|

दाङ : तुलसीपुर उपमहानगरपालिकाले एक अर्व ५७ करोड बढीको बजेट आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरिएको छ। 'खुसी जनता सवृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर राम्रो तुलसीपुर' भन्ने मुख्य नाराका साथ तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले एक अर्ब ५७ करोड ४१ लाख ९१ हजार २७ रुपैयाँ आय अनुमान गरिएको बजेट आइतबार प्रस्तुत गरिन्।

आर्थिक वर्ष २०७४/७५ मा विभिन्न योजना, चालु र पुँजीगत शीर्षकमा एक अर्ब १८ करोड, ३९ लाख १५ हजार ३९७ खर्च हुने अनुमान गरिएकोमा २०७५ असार ७ गतेसम्म खुद खर्च भई ९२ करोड ८३ लाख ८६ हजार ६१ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। २०७५/७६ को बजेटका लागि ७५ वटा विभिन्न शीर्षकमा उक्त रकम खर्च गरिने छ।

 तुलसीपुर उपमहानगरपालिका भित्र भौतिक पूर्वाधार निर्माण गर्न नगर र वडास्तरीय गौरवका योजनाका लागि ३० करोड, तुलसीपुर नगरस्तरीय पुस्तकालय सञ्चालनका लागि ५० लाख, अटोभिलेजका एक करोड, आधुनिक बसपार्क निमार्णका लागि १० करोड, अपाङता तथा विभिन्न समुदायका बालबालिकाहरूको छात्रवृत्तिका लागि २५ लाख र राप्ती शान्ति उद्यान, चमेरे गुफा, थर्कोट, गौरीगाँउ ताल, बबई नदी, कृष्ण मन्दिर पार्कलाई पर्यटकीय स्थल बनाउन एक करोड, तुलसीपुर आविष्कार केन्द्रका लागि २५ लाख विनियोजन गरिएको छ।

यस्तै टोवाको फ्रि टोल विकास संस्था घोषणा गर्न तीन लाख, महिला पहिला अभियान कार्यक्रमका लागि पाँच लाख, तुलसीपुर पूर्वाधार विकास प्राधिकरण बनाइ सडक, पुल आदि पूर्वाधारको संरचना निर्माणका लागि पाँच करोड, तुलसीपुर आईटी पार्क निर्माणका लागि ५० लाख, बेरोजगार युवाहरूको तथ्याक संकलन गरी युवा स्वरोजगार कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ।

अस्वारामा भ्यूटावर ,कमल पोखरी फन पार्क,सार्वजनिक पार्क निर्माणका लागि २५ लाख बिनियोजन गरिएको छ। तुलसीपुर १० ठुटीदेखि हस्नापुर हुँदै दामोदर रोड जोड्ने श्रीमणी मार्ग सडक कालोपत्रेका लागि ५० लाख, तुलसीपुर तीन हर्नेटीदेखि चमेरे गुफासम्म पर्यटन मार्गका लागि २० लाख र तुलसीपुर १० वनगाँउदेखि वडा नम्वर ११ नवलपुर हुँदै मोतिपुरसम्म कालोपत्र सडक निर्माणका लागि ४० लाख रकम विनियोजन गरिएको छ।

तुलसीपुर चक्रपथ निर्माणका लागि प्रदेश सरकारको तीन करोड र उपमहानगरपालिकाको दुर्इ करोड गरी पाँच करोड, छिल्लीकोटलाई पर्यटकीय गन्तब्यको विकास गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विधेयक प्रस्तुत

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पनि प्रस्तुत गरिएको थियो। जसमा सम्पत्ति कर, भूमि कर(मालपोत), घर जग्गा वहाल कर, व्यवसाय कर, जडीबुटी, कवाडी र जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, वहाल बिटौरी कर आन्तरिक आर्थिक स्रोतका रूपमा विधेयकमा प्रस्तुत गरिएको छ।

यस्तै पाकिङ शुल्क, ट्रेकिङ, कायोकिड, क्यानोईङ, बन्जी जम्पिङ, जिपफ्लायर र र्‍यागफटिङ, सेवा शुल्क दस्तुर, बिक्रि तथा निकासी शुल्क, पर्यटन शुल्क, लगानीबाट प्रतिफल, कर छुट, कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधिमा १८ वटा शीर्षकमा कर असुलीसम्बन्धी विधेयकका बुँदाहरू प्रस्तुत गरिएको छ।

सोही अवसरमा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७५/७६ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र निनियोजन गर्ने सम्बन्धमा व्यवस्थागर्न बनेको ऐनसमेत प्रस्तुत गरिएको थियो। प्रस्तुत बजेटमाथिको दफावार छलफल अर्को सूचना जारी नगर्दासम्म स्थगित गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.