|

कार्यालय पुगेर हाजिरी मेसिनमा बुढी औंला घुसारेर निकाल्दै थिएँ, ‘मेसिन’वालीको मधुर ‘थ्यान्क यू’ को स्वरसँगै ‘घिरिक्क’ आवाज सुनियो। भित्र शौचालयको ढोका खुलेको संकेत थियो त्यो। एक मित्र निस्किए, बाहिर आए र हतार हतार दाहिने हात तेर्स्याए, ‘हेलो सर !’

अप्ठ्यारो लागी लागी हात दिएँ जोडले समातेर हल्लाएर छोडिदिए। चर्पीबाट निस्कँदा निस्कँदै हात दिएकोमा मनमनै मित्रप्रति रिस उठ्यो। बोलिन। तै पनि फिस्स हाँस्नै पर्‍यो।   

हात मिलाएर उनी आफ्नो कोठामा लागे तर आफ्नो औंलामा भने चिसो चिसो अनुभव भयो। शौच गरेर हात धोएका भए पूरै चिसो हुनुपर्ने। कुरा बुझ्न कठिन थिएन।घिन लाग्यो। हतार हतार धारामा गएर साबुनपानीले हात धोएँ।

मित्रदेखि रिस पनि उठ्यो, ट्वाइलेटबाट निस्कँदानिस्कँदै पनि के हात मिलाउनु! लघुशौच (पिसाब) गरेपछि पनि हात धुने हाम्रो चलन खै कहाँ गएछ? ‘रेस्ट रुम’भित्र काम सक्यो निस्क्यो। केही वस्तुमा हात हाल्नु छ कि, केही खानु छ कि, कसैसँग हात मिलाउनु छ कि गर्‍यो। यस्तो चलन पो छ अचेल!

हात मिलाउँदा के गरेर आएको हो पत्तै नहुने। दीर्घशंका(दिसा) गरेपछि र अन्य देखिने किसिमका फोहोर गरेपछि साबुनपानीले धुने अरु सानातिना काम गरेपछि त्यति वास्ता गरिँदैन। हाच्छिउँ गर्दा र खोक्दा मुख हातले छोप्नु भन्छन्, चिकित्सकहरू। जहीँतहीँ हात धुन नि सम्भव हुँदैन। अनि त्यही हात अर्काको हातमा मिलाइदियो। एकको हातमा रहेका नदेखिने फोहोर र तिनमा भएका किटाणु अर्काकोमा सर्ने जोखिम उत्तिकै।

सानाले ठूलालाई भेटे नमस्कार गर्ने ठूलाले फर्काउने चलन त अझै कतैकतै बाँकी नै छ। नत्र जसलाई पनि ‘हेलो’। मान्नुपर्नेको पनि आदर छैन। सानालाई मायालु व्यवहार छैन। साथीभाइ भेट हुँदा जसले पहिले देख्छ, उसले नमस्कार नै गरे भइहाल्यो। अभिवादनको हाम्रो मौलिक शैली हो क्यारे!

परपुरुष र परनारीबीच हात मिलाउने कार्यलाई सनातन धर्मले निषेध गरेको रहेछ। किन?  यसको चर्चा अागामी बसाइमा गर्दै गरुँला। एउटै समाधान, नमस्कार।

केक काट्नेहरूले नबुझेको हो कि बुझेर पनि बुझ पचाएको हो, झिरझिरे बत्ती बालेर निभ्दासम्म कति रासायनिक पदार्थ खसेर केक प्रदूषित बन्दो हो। अर्कातिर एउटाको मुखमा हाल्दै अर्काको मुखमा हल्दै गर्दा एउटाको मुखमा भएको रोग अर्कोमा सर्दो होला। फेरि केकको ‘बटर’ मुखमा दलिदिएको देख्दा त झन् उदेक लाग्ने। खाने पदार्थ मुखभरि दलेर के जात्रा गरेको होला?

केक काट्ने संस्कृतिप्रति वितृष्णा

प्रत्येक महिना अफिसले कर्मचारीको जन्मदिन मनाइदिन्छ। जन्मदिन त के भनुँ जन्ममहिना मनाउने तारतम्य मिलाइदिन्छ, त्यो महिनामा जन्म भएकाहरू सबैको एकमुष्ठ रूपमा। सहकर्मीहरू एकै ठाउँमा भेला हुँदा रमाइलै हुन्छ। तर आफूलाई केक काट्ने मैनबत्ती बालेर निभाउने संस्कृतिमा रुचि नै छैन। सहभागी हुनै पर्‍यो। साथीहरूलाई बधाइ दिनै पर्‍यो। सहभागिता नजनाउँदा बधाइ नदिँदा साथीहरू रिसाउने। बेवास्ता गरेजस्तो हुने।

