|

भद्रपुर (झापा) : बिहीबार भारतको गलगलिया नाकाबाट आठ वटा राँगा गाडामा लोड भएको लत्ता कपडा भद्रपुर आउँदै थिए। सोही दिन भन्सारको मुल नाकामा तटबन्धन कार्य पूरा भएपछि राँगा गाडामा लोड भएको लत्ताकपडा भन्सार लैजान व्यापारीलाई समस्या पर्‍याे। त्यति नै हम्मे हम्मे पर्‍याे सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई। सामान लोड भएका राँगा गाडालाई भन्सार लैजान व्यापारी र प्रहरीले स्कटिङ गरी भन्सारको पछाडिको खेतको बाटो भएर लगेको थियो। 

प्रहरीले यसरी भन्सारपछाडिबाट सामान भित्र्याउँदा भन्सार चुहावट नियन्त्रण अभियानअन्तर्गत यसरी सामान भित्र्यउन कानुनी रुपमा बन्देज रहेको भन्दै भन्सार कार्यालयले आपत्ति जनायो। तर प्रहरीले बाध्यताले उक्त बाटो प्रयोग गरेको प्रहरीले बतायो। एकै पटक ठूलो परिणाममा सामान ल्याएकाले भित्र्याउन दिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जगेवुले बताए। ‘अब उप्रान्त त्यसरी सामान ल्याउन दिने छैनौं,' उनले भने, ‘यसरी सामान नल्याउन व्यापारीलाई जानकारी गराइसकेका छौं।’ 

समस्यै समस्या

भद्रपुर नगरपालिकास्थित मेची नदीमा निर्मित मेची पुल सडकखण्ड विस्तार कार्य अवराेध हुँदा राजस्व असुली प्रभावित हुनका साथै व्यापारीहरू पनि मारमा परेका छन्। भारतबाट आयातित सामान भित्र्याउने नेपालतर्फको सडक नहुँदा भद्रपुर छोटी भन्सार कार्यालयको राजस्व असुली प्रभावित बनेको हो।

मनसुन सुरु भएलगतै मेची नदीमा पानीको सतह बढेपछि निर्माण कम्पनीले पुलको दुवैतर्फ तटबन्धन लगाएको छ। तटबन्धनले गर्दा भद्रपुरको नाका अहिले ठप्प बनेको छ। भन्सार नाका ठप्प बनेपछि उदघाटनको पर्खाइमा रहेको मेची पुलबाटै आवतजावत गर्न बाध्य छन्। तर पुलबाट मोटरसाइकल र साइकलबाहेक अन्य सवारी साधन चलाउन प्रहरीले अनुमति दिएको छैन। जसका कारण व्यापारीले नेपाल भित्र्याउने सरसामान राँगागाडामा लोड गरी नदीबाटै ल्याउँदै आएका थिए। तर, नाका ठप्प बनेपछि अहिले व्यापारीले सरसामान अायात गर्न पाएका छैनन्। सम्बन्धित निकायले यसतर्फ चासो नदेखाउँदा राजस्व असुली प्रभावित हुनका साथै व्यापारीलाई दैनिक कारोबार गर्नमा समेत समस्या परेको छ। 

भारतको बंगाल तथा बिहार राज्यसँग जोडिएको मेची पुल प्रवेश गर्दा बंगाल नाका भएर आउनु पर्ने बाध्यता छ। भारतर्फ पनि सडककै समस्या छ। भारतबाट आयातित सामान बिहारको गलगलियामा रहेको भन्सार कार्यालयमार्फत व्यापारीले सामान ल्याउँदै आएका थिए। बिहारबाट भन्सार तिरेर सामान ल्याउँदा बंगाल प्रवेग गरी ल्याउनु पर्ने हुन्छ। तर अहिले त्यो सम्भव छैन। जसले व्यापारी मर्कामा परेका छन्। भद्रपुरका व्यापारी पप्पु घोष भन्छन्, ‘भारतबाट नदी तारेर सामान ल्याए पनि भन्सार लाने सडक छैन। यसबारे सम्बन्धित निकायले निकास दिनुपर्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.