|

पर्यटकीय नगरीका रूपमा परिचित कञ्चनपुरको वेदकोट नगरपालिका सुडा गाविस र दैजी गाविस मिलाएर बनाइएको हो। यस नगरपालिकामा १० वटा वडा रहेका छन्। नगरपालिकाको पूर्व र दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पश्चिमतर्फ भीमदत्त नगरपालिका र उत्तरतर्फ चुरे पर्वत श्रृंखला पर्दछन्। 

यो नगरपालिका १५९.९२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। नगरपालिका क्षेत्रमा वेदकोट ताल, बण्डताल, सिद्धसरोवर, सिद्धबैजनाथ धाम, शिवलिंगेश्वर, भम्केश्वरलगायतका धार्मिक पर्यटकीय धरोहरहरू रहेका छन्। राना थारू, चौधरी थारू र पहाडी मूलका बासिन्दाको यहाँ मिश्रित बसोबास रहेको छ। थारू र पहाडी समुदायको रहनसहन, कला संस्कृतिले यो क्षेत्र समृद्ध रहेको छ।

नगरपालिका क्षेत्रभित्र रहेका प्राकृतिक सम्पदाको व्यवस्थापन गर्न सकिए यस क्षेत्रले प्रचुर मात्रामा पर्यटकलाई तान्न सक्छ। नगरपालिका क्षेत्रमा १० हजार ६२९ घरघुरीमा ६२ हजार ७९१ जनसंख्याको बसोबास रहेको छ। 

नगरपालिकामा तत्कालीन नेकपा एमालेका तर्फबाट विजयी भएका अशोककुमार चन्द नगर प्रमुखका रूपमा रहेका छन्। चन्द युवा नेता तथा प्रखर वक्ताका रूपमा परिचित छन्। तत्कालीन नेकपा एमालेको युवा संघमा जिल्ला सचिवदेखि केन्द्रीय सदस्य, महाकाली प्रमुख र पार्टीको जिल्ला सचिवालय सदस्य भई उनले जिम्मेवारी सम्हालेका छन्। 

समाजशास्त्रमा स्नातकोत्तर गरेका चन्दले चीन, मलेसिया, बंगलादेश, लाओस र श्रीलंकाको भ्रमण गरी त्यस क्षेत्रको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थालाई नजिकबाट नियाल्ने मौका पाएका छन्। नगर प्रमुख अशोककुमार चन्दसँग नगरपालिकाको आर्थिक समृद्धि र विकासका लागि भए गरेका कार्यहरूबारे थाहाखबरकर्मी राजेन्द्र पनेरुले गरेको कुराकानी प्रस्तुत छ। 

चुनावमा जनतासँग गरिएका बाचा कतिको पूरा भए?

वेदकोट नगरपालिकाको समृद्धि र विकासका निम्ति चुनावमा प्रतिवद्धता व्यक्त गरेका थियौँ। सुरुको वर्ष ७० प्रतिशत प्रतिवद्धताअनुरूपका कार्य अगाडि बढेका छन्। अर्को वर्ष पूरा गर्ने लक्ष्यसहित अगाडि बढेका छौँ। चुनावमा गरिएका प्रतिवद्धतासँगै नागरिकका अपेक्षासमेत बढेका छन्। जनअपेक्षाअनुरूपका कार्य अगाडि बढाउन चुनौती छ तर पनि काम गर्न तत्पर रहेका छौँ।

प्रतिवद्धताअनुसार पहिलो नगरसभाबाट नगरको बृहत्तर विकासका लागि बीस वर्षे गुरुयोजना (मास्टर प्लान) बनाउने कार्य अन्तिम चरणमा पुगेको छ। नगर यातायात गुरुयोजना बनाउने कार्य सम्पन्न भएको छ। खेलकुदका लागि रंगशालासहितको कभर्ड हल, क्रिकेट स्टेडियम, नगर अस्पताल बनाउने कार्य अगाडि बढेका छन्। प्रत्येक वडामा स्वास्थ्य इकाई बनाउने, खानेपानी, सडक विस्तार, स्तरोन्नति, पर्यटकीय क्षेत्रको विकासलगयातका कार्य अगाडि बढेका छन्। स्वास्थ्य, शिक्षा, कृषि र पशुका लागि जनअपेक्षाअनुरूप कार्य भइरहेका छन्। 

जनअपेक्षाअनुरूप कार्य अगाडि बढाउनका लागि केके चुनौती छन्?

