|

दाङ : घोराही उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले शनिबार तेस्रो नगरसभा आयोजना गरी आफ्नो नीति कार्यक्रम सार्वजनिक गरेको हो। 

नगर प्रमुख नरुलाल चौधरीले नीति कार्यक्रम सार्वजनिक गर्दै घोराही उपमहानगरपालिका भित्र चक्रपथ निर्माण, प्रमुख नदीको दायाँबायाँ करिडोरसँगै सबै टोल बस्तीमा यातायातको सञ्जालले जोड्ने उल्लेख गरेका छन्। साथै नगरको केन्द्रबाट सबै वडा केन्द्रलाई जोड्न एकएकवटा सडक छनोट गरी कालोपत्रे गर्ने, दुर्गम बस्तीबाट कम्तिमा आधा घण्टा पैदल हिँडेर यातायात भेट्न सकिने गरी सडक पूर्वाधारको विकास गरी नगर प्रमुख चौधरीले निति कार्यक्रममा उल्लेख गरेका छन्।

त्यस्तै कृषिलाई प्रवर्द्धन गर्न सिँचाइ सुविधा बढाउनका लागि कटुवा र गुज्रेखोलामा ड्याम निर्माण गरिने भएको छ। सिँचाइ सुविधा नभएका स्थानमा डिप बोरिङ निर्माण, ड्याम, साना पोखरी र थोपा सिँचाइ प्रणालीलाई अवलम्बन गरिनेसमेत नगर प्रमुख चौधरीले उल्लेख गरेका छन्।

यसैगरी नगर प्रमुख चौधरीले भू-उपयोग नीति बनाएर बस्ती विकास, आवास विकास, बजार व्यवस्थापन, कृषि तथा व्यवसाय क्षेत्रको वर्गीकरण गरी व्यवस्थित विकासको नीति अवलम्बन गरिने बताएका छन्। नगर क्षेत्रमा बन्ने भौतिक संरचना बालमैत्री, अपांगमैत्री, ज्येष्ठ नागरिकमैत्री र महिलामैत्री बनाउनेसमेत नगर प्रमुख चौधरीले नीति कार्यक्रममा समेटेका छन्।

त्यसैगरी शिक्षामा सामुदायिक र नीति विद्यालयको शिक्षालाई समानान्तर शिक्षण सिकाइको नीति अवलम्बन गरिने छ भने कक्षा आठदेखि अनिवार्य कम्प्युटर शिक्षा लागू गरिने भएको छ। प्रत्येक वडामा क्रमश खेल मैदान बनाउने नीति पनि उपमहानगरले लिएको छ। आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क बनाउनै सिकलसेल एनिमिया रोगको नि:शुल्क ल्याब परीक्षणको व्यवस्थासमेत मिलाइने नगर प्रमुख चौधरीले जानकारी दिएका छन्। विभिन्न एकसय बढी बुँदामा प्रस्तुत नीति कार्यक्रममा समाजका विभिन्न अंगसँग जोडिएका र सरोकार राख्ने क्षेत्रहरूलाई सम्बोधन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.