|

काठमाडौं : पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्रको विकास तीव्र रूपमा भइहेको छ। पत्रकारिताको विकाससँगै अध्ययन र आवश्यकताको आवश्यक पनि उत्तिकै छ। तर, नेपालमा अहिले पनि पत्रकारिताको अध्ययनका लागि उचित वातावरण छैन। पत्रकारका लागि भनेर अहिलेसम्म सुविधासम्पन्न अध्ययन केन्द्र खुलेका छैनन्।  पत्रकारितासँग सम्बन्धित कार्यक्रम गर्नुपरेमा पनि विभिन्न होटल तथा पार्टी प्यालेसको भर पर्नुपरेको छ। एउटा सुविधासम्पन्न अध्ययन केन्द्र नहुँदा पत्रकारहरूलाई खोज तथा अनुसन्धानका काम गर्न समस्या हुँदै आएको छ। 

तर, अब समस्या समाधान हुने भएको छ। दिवंगत वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मृतिमा ‘गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र’ निर्माणको प्रक्रिया सुरु भएको छ। उक्त अध्धयन केन्द्रका स्थापना भएपछि नेपाली पत्रकारलाई पनि विश्वको पत्रकारिताबारे अध्ययन गर्न सहज हुने अपेक्षा गरिएको छ।

दिवंगत पत्रकार वियोगीको स्मृतिमा सम्पादक समाज नेपालले नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित सुइरेचौरमा पत्रकारिता अध्ययन केन्द्रको निर्माण प्रक्रिया सुरु गरेको हो। समाजले अध्ययन केन्द्र स्थापनाका लागि उक्त ठाउँमा ढेड रोपनी जग्गा पनि खरिद गरिसकेको छ। वियोगीको पत्रकारलाई प्रशिक्षित बनाउने लक्ष्यअनुसारले नै समाजले अध्ययन केन्द्र स्थापनका लागि प्रक्रिया सुरु गरेको समाजका अध्यक्ष पुरु रिसालले जानकारी दिए।

उनले भने,‘वरिष्ठ पत्रकार वियोगीको उद्देश्य पत्रकार आफैँ शिक्षित हुनुपर्छ भन्ने थियो। अध्धयन केन्द्र स्थापनाका लागि हामीले पहिलादेखि नै जग्गा खोजिरहेका थियौँ। उपत्यकामा जग्गा खरिद गर्ने हाम्रो क्षमता थिएन र यहाँ खरिद गर्‍यौँ।’

काठमाडौंबाट करिब ११ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा पत्रकार अध्ययन केन्द्रका लागि दुईवटा भवन बन्नेछन्। समाजले अध्ययन केन्द्रका लागि पहिलो चरणमा एउटा सुविधासम्पन्न भवन निर्माण गर्नेछ।

उक्त भवनमा ४० जना क्षमताको सुविधासम्पन्न सेमिनार हल बन्ने वियोगीका छोरा किरण वैद्यले जानकारी दिए। यस्तै, विदेशी पत्रकार तथा काठमाडौंबाट गएका पत्रकारलाई बस्नका लागि दोस्रो हलमा आठवटा कोठाहरू रहनेछन्। त्यहाँ १६ जना बस्न सक्ने वैद्यले बताए। उक्त भवनमा पत्रकारका लागि सुविधासम्पन्न आइटी लाइब्रेरी पनि रहनेछ। 

उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि पाँच करोड लाग्नेछ। ‘पहिलो चरणमा पाँच करोड लाग्ने अनुमान गरिएको छ। यसका लागि हामी दाता खोजिरहेका छौँ। केही दाताले प्रतिबद्धता पनि गर्नुभएको छ’, उनले भने,‘तर भवन निर्माण सुरु नगरी दतालाई सहयोग माग्न पनि अफ्ठ्यारो भयो।’

पहिलो चरणको भवन निर्माण प्रक्रिया यो बर्खा सकिनेबित्तिकै सुरु हुने उनले बताए। उक्त स्थानमा वरिष्ठ पत्रकार वियोगीको अर्धकदको सालिक पनि बन्नेछ।सम्पादक समाज नेपालका संस्थापक अध्यक्षसमेत रहेका वियोगी पत्रकारिता क्षेत्रमा धेरैका गुरु रहेको वरिष्ठ पत्रकार हरिहर विरही बताउँछन्। भन्छन्,‘उहाँ पत्रकारिता क्षेत्रमा धेरैका गुरु हुनुहुन्छ। उहाँले पत्रकारका लागि एउटा अध्ययन केन्द्र स्थापना गर्ने लक्ष्य लिनुभएको थियो। त्यही भएर पनि २०५० सालमा सम्पादक समाजको स्थापना भएको हो।’

