|

खोटाङ : झुठो विवरण पेश गरी नागरिकताको प्रतिलिपि लिन खोज्ने पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय खोटाङको रेकर्डमा उल्लेख नै नभएको नागरिकताको झुठो विवरण पेशा गरी नागरिकताको प्रतिलिपि लिन खोजेको पाइएपछि ऐसेँलुखर्क गाउँपालिका- ६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री पक्राउ परेका हुन्। 

जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको र नागरिकता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर नै नभएको नागरिकताको फोटोकपी पेश गरेर प्रतिलिपि लिन खोजेको पाइएपछि क्षेत्रीलाई पक्राउ गरिएको खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीले बताए। प्रशासनको रेकर्डमै नभएको नागरिकताको प्रतिलिपि पेश गरेर सक्कली प्रतिलिपि लिन खोजेको आधारमा क्षेत्रीलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा बुझाइएको छ। 

२०६३ सालमा बनेको उल्लेख क्षेत्रीको नागरिकता नम्बर ९१९६ उल्लेख छ। साबिकको ज्यामिरे गाउँ बिकास समिति -९ ठेगाना भएका क्षेत्रीको नागरिकताको फोटो कपीमा उनको जन्म मिति २०४२ साल असोज २३ गते तथा बाबुको नाम रामप्रसाद क्षेत्री उल्लेख छ। तर सो नम्बरमा अर्कै व्यक्तिको नागरिकता रहेको प्रशासनले जनाएको छ।

सशस्त्र द्वन्द्वको समयमा २०६२ सालमा प्रशासनको सम्पूर्ण रेकर्ड जलेकाले सोही आधारमा क्षेत्रीले छल गरेर नागरिकताको प्रतिलिपि लिन खोजेको अनुमान गरिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.