केन्द्र र प्रदेश सरकारले बजेटको ठूलो हिस्सा आफैँसँग राख्ने र स्थानीय तहलाई दायित्व मात्रै थप्ने कार्यले निकै सस्या रहेको छ। दायित्व थपिँदै जाने तर त्यसअनुरूप बजेट नहुँदा चाहेर पनि योजना कार्यान्वयन गर्न चुनौती छ। नमुना कानुन आउन ढिलाइ हुँदा नगरपालिकामा सञ्चालित योजनाहरू ढिलो गरी कार्यान्वयनमा आएकाले निर्धारित समयमै पूरा गर्न निकै चुनौती छ।

केन्द्र र प्रदेशसँग नबाझिने गरी कानुन निर्माण गर्नुपर्ने भएकाले पनि प्रदेशको कानुन आउन ढिलाइ हुँदा कानुनी जटिलता बढेको छ। केही कानुनहरू निर्माण गरी लागू भएका छन्। अर्को समस्याका रूपमा कर्मचारी व्यवस्थापनको रहेको छ। लामो समयसम्म मुख्य प्रशासकीय अधिकृतको व्यवस्था नहुँदासमेत समस्या थियो, हाल अधिकृतको व्यवस्थासँगै त्यो समस्या हटेको छ। 

तपाईं खेलकुदप्रेमी हुनुहुन्छ। खेलकुद क्षेत्रका लागि केके कार्य अगाडि बढाउनुभएको छ?

खेलकुदका लागि रंगशालासहितको एक करोड ३५ लाख रुपैयाँको लागतमा कभर्ड हल निर्माणको कार्य अगाडि बढेको छ। जुन यसै वर्ष सम्पन्न गर्ने लक्ष्य लिएका छौँ। भम्केनी मन्दिरको पछाडिपट्टि क्रिकेट स्टेडियम बनाउनका लागि जग्गाको चार किल्ला छुट्याउने कार्य पूरा भएको छ। स्टेडियम बनाउनका लागि थप जग्गाको आवश्यकता थियो। जग्गा प्राप्तिसँगै डीपीआरको कार्य अगाडि बढाइएको छ।

प्रत्येक वडामा खेलकुद मैदान निर्माणका कार्य भइरहेका छन्। राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीका परिवारबाट लिने कर छुटका लागि सूचीकृत गर्ने कार्य सुरु भएको छ। पदक विजेता खेलाडीलाई सम्मान गर्ने कार्य गरेका छौँ। युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नका लागि खेलकुद सामग्री उपलब्ध गराउने कार्यसमेत भएका छन्। 

यो नगरपालिका पर्यटकीय नगरीका रूपमा समेत परिचित छ। पर्यटकीय क्षेत्रको विकासका लागि भएका प्रयास के के छन्?

नगरपालिका क्षेत्रभित्रका पर्यटकीय क्षेत्रको प्रचार-प्रसार गर्नका लागि चोरपानी क्षेत्रमा पर्यटनका लागि सूचना केन्द्र स्थापना गरिएको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि कार्यहरू अगाडि बढाइएका छन्। प्रसिद्ध वेदकोट ताल क्षेत्रको दृश्य नियाल्नका लागि भ्यू टावर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। वेदकोट ताल सरसफाइ गर्ने, त्यस क्षेत्रमा पार्क निर्माण गर्ने, खानेपानीको व्यवस्था गर्ने, ताल संरक्षणका लागि टेवा, पर्खाल निर्माण गर्ने कार्यलाई अगाडि बढाउने योजना छ। सबैभन्दा बढी पर्यटकको चाप रहेको शिवलिंगेश्वरमा प्रवेशद्वार र पर्यटकका लागि सेल्फी प्वाइन्ट निर्माण गर्ने कार्य पूरा भएका छन्। यस क्षेत्रमा धर्मशाला, मन्दिर निर्माण, पार्क, शौचालय, खानेपानी, टिकट घर, चौकीदारको व्यवस्था र पिकनिक स्पट निर्माणका कार्यका लागि योजना बनाई आगामी वर्षदेखि कार्य सुरु हुन्छन्। 

