|

वीरगन्ज : वडा  सदस्यहरूको बहिस्कारका बीच वीरगन्ज महानगरपालिकाको दोस्रो नगरसभामा झण्डै पाँच अर्बको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ। नगरप्रमुख र उनका निकटका वडाध्यक्षहरूले सुनियोजित ढंगले ल्याएको भनी केही वडाध्यक्ष सहित वडासदस्यहरूले बहिस्कार गरेको नयाँ बजेट, नीति तथा कार्यक्रम कुल चार अर्ब ९४ करोड ३१ लाख ७७ हजारको प्रस्तुत गरिएको छ। 

प्रस्तुत बजेटमा ४२ करोड ७३ लाख ८३ हजारको आम्दानीको श्रोत भने महानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खुलाउन सकेको छैन। यो आन्दानी कहाँबाट जुटाउने भन्ने अन्योलमा नै रहे पनि खर्च भने सोभन्दा पनि बढी अर्थात चार अर्ब ९७ करोड ८१ लाख ७७ हजार रुपैयाँको प्रस्तुत गरिएको छ। यो भनेको कुल आयको दायराभन्दा साढे तीन करोडले बढि हो।

स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि प्रस्तुत गरिसक्नु पर्ने नयाँ बजेट, नीति तथा कार्यक्रमको समय सीमामा रहेर नै आइतबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रम वीरगन्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले सार्वजनिक गरेकी हुन्।

सार्वजनिक प्रस्तुत कार्यक्रममा आय तर्फ विभिन्न परियोजना कार्यान्वयनका बैदेशिक श्रोत तर्फबाट रु. दुर्इ अर्ब ६१ करोड ८२ लाख ९५ हजार, नेपाल सरकारबाट सशर्त अनुदान ५५ करोड, केन्द्र सरकारका कार्यक्रमहरूबाट रु २५ करोड ४६ लाख ७६ हजार, नगर विकास कोषको पूर्वस्वीकृत ऋणबाट रु २३ करोड ३५ लाख २७ हजार र प्रदेश सरकारबाट सशर्त अनुदान रु तीन करोड रहेको छ।

त्यसैगरी नेपाल सरकारको समानीकरण अनुदानबाट रु ४३ लाख १७ हजार, प्रदेश सरकारको समानीकरण अनुदानबाट रु ७७ लाख ९९ हजार र राजश्व बाँडफाँडबाट २२ करोड १८ लाख २० हजार तथा महानगरको आन्तरिक आयमा कर, सेवा शुल्क र दस्तुरबाट रु ५९ करोड ५३ लाख ६० हजार आय हुने अनुमान रहेको महानगर उपप्रमुख कार्कीले बताइन्।

व्ययतर्फ पूँजिगत खर्चमा तीन अर्ब ५१ करोड ४३ लाख ८५ हजार र चालु खर्च तर्फ १ अर्ब ४४ करोड ७९ लाख नौ हजार हुने महानगरपालिकाको अनुमान छ। यो भनेको कुल व्ययको ७०.६ प्रतिशत पूँजिगत तर्फ हो भने २९.१ प्रतिशत चालु तर्फ हो।

त्यसैगरी  वित्तीय व्यवस्था खर्च एक करोड ५८ लाख ८३ हजार पनि व्यय तर्फ महानगरले अनुमान प्रस्तुत गरेको छ। यो भनेको कुल व्यय तर्फको ०.३ प्रतिशत रहेको महानगरपालिकाकी उपप्रमुख काकीले बताइन्। आन्दानीभन्दा खर्चको व्ययभार ठूलो देखिएको सन्दर्भमा भने उनले चालु आर्थिक बर्षको अन्त्यमा हुन सक्ने सञ्चित कोषबाट व्यहोर्ने उल्लेख गरिन्।

नगरसभामा स्थानीयको न्यून उपस्थिति 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा भएको दोस्रो नगरसभाको उद्घाटन शत्रमा नगरवासीको उल्लेख्य सहभागीता देखिएन्। ३२ वडा रहेको वीरगन्ज महानगरपालिको नगरसभा गृह आधाभन्दा बढी खाली रहेकै अवस्थामा दोस्रो नगरसभाको उद्घाटन शत्र सकिएको छ।

