पाँच महानगरको ३२ अर्ब ३० करोडको बजेट

|

काठमाडौं : सबैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७५ /०७६ को बजेट आइतबार सार्वजनिक गरेका छन्। कानुनले नै स्पष्ट रूपमा असार १० भित्र नगरसभा तथा गाउँसभामा बजेट प्रस्तुत गरिसक्ने उल्लेख गरेकोले स्थानीय तहको बजेट असार १० गते नै सार्वजनिक गरिएको हो।

त्यसोत केही स्थानीय तहले भने ९ असारमा पनि बजेट प्रस्तुत गरे। तर छवटा महानगरमध्येको एक ललितपुर महानगरपालिकाले भने आइतबारसम्म पनि नगरसभा तथा व्यवस्थापिकामा बजेट पेश गर्न सकेन। ललितपुर महानगरपालिका मात्रै हैन केही गाउँपालिका र नगरपालिकाले पनि आइतबार बजेट पेश गर्न असफल भएका छन्। प्राविधिक कठिनाई र थप तयारी आवश्‍यक परेको भन्दै ललितपुर महानगरपालिकाले नगरसभामा बजेट नलगेको जानकारी गराएको छ। 

'गाउँ र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको सम्वन्धित गाउँ वा नगर सभामा पेश गर्नु पर्नेछ।' स्थानीय तहको बजेट सम्वन्धमा व्याख्य गरिएको अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा उल्लेख गरिएको छ। तर ललितपुर महानगरपालिकाले आइतबार कार्यपालिमा मात्रै बजेट छलफलमा लगेको छ। कार्यपालिकाबाट थप संशोधनसहित बजेट स्वीकृत गरेर 'व्यवस्थापिका' तथा नगरसभामा लैजाने तयारी भएको कार्यकारी अधिकृत हरिप्रसाद दाहालले जानकारी गराए।

'हामीले केही प्राविधिक कारण र तयारी कम भएको कारण हामीले औपचारिक रुपमा बजेट पेश गर्न सकेका छैनौं' दाहालले भने 'कार्यपालिकामा पेश गर्‍यौ। पुन फिर्ता नहोस भनेर व्यापक छलफलबाट मात्रै नगरसभामा बजेट लैजान्छौँ।' उनले सबै स्थानीय तहको बजेट असार मसान्तपछि मात्रै कार्यान्वयनमा आउने र त्यो समयभित्र पेश गर्नु पर्ने भएको कारण नगरसभामा पेश नहुँदा समस्या नहुने बताए।

संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया कानुनअनुसार असार १० भित्रनै बजेट पेश गर्नु पर्ने भए तापनि नगर्दा के हुन्छ भन्ने विषयमा जवाफ नभएको बताए। 'असार १० भित्र कार्यपालिकाले व्यवस्थापिकामा बजेट पेश गर्ने भनेको छ तर नगर्दा के हुने भन्ने विषयमा उल्लेख गरिएको छैन' थपलियाले भने।

उनले तर असार मसान्तभित्र बजेट पास भइसक्नु पर्ने र नहुँदा के गर्ने भन्ने विषयमा भने स्पष्ट उल्लेख भएको बताए। 'असारमसान्त भित्र बजेट पास भएन भने स्थानीय तहले साउनदेखि खर्च गर्न पाउँदैन' थपलियाले भने 'कानुन बनाउँदा नै सकभर समयमै बजेट पेश गर्ने भएन भने पनि असार मसान्तभित्र पास गर्नै पर्ने बाध्यता राखेको जस्तो देखियो थपलियाले बताए।

ललितपुर महानगरपालिकाका कार्यकारी अधिकृत दाहाल व्यवस्थापिकाबाट बजेट फिर्ता नआओस भन्ने उद्देश्‍यले नगरसभामा बजेट लैजान हतार नगरेको बताए। 'हामीले व्यापक छलफल गरेर स्पष्ट दृष्टिका साथ बजेट प्रस्तुत गर्‍यौ भने फिर्ता हुँदैन भनेर हतार नगरेका हौँ' दाहालले भने।

दाहालका अनुसार कार्यपालिका चार अर्ब ७० करोड रुपैयाँको बजेट छलफलमा लगिएको छ भने पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ। यो अंक र कार्यक्रम छलफलपछि मात्रै टुंग्याइने छ।

पाँच महानगरको बजेट अंक

आइतबार सार्वजनिक गरिएको पाँच महानगरपालिकाको बजेट ३२ अर्ब ३० करोड भन्दा धेरै रकमको छ। झण्डै आधा बजेट काठमाडौं महानगरपालिकाको रहेको छ भने सबै भन्दा थोरै बजेट भरतपुर महानगरपालिकाको रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.