थालेपछि हाटबजार हराउँदै गएको हो। ग्रामीण क्षेत्रमा जनसंख्या चाप बढदै जाँदा सडक, बिजुली, पानी र अत्यावश्यक पर्ने वस्तुको प्रयोग गर्नेको संख्या बढेको छ।   

उदयपुर जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामै कच्ची सडक पुगिसकेको जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको भानइ छ। ‘ग्रामीण सडकले उदयपुरका विकट क्षेत्रलाई सहर बजारसम्म जोडेपछि हिजोका हाटबजार अहिले व्यापारिक केन्द्रमा रुपान्तरण हुँदै गएका छन्,’ उनले भने, ‘त्यस क्षेत्रमा व्यापारी कारोवार समेत बढेको छ। मात्र त्यस क्षेत्रमा हुने व्यापारी कारोवारको मापन गर्ने नीति सरकारसँग छैन। जहाँबाट दैनिक रूपमा कराेडाैंकाे कारोवार हुने गरेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.