वेदकोट, लिपना र शिवलिंगेश्वरसम्म केबुलकारले जोड्नका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्ने कार्य अगाडि बढाइएको छ। वेदकोट ताल र लिंगा जोड्नका लागि जैविक मार्ग बनाउन कार्य अगाडि बढाउनका लागि वातावरणीय प्रभाव मूल्यांकनका कार्य अगाडि बढेका छन्। भम्केश्वर मन्दिरको छेउमा भव्य मन्दिर बनाउने कार्यसँगै बन्दा तालसँगै जोडिएको चुनेपानीमा तीर्थयात्री बस्न घर निर्माण गरिरहेका छौँ। धार्मिक मठ मन्दिर निर्माणका काम बजेट थोरै भए पनि अगाडि बढेका छन्। राना थारू समुदायका सांस्कृतिक महत्त्वका कुराहरूको जगेर्ना गर्ने वेशभूषा बचाउनका लागि कार्य अगाडि बढेका छन्। 

प्रदेश ७ को औद्योगिक क्षेत्र स्थापनाका लागि भएका प्रयासमा यहाँबाट के के हुँदैछ? 

प्रदेश ७ को गौरवको आयोजनाअन्तर्गत स्थापना हुन लागेको औद्योगिक क्षेत्रका लागि डीपीआर र वातावरणीय प्रभाव मूल्यांकनका कार्य एकै साथ अगाडि बढेका छन्। अहिले अन्तिम चरणमा पुगेका छन्। औद्योगिक क्षेत्र सरकारको नीतिअनुरूप अगाडि बढेको छ। औद्योगिक क्षेत्रसम्म पुग्ने सडकको ट्र्याक खोल्ने कार्य नगरपालिकाकै पहलमा सुरु भएको छ। केन्द्र र प्रदेश सरकारले औद्योगिक क्षेत्रका लागि बजेटको व्यवस्था गरेकाले कार्य आगाडि बढ्नेमा आशावादी छौँ।

औद्योगिक क्षेत्रको कार्य अगाडि बढाउनका लागि वन मन्त्रालय, उद्योग मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयसम्म गुहारेका छौँ। सबै क्षेत्रबाट कार्य अगाडि बढाउनका लागि अश्वासन पाइएको छ। औद्योगिक क्षेत्रका कार्य अगाडि बढे दुई हजार बढी युवाहरूले रोजगारी पाउने भएकाले नगरपालिका क्षेत्रमा व्याप्त बेरोजगारीको समस्या निकै कम हुन्छ।

नगरपालिका क्षेत्रभित्रका सडकको अवस्था कस्तो छ? सडकको स्तरोन्नतिका लागि के के कार्य भएका छन्?

नगरवासीलाई सहज रूपमा आवतजावतका लागि सडक विस्तारसँगै स्तरोन्नतिका कार्य अगाडि बढाइएका छन्। सडक फराकिलो पार्ने, ग्राभेल राख्ने, अतिक्रमणमा परेका सडक अतिक्रमणमुक्त गर्ने र आवश्यकता भएका ठाउँमा नयाँ सडक खोल्ने कार्य पूरा भएका छन्। वर्षातका बेला हिलाम्मे हुने र खाल्डाखुल्डीका कारण सवारीका साधन गुडाउन नसकिने सडकको स्तरोन्नति गरी सडकको अवस्थामा सुधार गरिएको छ। प्रत्येक वडामा सडक कालोपत्रे भएका छन्। स्तरोन्नति र कालोपत्रेको कार्य पूरा हुन नसकेका सडकको कार्य अगामी वर्ष पूरा गर्ने लक्ष्य लिएका छौँ। 

शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनका क्षेत्रमा भएका प्रगति के के छन्? 

शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिका क्षेत्रभित्रका १८ भन्दा बढी विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ। अर्को वर्ष सबै विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरिसक्ने योजना छ। विद्युतीय हाजिरीको व्यवस्था भएका विद्यालयको शिक्षाको गुणस्तरमा सुधार आएको छ। तह लगाउन नसकिएका शिक्षकलाई विद्युतीय हाजिरीले तह लगाएको छ। शिक्षा क्षेत्रलाई व्यवस्थित गर्नका लागि नगरस्तरीय शिक्षा समिति गठन गरिएको छ। शैक्षिक क्यालेण्डर बनाएर शिक्षाका गतिविधिलाई अगाडि बढाइएको छ। सीपमूलक र आयमूलक कार्यलाई जोडेर नगरपालिकाका युवाहरूलाई स्वरोजगार बनाउनका लागि प्राविधिक शिक्षालय स्थापनाका लागि पहल गरिरहेका छौँ।

नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गरी घर नजिकै स्वास्थ्य सेवा पुर्‍याउनका लागि कार्य अगाडि बढेका छन्। नगर स्वास्थ्य केन्द्रमा नवजात शिशु स्वागत कार्यक्रमअन्तर्गत स्वास्थ्य केन्द्रमा शिशुलाई जन्म दिने आमालाई एक हजार रुपैयाँ नगरपालिकाका तर्फबाट उपलब्ध गराइने व्यवस्था गरिएको छ। किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनका लागि साना सिँचाइअन्तर्गत विद्युतीय मोटर जडानसँगै बोरिङ जडान गरिएका छन्।

कृषिलाई आधुनिक बनाउनका लागि अनुदानमा कृषि यन्त्र वितरण गर्ने, बिउबीजन प्रदान गर्ने र तालिम दिने कार्य गरिएका छन्। किसानका खेतखेतमा पानी पुर्‍याउन महाकाली सिँचाइ परियोजनाको तेस्रो चरणको कार्यअन्तर्गत पुतली बजारसम्म कार्य अगाडि बढेको छ, जुन तीन वर्षभित्र पूरा हुनेछ। 

व्यावसायिक पशुपालन गर्ने किसानलाई अनुदान दिने कार्यसमेत गरेका छौँ। छाडा पशुका लागि घर निर्माण भएको छ। असार महिनाभित्रै छाडा चौपाया व्यवस्थापनको कार्य पूरा गर्छौं। छाडा चौपाया जति व्यवस्थापन गरे पनि छाड्ने कार्य रोकिएको छैन। त्यसै कारण वैज्ञानिक तरिकाले व्यवस्थापनको कार्य अगाडि बढाउँदै छौँ। 

नगरको बृहत्तर विकासका लागि पञ्चवर्षीय योजनाअन्तर्गत कुनकुन कार्यलाई अगाडि बढाइएको छ? 

पञ्चवर्षीय योजनाअन्तर्गत नगरपालिका क्षेत्रमा पचास शय्याको अस्पताल बनाउने कार्य अगाडि बढेको छ। यसको डीपीआर निर्माणको कार्य पूरा भएको छ। वेदकोट उद्यान बनाउँदै छौँ, जसमा स्विमिङ पुल, वाइफाईको व्यवस्था र पुस्तकालयको व्यवस्था गर्दैछौँ। नगरपालिकाका पूरै वडाहरू जोड्नका लागि चक्रपथ निर्माणको कार्य अगाडि बढाइएको छ। चक्रपथ निर्माणका लागि डीपीआर बनाउने कार्य अन्तिम चरणमा पुगेको छ। नगरपालिका क्षेत्रमा ठूलो लगानीका आठवटा पुल निर्माण भइरहेका छन्। थप पाँचवटा पुल केन्द्र र प्रदेश सरकारसँग माग गरेका छौँ। सबै वडाका वासिन्दालाई शुद्ध पेय जल उपलब्ध गराउनका लागि खानेपानीका आयोजनाहरू अगाडि बढाइएका छन्। तीन वर्षभित्रै खानेपानी आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ। 

घाडीघाच क्षेत्रमा निकै खानेपानीको समस्या रहेकाले ओझाखाली, लिपनालगायत क्षेत्रमा खानेपानीका आयोजना अगाडि बढाउँदै छौँ। कृषिलाई आधुनिकीकरण गरी खाद्यान्न, तरकारी र फलफूलमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि योजनावद्ध रूपमा कार्य अगाडि बढाउँदै छौँ। नगरपालिका क्षेत्रमा फन पार्क, वाटर पार्क, योग केन्द्र बनाउनका लागि आगामी बजेटमा सम्बोधन गर्छौं।  

यसका अतिरिक्त प्राविधिक शिक्षालय स्थापना गर्ने, बस पार्क निर्माण गर्ने, अव्यवस्थित बसोबासलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्ने, औद्योगिक क्षेत्र स्थापना गरी युवाहरूलाई रोजगारी प्रदान गर्ने, प्रत्येक वडालाई कृषि, पशुपालन र पर्यटनका क्षेत्रका रूपमा पहिचान गरी कार्य अगाडि बढाई नमुना बनाउने, गरिबी निवारण गर्ने र आधारभूत आवश्यकता पूर्तिका लागि योजना सञ्चनलन गरिनेछन्। सामाजिक संघसंस्था र सामुदायिक वनसँग मिलेर कार्य गरी नगरपालिकालाई जिल्लाकै नमुना बनाउन चाहन्छौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.