झुटो नाता प्रमाणित गराएर बेचबिखन कि वैदेशिक रोजगारी?

|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाका दुई वडाध्यक्ष यसबेला कारागारमा छन्। नक्कली नागरिकता सिफारिस गरेपछि उनीहरू दुवै कारागारमा पुगेका हुन्।

हेलम्बु गाउँपालिका ७ का वडाध्यक्ष साविक इचोक गाविसका खेतनाथ घिमिरे पक्राउ परेको एकसाता बित्न नपाउँदै नक्कली नागरिकता काण्डमै चौतारा साँगाचोकगढी-१ स्याउलेका वडाध्यक्ष सानुकान्छा श्रेष्ठ र वडा सचिव राजकुमार श्रेष्ठ पक्राउ परे। 

रहस्यमय तवरबाट उनीहरूले नक्कली नागरिकता सिफारिस गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी मोहन पोखरेलको भनाइ छ। उनीहरू झुटो नाता प्रमाणित गरेर नागरिकता सिफरिस गरेका छन्। झुटो नाता सिफारिसबाट नागरिकता बनाएका दुवैले मुख्य आकर्षण वैदेशिक रोजगारीलाई लिइएको पाइन्छ।

प्रहरी अनुसन्धानबाट हेर्दा पछिल्लो समयमा सिन्धुपाल्चोकबाट अवैधानिक चेलिबेटी बेचबिखनको घटना अन्त्य भएको देखिन्छ। तर, यस्तो प्रकृतिको रहस्यमय घटनाले चेलिबेटी बेचबिखनको एक दरिलो आधार मान्न सकिने प्रहरीको भनाइ छ। सिन्धुपाल्चोक चेलीबेटी बेचबिखन गर्नेदेखि वैदेशिक रोजगारीमा महिला जानेमा अग्रस्थानमै पर्छ।

छोराले दिएका थिए प्रहरीमा सूचना

पनौतीकी सुस्मिता थापाको नागरिकता बनाउन नक्कली आमा बन्ने पार्वती थापा हुन्। पार्वती थापाकै छोरा दीपक थापाले झुटो नाता कायम गरेको भन्ने सूचना दिएको प्रहरीले जनाएको छ । पार्वतीकै छोरा दीपकले प्रहरीमा सूचना दिएपछि नक्कली नागरिकता सिफारिस भएको खुल्न आएको हो।

दीपकले दिएको सूचनाको आधारमा पक्राउपछि उनीहरूलाई केरकार गर्दा नक्कली नागरिकता सिफारिस भएको प्रमाणित भएको हो। पैसाको लोभमा परेर नक्कली आमा बनेर पनौतीकी सुस्मितालाई नागरिकता दिएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ।

राजधानीमा पार्वती र सुस्मिता वल्लोपल्लो कोठामा बस्दै आएका थिए। कोठा बसाइँकै निकटताले सुस्मिताले पार्वतीलाई आमा भन्दै आएकी थिइन्। सोही क्रममा सुस्मिताले पार्वतीलाई ‘आमा मान्छु’ भनेर नाता लगाएकी थिइन्। जसअनुसार पार्वतीले सुस्मितालाई नागरिकता दिएको पाइन्छ।

नागरिकता बनाइसकेपछि सुस्मिता विदेश जाने तरखरमा थिइन् तर, त्यसमा पार्वतीले सहमति नदिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। सुस्मिताले विदेश गएपछि सबै खर्च पठाइदिने आशा पार्वतीलाई दिलाइन्। आर्थिक प्रलोभनमा परी पार्वतीले नक्कली आमा बनेर नागरिकता सिफारिस गरिन्।

मुद्दा कमजोर बनाइँदै

नक्कली नागरिकता सिफारिस गरेपछि पक्राउ परेका हेलम्बु गाउँपालिका ७ इचोकका वडाध्यक्ष्य खेतनाथ घिमिरेको मुद्दा कमजोर बनाउने खेल चलिरहेको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेका वडाध्यक्षको थुनामा राखेर अनुसन्धानका लागि १० दिनको लागि म्याद थप भएको थियो। मेलम्ची नगरपालिका-१० ज्यामिरेकी खुसी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका-७ इचोकबाट नागरिकता सिफारिस गरेको खुलेपछि वडाध्यक्ष घिमिरेलाई पक्राउ गरेको थियो।

खुसी तामाङलाई स्थानीय आशाराम तामाङमार्फत वडाअध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएका थिए। नागरिकता सिफारिसपछि आशाराम दाइ बनेरै खुसीको नागरिकतासमेत बनाएको प्रहरीको भनाइ छ।

बेचबिखन कि रोजगारी?

नक्कली नागरिकता बनाएलगत्तै दुवैजनाले जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिनको लागि निवेदन दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटना रहस्यमय भएकाले यस्तो प्रकृतिलाई बेचबिखनको अर्को आयामको रूपमा लिन सकिने एसपी पोखरेलको भनाइ छ।

‘कतै नक्कली दाइ बनेर नागरिकता सिफारीस गरिएको छ, कतै आमा। यस्तो प्रकृतिलाई हेर्दा बेचबिखनको अर्को रूप हुनसक्छ,' एसपी पोखरेलले भने, ‘घटनाको अध्ययनको क्रममा छौँ, त्यसैले के हो अहिल्यै भन्न सक्ने अवस्था छैन।’

सिन्धुपाल्चोकमा पछिल्लो समयमा चेलीबेटी बेचबिखनको घटना शून्यजस्तै देखिएको छ। अवैधानिक रूपमा बेचबिखन नहुने भएकाले वैधानिक रूपमा बेचबिखनको प्रक्रिया अपनाएको हुनसक्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.