उद्घाटनपछि लगत्तै बन्द शत्र चल्ने भनी कार्यक्रममा नै सूचना जारी गरिएको भए पनि सबै वडा सदस्यहरूको उपस्थिति नहुँदा आइतबारको बन्द शत्र स्थगित गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म कुमार भुषालले बताए।

नगरसभा हुँदा बजार क्षेत्रका जिम्मेवार मानिसको समेत उपस्थिति नहुनुलाई स्थानीयले भने गएको स्थानीय तहको निर्वाचन पूर्व नगरप्रमुख सरावगीले जनता सामु गरेको ‘मेरो कसम' भन्ने प्रतिबद्धता कुनै पूरा नभएकोले लाजले सबैलाई सूचना जारी नगर्दा सहभागीहरूको संख्या कम भएको स्थानीयको तर्क छ।

महानगरपालिकाको नयाँ नीति तथा कार्यत्रममा नयाँ कुराभन्दा पनि पुरानै कुरा बढि समेटिएको प्रदेश-२ का प्रदेश सांसद ओमप्रकाश शर्मा प्रदेश-२ का नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र चौहानलगायतले बताएका छन्।

वडा सदस्यहरूले नै गरे नगरसभाको बहिस्कार

संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सरावगी र उनका केही निकटस्थहरूको मनोपोलीको कारण आफ्ना वडाका कार्यक्रमहरू नपारिएको भन्दै ११० जना वडा सदस्य र केही वडाध्यक्षले समेत महानगरपालिकाको दोस्रो नगरसभा बैठक बहिस्कार गरेका छन्।

नगर प्रमुखलगायत अरू जनप्रतिनीधि सरह आफूहरू पनि जनताबाट निर्वाचित भएर आएको भए पनि उनीलगायत उनका निकटस्थहरूले उपेक्षा गरेपछि आफूहरूले पनि कार्यक्रम नै बहिस्कार गरेको वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२ का वडा सदस्य रमेश प्रसाद कानुले बताए।

यस्तो बताउनेमा उनी एक्ला होइनन्। महानगरको वडा नम्बर ३२ का वडा सदस्य मुनेश प्रसाद यादव र मनोज कुमार गिरीको पनि तर्क उस्तै छ। हरेक वडामा सरसफाइको लागि ट्याक्टरको व्यवस्था गर्न नमान्ने नगरप्रमुख डेड करोडको गाडी किन्न तम्सिएकोले आफूहरूले विरोध गर्न परेको उनीहरूको भनाइ छ। निर्वाचन जितेर सपथ खाँदा नगरपालिकाबाट एक पैसा नलिने भनी उर्दी गरेको एक वर्ष बित्न नपाउँदै उनले लाखौंको डिजेल पेट्रोल र भत्ता बुझिसकेको सडा सदस्यहरूको आरोप छ।

सामाजिक संस्था मार्फद जनताको काम गरिने भए पनि त्यसमा मेयरका पार्टी र निकटस्थहरूलाई सुटुक्क काम दिने गरेको उनीहरूले तर्क गरे। सबै मेयर र उनी निकटका सिमित वडाध्यक्षलाई आफूहरूको अधिकार कटौति गरी दिन नसक्ने वडा नम्बर ४ की वडा सदस्य राधा कार्कीले बताइन्। उनीसँग बसेका उरु महिला वडा सदस्यहरूले पनि उनको भनाइलाई समर्थन गर्दै भनिन् ‘नगरप्रमुखले आफ्नो बानी सुधार्ने प्रतिबद्धता नगरे सम्म यो पटकको नीति तथा  कार्यक्रम पारित हुँदैन।'

उनीहरूले खुल्ला शत्र बहिस्कार गरी उक्त प्रतिकृया दिएको केही घण्टापछि सुरु हुने बन्द शत्र अन्ततः अनिश्चित कालका लागि भाँडिएको छ। नगर प्रमुख सरावगीले भने वडासदस्यहरूले मासिक तलब र बैठक भत्ता बढाई नितान्त व्यक्तिगत स्वार्थको कुरा गरेकोले त्यो मान्न नसकिने हुँदा विवाद बढेको दावी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.