वियोगीले निरंकुश पञ्चायत व्यवस्थामा पनि जनताको आवाज पत्रिकामा ल्याइरहने पत्रकार भएको विरही बताउँछन्। भन्छन्,‘ उहाँ सधैँ लोकतन्त्रको पक्षमा हुनुहुन्थ्यो। त्यसो त पञ्चायतकालीन अवस्थामा पनि लोकतन्‍त्रका पक्षमा कलम चलाइरहनुभयो।’

वियोगीको नाममा मार्ग

पत्रकार वियोगीको नाममा ‘गोविन्द वियोगी मार्ग’ बनेको छ। नुवाकोटको गुर्जे भन्ज्याङदेखि सुइरेचौरसम्मको दुई किलोमिटरको दूरीलाई ‘गोविन्द वियोगी मार्ग’ घोषणा गरिएको हो। अध्ययन केन्द्रसम्म पुग्ने उक्त मार्गलाई वियोगीको नाममा नामांकन गर्न गाउँपालिकाको कार्यालयले स्वीकृति दिएको छ। सम्‍भवत पत्रकारको नाममा मार्ग बनेको यो पहिलो होला।

वियोगीको नाममा मार्ग बनेको भए पनि उक्त सडकको विजोग छ। सुइरेचौरसम्मको दुई किलोमिटरको बाटो यात्रा गर्न पनि निकै हम्मेहम्मे पर्छ। तर, उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय नुवाकोटले पनि चासो देखाएकाले छिट्टै सडक बन्ने सम्पादक समाजका महासचिव श्याम डोटेलले बताए।

उनले भने,‘गाउँपालिकाले मार्गको नामांकन गोविन्द दाइको नाममा गरेपछि हामीले भौतिक पूर्वधार मन्त्रालयलाई आग्रह गर्‍यौँ। त्यसपछि सडक विभाग हुँदै सडक डिभिजन कार्यालय नुवाकोटमा कुरा पुगेको छ। यो हप्ताभित्र सडकको स्टिमेट तयार हुन्छ।’

पर्यटकको आशा

वरिष्ठ पत्रकार विगोगीको नाममा अध्ययन केन्द्र सुरु भएपछि उक्त स्थानमा पर्यटनको विकास हुने गाउँपालिकाको आशा छ। पर्यटकीय क्षेत्र सुइरेचौरमा अध्ययन केन्द्रको स्थापनासँगै पर्यटकको आगमनमा वृद्धि हुने आशा रहेको वडाअध्यक्ष माधवप्रसाद भेटवालले बताए।

उनले भने,‘अध्ययन केन्द्र बनाएपछि यहाँ देश तथा विदेशका पत्रकारहरू आउँछन्। उनीहरूले यो ठाउँको प्रचार गर्छन् र हाम्रो क्षेत्रमा पर्यटनको विकास हुन्छ भन्ने हाम्रो आशा छ।’ राजधानीको नजिकै रहे पनि सडक सञ्जालका हिसाबले विकट रहेको यो स्थानमा अध्ययन केन्द्र बनेपछि विकास निर्माणले फड्को मार्ने आशा रहेको उनी बताउँछन्।

को हुन् गोविन्द वियोगी

वियोगी धेरै पत्रकारका गुरु हुन्।  उनले आफ्नो पूरै जीवन पत्रकारिता पेसामा नै समर्पित गरे। प्रजातन्त्र स्थापनापछि विसं.२००८ मा हस्तलिखित ‘वागीश्वरी’ मासिक पत्रिकाबाट उनले पत्रकारिताको यात्रा सुरु गरेका थिए। उनले गोरेटो मातृभूमि, लोकदूत हुँदै जनदूत दैनिक पत्रिकासमेत प्रकाशित गरे। वियोगी २०१५ सालमा स्थापना भएको नेपाल संवाद समिति, २०१८ मा स्थापना भएको राष्ट्रिय संवाद समितिका संस्थापक सदस्य हुन्।

उनी २०२८ सालमा प्रेस काउन्सिलका प्रथम निर्वाचित सदस्य भएका थिए। उनी नेपाल पत्रकार महासंघको दुई कार्यकाल सभापति भए। त्यसपछि फेरि उनी २०४६ सालमा प्रेस काउन्सिलको सदस्य हुँदै २०५० सालमा सम्पादक समाज नेपालको संस्थापक अध्यक्ष भए। उनी नेपाल प्रेस इन्ष्टिच्युटका संस्थापक सदस्य हुन्।

पत्रकार महासंघलाई जिल्ला तहसम्म पुर्‍याउन वियोगीको निकै महत्त्वपूर्ण भूमिका छ। वियोगीको २०६२ साल माघ २ गते सम्पादक समाज नेपालको कार्यकक्षमै हृदयाघातका कारण निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.