|

धनगढी :  धनगढी उपमहानगरपालिकाभित्र सार्वजनिक नाला अतिक्रमण गरी बनाइएको संरचनाहरु हटाउने अभियान सुरु गरिएको छ। अभियानमा स्थानीयवासीकै सक्रियतामा अतिक्रमण गरी बनाइएका संरचना हटाई नाला क्षेत्र बिस्तार गरिन लागिएको हो।

वर्षायाम सुरु भएसँगै डुवानको समस्या झेल्नुपर्ने भन्दै धनगढी उपमहानगरपालिका–१ नैनादेवी टोलका स्थानीयहरु नाला विस्तार गर्न अाफै सक्रिय भएको नैनादेवी टोल विकास समितिका अध्यक्ष भरत देउवाले बताए। देउवाले भने, ‘आफ्ने क्षेत्रको अतिक्रमण हटाउन हामी आफै लागेका हौं।’ उपमहानगरपालिकाभित्रैका कयौं खोलानाला अतिक्रमण हुँदा वर्षायाममा धनगढी बजार डुवानमा पर्ने गरेको छ। वषौँदेखि डुवानको समस्या हुने भए पनि सम्बन्धित निकायले चासो नदेखाएका कारण अतिक्रमण हटाउन स्थानीय आफै जुटेका उनीहरुको भनाइ छ। 

धनगढी उपमहानगरपलिका र धनगढी नगर विकास समितिको सहकार्यमा नैनादेवी टोल विकास समितिले करिब एक किलोमिटर नाला क्षेत्रमा रहेका भौतिक संरचनाहरु भत्काएका थिए। धनगढी उपमहानगरपलिका १ का वडा सदस्य सुभाष चन्दले बताए, ‘जयमालिका कलेजको पुस्तकालय र शौचालय समेत भत्कायौं।’ उपमहानगरपालिकाले डोजर लगाएर अतिक्रमण हटाउँदै नाला खोल्न थालेपछि डुवानको समस्याबाट मुक्त भइने स्थानीयले अपेक्षा लिएका छन्।

नैनादेवी टोलकी रीता चौधरीले यस वर्ष सहज हुने अाशा लिएको बताइन्। ‘वर्षामा झ्यालबाट घरभित्र पानी पसेर सबै सखाप हुन्थ्यो, पानी निकास नहुँदा यस्तो भएको हो’ उनले भनिन् ‘अब निकास भएपछि विगतको जस्तो नहुने अपेक्षा गरेका छौं।’

प्रत्येक वर्ष आउने बाढीले टोल नै डुबाउने स्थानीयले बताए। अतिक्रमण क्षेत्र अटाउने अभियान सुरु भएको भन्दै धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले अब धनगढी क्षेत्रका सबै खोलानालाको अतिक्रमण हटाइने बताए। ‘हामीले पटक पटक खोलानाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन पत्राचार गरेका छौं, कसैले टेरेनन्,' उनले भने, 'अब डोजर चलाउछौं।’

स्थानीय आफै अग्रसर भएपछि दुई दशकदेखि अतिक्रमण भएको क्षेत्र सहज रुपमा हटाइएको हो। धनगढी नैनादेवी टोलका नागरिकहरुले सबैतिरको अतिक्रमण हटाउनु पर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.