मेची पुलसहित हुलाकी मार्गलार्इ ध्यान दिन प्रदेश सांसदको जोड

|

भद्रपुर (झापा) : भारतको सीमावर्ती नाका बंगाल तथा विहार राज्यसँग जोडिएको झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिकाको दोस्रो नगरसभा आइतबार सम्पन्न भएको छ।

नेपालकै सबैभन्दा पुरानो नगरपालिकाको रूपमा परिचित भद्रपुर नगर गाउँ उन्मुख मृत सहरमा परिणत हुन थालेकोले स्थानीय सरकारले यसतर्फ ध्यानकेन्द्रित गरी बार्षिक निति तथा कार्यक्रमको बजेट खर्च गरिनु पर्ने प्रदेश सांसदहरूले जोड दिएका छन्। २००८ सालमा स्थापना भएको भद्रपुर नगरपालिकालाई आर्थिक विकासतर्फ व्युताउँने प्रयास अहिलेसम्म कही कतैबाट नभएकोले अब निर्वाचित जनप्रतिनिधिहरूले काँधमा यसको जिम्मेवारी आएको उनीहरूले बताएका छन्। 

भद्रपुरको आर्थिक विकास लागि कोशेढुंगा सावित हुने नेपाल—भारत जोड्ने सीमामा निर्मित मेची पुल, हुलाकी राजमार्ग, चाराआली—केचना सडक खण्ड, विर्तामोड—भद्रपुर सडक खण्ड, किचकवध धार्मिक तथा पर्यटकिय स्थल, सघन शहरी विकास कार्यक्रम, मेची अञ्चल अस्पताल, मेची बहुमुखी क्याम्पस, भद्रपुर विमानस्थल, कलवलगुरी प्रशिक्षक केन्द्रलगायतको महत्त्वपूर्ण योजना छन्।

नेपालकै पुरानो नगर भद्रपुर मृत सहरको रूपमा परिचित हुने गरेको स्मरण गराउँदै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले भने, '२०१३ सालदेखि जनप्रतिनिधिले यस नगरलाई चलाउँदै आएको छ। ‘तर’ अहिलेसम्म यस नगरले विकासमा फड्को मार्ने सकेको छैन, यसको कमजोरी यहाँ नगरवासी, जनप्रतिनिधि र सरकारले लिनु पर्नेछ, प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा बजेट कार्यक्रममा भद्रपुर क्षेत्रका लागि केही महत्वपूर्ण योजनाहरू पारेका छन्। यसले नगरको आर्थिक विकासमा टेवा पुर्याउनुका साथै आगामी बर्षहरू पनि भद्रपुरको स्तोरउन्ततीका लागि प्रदेश सरकारले बजेट तर्जुमा गर्नेछ।’

पुरानो तथा ऐतिहासिक बोकेको भद्रपुर नगरको विकास लागि जनप्रतिनिधि लागि परे प्रदेश सरकारबाट ल्याउनुपर्ने सहयोगमा आफ्नो भुमिका रहने प्रदेश सांसद बसन्त बानियाँले बताए।

उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा कलवलगुरी प्रशिक्षण केन्द्रलाई प्रदेशस्तरीय तालिम केन्द्र र भद्रपुर विमानस्थलको स्तोरउन्ततीका लागि बजेट छुटाइसकेका छौँ।' भद्रपुरको मेची पुललाई भारत, बंगालदेश र नेपाल गरी त्रिपक्षीय ट्रान्जिट पोइन्ट बनाउन प्रदेश सरकारले आफने योजना अघि सारिसकेको उनले बताए।

त्यस्तै प्रदेश सांसद ओमप्रकाश सरावगीले मेची पुल, हुलाकी राजमार्ग, चाराआली केचना सडक खण्ड निर्माण कार्यमा ढिलासुस्ती भएकोले यसतर्फ जनप्रतिनिधिलाई ध्यानकेन्द्रित गर्न आग्रह गरे। उनले भने, ‘यस बिषयमा प्रदेश सरकार संवेदनशिल छ, तर यहाँको विकासका लागि जनप्रतिनिधिले घच्घचाइ राख्नु पर्ने हुन्छ।’

अहिले पूर्व-पश्चिम रेलमार्गको डिपिआर तयार भइरहेकोले हुलाकी राजमार्गसंगै रेल सेवा विस्तार भए भद्रपुरसहितको दक्षिणी झापाबासीलाई समेत आर्थिक रूपमा फाइदा पुग्ने उनले बताए। 

