|

दाङ : सल्यानको त्रिवेणी गाउँपालिकाले २८ करोड ८८ लाख बढीको बजेट प्रस्तुत गरेको छ। आर्थिक वर्ष २०७५/७६ को नीति, कार्यक्रम र बजेट त्रिवेणी गाउँसभामा प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष करुणा खड्काले २८ करोड ८८ लाख १६ हजार १७७ रुपैयाँ बराबरको बजेट निनियोजन गरिएको बताइन।

गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष खड्काले कुल विनियोजन मध्य चालुतर्फ सशर्तसमेत तीन करोड १४ लाख ३१ हजार ४५२ र र पुँजीगततर्फ जम्मा २५ करोड ७३ लाख ८४ हजार ७१८ विनियोजन गरेको बताइन्।

त्यस्तै गाउँपालिकाले नीति तथा कार्यक्रममा एक घर पाँच आयमूलक विरुवा रोप्नेदेखि एक वडा एक होमस्टे कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। यस्तै नगर प्रहरी व्यवस्था गर्नेदेखि जनताको प्रश्न जनप्रतिनिधिको जवाफ कार्यक्रम सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

गाउँपालिकाको आन्तरिक शान्ति सुरक्षा, अवरोध हटाउने, उद्धार कार्य, बजार व्यवस्थापन जस्ता कार्यलाई व्यवस्थित गर्नको लागि नगर प्रहरीको व्यवस्था  गर्न आवश्यकता देखिएकोले नगर प्रहरी गठन संचालनसम्बन्धी कार्यविधि बनाई आवश्यक प्रक्रिया अगाडि बढाइने बताएको छ। 

यस्तै स्वयमसेविकाको प्रोत्साहनका लागी हरेक महिना ६०० रुपैयाँ भत्ता र गर्भवती र सुत्केरी महिलालाई आयो नुन, सुत्केरी भत्ता तथा न्यानो झोला वितरण कार्यक्रमलाई निरतरता दिइने उल्लेख गरिएको छ। स्वास्थय शिविर सञ्चालनका लागि छ लाख, वृद्धाश्रमका निर्माण गर्न १५ लाख, व्याडमिन्टन कोर्ड निर्माण गर्न पाँच लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले बताए।

 

यस्तै गाउँपालिकाका महत्त्वपूर्ण मोटरबाटोका लागि एक करोड ४० लाख, ग्रामीण विद्युतीकरणका लागि एक करोड विनियोजन गरिएको छ भने पाँच लाखभन्दा माथिका सबै आयोजनाहरू  निर्माण व्यवसायीबाट काम गराउने नीति अवलम्बन गरिने उल्लेख गरिएको छ।

त्यस्तै “हराभरा र सुन्दर त्रिवेणी गाउँपालिका, विकसित र समृद्ध समाज निर्माण हाम्रो प्रतिवद्धता” भन्ने मूल नारालाई साकार पार्न त्रिवेणी गाउँपालिकाको उपलब्ध साधन स्रोतलाई उत्पादनमूलक र छिटो प्रतिफल दिने क्षेत्रमा सहभागितामूलक र प्रभावकारी तरिकाबाट खर्च गर्दै दीगो विकासको माध्यमबाट विकसित समाज निर्माण गर्नु आफूहरुको मूल नीति रहेको गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले बताए।

हेर्नुहोस् पूर्णपाठ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.