|

बाँके : भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ का लागि दुई अर्ब ४३ करोड दुई लाख ६३ हजार ३६ रुपैयाँका बजेट सार्वजनिक गरेको छ। तेश्रो नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उप–प्रमुख उमा थापामगरले आगामी आवमा एशियाली विकास बैंक, नगर विकास कोष र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदानबाट प्राप्त हुने एक अर्ब ११ करोडसमेत गरी कुल दुई अर्ब ४३ करोड दुई लाख ६३ हजार ३६ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकी हुन्।

गत आव ०७४/७५ मा ब्ययतर्फ २० करोड ३३ लाख ९२ हजार चालू खर्च भएको जानकारी दिँदै उनले र पुँजीगततर्फ ३२ करोड ३४ लाख छ हजार खर्च भएको जानकारी बताइन्। चालु आर्थिक वर्षको हालसम्मको संशोधित चालू खर्चतर्फ ९० प्रतिशतभन्दा बढी र पुँजीगत तर्फ ८० प्रतिशतभन्दा बढी खर्च हुने अनुमान रहेको छ।

आगामी आव २०७५/०७६ को चालू खर्च तर्फ सशर्त अनुदान तर्फसमेत गरी ५४ करोड चार लाख ५० हजार र पुँजीगत खर्च तर्फ एक अर्ब ८७ करोड १८ लाख १३ हजार ३६ हुने अनुमान नेपालगन्ज उपमहानगरपालिकाले गरेको छ। चालू खर्च करिब २२ प्रतिशत र पुँजीगत खर्च करिब ७८ प्रतिशत हुने अनुमान गरिएको छ। पुञ्जिगत खर्चमा एकीकृत तथा क्षेत्रीय शहरी विकास आयोजनाको करिब १ अर्ब ११ लाख अनुदान र ऋण रकम रहेकोले चालू र पुञ्जिगत खर्चबीचको अनुपातमा भारी फरक देखिएको मेयर डा. धवल शमशेर रणाले बताए। 

कूल आम्दानीको अधिकांश भार केन्द्रीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा दातृ निकायबाट प्राप्त हुने ऋण रहेकोले राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रूपमा लिई कार्यान्वयन गर्ने नीति उपमहानगरपालिकाले अघि सारेको छ।

***

आगामी आवको आन्तरिक श्रोतको आय अनुमान १५ करोड ११ लाख प्रस्ताव गरिएको छ। ‘नेपालगन्ज नेपालको पर्यटकीय द्वारः शिक्षा, स्वास्थ्य, कषि, उद्योग र व्यापार विकासको मुल आधार’ भन्ने नारासहितको सार्वजनिक गरिएको वजेट, नीति तथा कार्यक्रममा नेपालगन्जलाई प्रदेश-५को आर्थिक तथा औद्योगिक नगरीको रूपमा विकास गरि नमूना शहर बनाउने लक्ष्य लिइएको छ। 

नेपालगन्ज शहरलाई व्यवस्थित शहरको रूपमा विकसित गर्न र क्षेत्रीय हव एवं स्मार्ट सिटीको रूपमा विकास गर्दै चक्रपथ निर्माण प्रक्रिया अगाडि बढाउने योजना नीति तथा कार्यक्रममा समेटिएको छ। उपमहानगरपालिकाका सम्पूर्ण सडक पक्की गर्ने, विद्युत, खानेपानी, सरसफाई जस्ता न्यूनतम सुविधा नगरबासीलाई उपलब्ध गराउन विशेष पहल गरिने मेयर डा. राणाले पेस गरेको नीति तथा कार्यक्रममा समेटिएको छ।

त्रिवेणीमोडदेखि न्यूरोड जाने बाटोको पूर्व र पश्चिमतर्फ 'अण्डर ग्राउण्ड' पार्किङसहित सबै सुविधा सम्पन्न विशाल वजार सपिङ कम्पलेक्सका लागि डिपिआर तयार पार्ने र सीटी हल निर्माणका लागि पहल गर्ने लक्ष्य उपमहानगरपालिकाले तयार पारेको कार्यक्रममा समेटिएको छ।

सडकको दाँया-बाँया ग्रिन बेल्टको अवधारणा अनुरुप वृक्षारोपणलाई प्रभावकारी बनाउने, व्यवसायिक रूपमा कृषि र पशुपालन गर्ने कृषकलाई कृषि र पशुजन्य प्रविधि, मल, बीउमा अनुदान दिने एवं विषयगत कार्यालय तथा संघ/संस्थाको समन्वयमा तालिम एवं प्रविधि हस्तान्तरण कार्यक्रमलाई अगाडी बढाईने भएको छ। स्वास्थ्य संस्था/अस्पतालको स्तरोन्नती गरिने सुविधा सम्पन्न रंगशाला निर्माणदेखि पर्यटकमैत्री वातावरण बनाउन संग्रहालय, कोशेली घर र सभागृह निर्माण गरिने अवधारणा पनि अघि सारिएको छ।

नेपालगन्जलाई पर्यटकीय क्षेत्रको हव बनाउन नेपालगन्ज–दिल्ली अन्तर्राष्ट्रिय उडान सुरु गरी नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्न उपमहानगरपालिकाले पहल गर्ने नीति अघि सारेको छ। लक्षित समुदायको आयमुलक, रोजगारमुलक र सिपमुलक खालका क्षमता अभिवृद्धि कार्यक्रम तथा प्रविधि हस्तान्तरण जस्ता कार्यक्रम संचालन गरिने, स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्ने, अवसरबाट बञ्चित भएका वर्गलाई प्रत्यक्ष फाईदा पुग्ने योजनालाई उच्च प्राथमिकतामा राख्दै समग्र विकासमा हातेमालो गर्ने उपमहानगरपालिकाले जनाएको छ।

राजश्व एवम् आन्तरिक स्रोत व्यवस्थापन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयलाई नगर प्रमुख डा. राणाले नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.