भद्रपुरको बजेट ७२ करोड ३८ लाख

“पूर्वी क्षेत्रको व्यापारिक द्धार, शान्ति र समृद्धिसहितको भद्रपुर सहर” भन्ने मुल नाराका साथ भद्रपुर नगरपालिका, नगर कार्यपालिकको कार्यालयले आथिृक बर्ष २०७५/०७६ को वार्षिक नीति तथा कार्यक्रमका लागि ७२ करोड ३८ लाख १७ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। चालु आर्थिक बर्ष २०७४/७५ भन्दा करिव १२ करोड रुपैया बजेट बढी हो।

नेपाल सरकारबाट प्राप्त हुने शसर्त अनुदान  र समाजिक सुरक्षा कार्यक्रमसहित चालु खर्च ६५.५५ प्रतिशत र पुँजीगत खर्च ३६.४५ प्रतिशत रहेको भद्रपुर नगरका उपप्रमुख चन्द्रामाया श्रेष्ठले जानकारी दिए। उनका अनुसार आर्थिक विकासतर्फ १ करोड ९६ लाख ७२ हजार, सामाजिक विकासतर्फ ३२ करोड ८० लाख ७६ हजार, पूर्वाधार विकासतर्फ २६ करोड ५१ लाख १ हजार, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड २८ लाख ७६ हजार र संस्थागत तथा सेवा प्रवाह एवम कार्यक्रम सञ्चालनमा एक करोड ८० लाख ९२ हजार रुपैयाँ बरारबको बजेट विनियोजन भएको छ।

राहत उद्धार कोष खडा गरिने

नगरपालिकाको दोस्रो नगरसभाले नगरको हिंसा पीडित महिला, ज्येष्ठ नागरिक तथा बेसहारा बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरलाई व्यवस्थित र हिसांमुक्त बनाउन समाजमा रहेका सामाजिक कुरिती तथा प्रथाहरूलाई हटाउन विशेष पहल गरिनुका साथै खुला रूपमा बेचविखन भइरहेको मदिरा तथा मदिराजन्य सामग्रीहरूको बेचबिखनलाई व्यवस्थित गरिनेछ। साथै हिंसापीडित महिला, जेष्ठ नागरिक तथा बेसहारा बालबालिकाकाहरूको व्यवस्थापनका लागि राहत उद्धार कोष खडा गरिने नगरका उपप्रमुख चन्द्रामाया श्रेष्ठले जानकारी दिइन्।

 कृषि, पर्यटन र औद्योगिक विकासमा विशेष जोड

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा बजेट कार्यक्रममा कृषि, पर्यटन, औद्योगिक र पूर्वाधार विकासमा विशेष जोड दिएका छन्। कृषि विकासतर्फ सम्भाव्य क्षेत्रहरूको पहिचान गरी पकेट क्षेत्रको रूपमा कृषि विकास योजना कार्यान्वय गरिने, खाद्य सुरक्षालाई बढावा निद कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि, फलफुल तथा नगदेवालीलाई प्राथमिकता, कृषि बाली विविधिकरण र यान्त्रिकीकरणद्धारा कृषि विकास कार्यक्रम सञ्चालन, मेची पारि, तरकारी बारीको अवधारणलाई विशेया योजनाका साथ अघि बढाइने नगर प्रमुख श्रेष्ठले बताए।

उनका अनुसार पर्यटन विकासतर्फ पर्यटन गुरुयोजना अनुसार प्रमुख पर्यटकीय गन्तव्यस्थलहरूको सुधार, संरक्षण–सम्बद्र्धन र व्यवस्थित गरिने, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्यटन, ग्रामीण पर्यटन र सिमसार क्षेत्रको विकासहरूमा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ। औद्योगिक विकासतर्फ अन्तरदेशीय व्यापारिक नाकाको रूपमा विकास गर्न भद्रपुर छोटी भन्सारको स्तरोन्नती गरी सुख्खा बन्दरगाहको पूर्वाधार निर्माणमा पहल गरिने, उद्योग स्थापना र विकासको लागि लगानीमैत्री वातावरण सिर्जना गर्दै औद्योगिक ग्राम स्थापनामा पहल गरिनेछ।

पूर्वाधार विकासतर्फ प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरी समपूरक तथा विशेष अनुदानमा आधारित परियोजनाहरू सञ्चालन गरिने र व्यापक जनसहभागिताको आधारमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नका लागि  ५०/५० प्रतिशतको अवधारणमा परियोजना सञ्चालन गरिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.