जन्म महिनावालाहरूले बत्ती बालेर निभिसकेपछि हतियार लिई केकतिर हात अघि बढाउँदा नबढाउँदै मचाहिँ पछि विस्तारै विस्तारै पछि पछि सरिसकेको हुन्छु, केकको टुक्रा कति  मित्रहरूको मुखमा पर्दै पर्दै मेरा मुखमा पनि आउला भन्ने डरले। कारण, एकातिर केकमा हालेको अण्डालाई अभक्ष्य मान्ने र अर्कातिर जुठो एक एक गरेर खाएको मन नपर्ने।

गएको फागुन महिनामा आफ्नो जन्मदिन मनाइँदै थियो, विदा लिएर बसियो घरतिरै। मन नपरेर भाग्नेको नाममा पनि लेखिएछ, केकमा।  

केक काट्नेहरूले नबुझेको हो कि बुझेर पनि बुझ पचाएको हो, झिरझिरे बत्ती बालेर निभ्दासम्म कति रासायनिक पदार्थ खसेर केक प्रदूषित बन्दो हो। अर्कातिर एउटाको मुखमा हाल्दै अर्काको मुखमा हल्दै गर्दा एउटाको मुखमा भएको रोग अर्कोमा सर्दो होला। फेरि केकको ‘बटर’ मुखमा दलिदिएको देख्दा त झन् उदेक लाग्ने। खाने पदार्थ मुखभरि दलेर के जात्रा गरेको होला?

जन्मदिन मनाउने हाम्रो आफ्नै परम्परा छ,बत्ती निभाएर होइन बालेर उत्सव मनाउने। बिहान अष्टचिरञ्जीवीको पूजा गर्ने। मान्यजनबाट आशीर्वाद लिने, बत्ती जस्तै स्थिर होऊ, प्रज्ज्वलित होऊ, कीर्ति फैलाऊ इत्यादि। काट्ने, एकअर्काको जुठो खाने चलनलाई संस्कृति मानेर पश्चिमाको संस्कृति अन्धानुकरण गर्नुभन्दा सम्भव भएसम्म घरमै बनाएको, नभए बजारबाट शुद्ध र ताजा लड्डु ल्याई साथीभाइलाई बाँडेर जन्मदिन मनाउनु बेस। जन्मदिन मनाउनेको मुखमा क्वाप्प लड्डु हालिदिने। अरुलाई पनि ख्वाउने। तर एउटाले टोक्दै अर्काले टोक्ने होइन। सिंगै सिंगै खाने।

कमोडमा बसेर कसरी गर्ने शौच?

लघुशौच (पिसाब गर्न) सम्म त ठिकै। दीर्घशौचका क्रममा कमोडमा बसेर गर्न साह्रै अप्ठ्यारो। सामान्यतय बिहान नियमित दीर्घशंका गर्ने हुँदा दिनमा बाहिर गर्ने आवश्यकता पर्दैन। कहिलेकाँही गाह्रोसाह्रो परेर कार्यालय वा अन्य ठाउँमा दीर्घशंका गर्नुपर्ने अवस्था आउँदा।‘कपडा खोलेर कमोडमा बस्यो’, साथीहरू भन्छन्, ‘आनन्दले काम पूरा गर्‍यो।’ तर आफू त जानिँदै जानिँदैन। कमोडमा बसेर दीर्घशौच गर्दा शुरुमै कमोडमा रहेको पानी जीउमा पर्ने। अझ कपडैसम्म पुग्ने। सिकसिक लागेर कतिखेर उठूँजस्तो हुने।

मैले नबुझेको कुरा, पुरुषहरू त लघुशंका गर्दा उठेर गर्न सक्छन्, महिला त बस्नै पर्छ। जति नै सफासुग्घरको कुरा गरे पनि कमोडको माथिसम्मै आँखाले नदेख्ने किटाणु आउन सक्छन्। बसेको भाग हुँदै संवेदनशील अंगमा पस्न सक्छन्। त्यसैले संक्रमण हुने सम्भावना हुन्न र ! झन् धेरैबेर बस्दा (दीर्घशौच गर्दा) त्यो खतरा अझ बढ्छ होला।

अहिलेको कमोडमा भन्दा पुरानै शैलीमा शौच गर्नु स्वस्थकर भएको पत्ता लगाएका विभिन्न अनुसन्धानले पनि देखाएका छन्, बसाइका हिसाबले शरीरमा पर्ने असरको दृष्टिले। यस्ता कुरा गर्दा ‘पिछडिएको, आधुनिक हुन नसकेको आरोप पनि खेप्ने गरिएकै छ।

टाईमैत्री हुन सकिएन

सरकारी विद्यालयमा पढियो। टाई लगाउनै परेन। क्याम्पसमा पढ्दा दुईचार दिन लगाइयो होला। बिहेमा दौरा सुरुवाल लगाइयो। लगाइएन भन्न हुँदैन, दिदीबहिनीको करकापमा भोलिपल्ट परेर एकदिन भिरियो। अब कहिल्यै नलगाउने वाचा गरिएको छ। अरे बाबा, टाई नलगाए राम्रै भइन्न र भन्या! टाई नलगाउने मान्छे नि राम्रै देख्छु। 

एनजीओलगायत विदेशी पैसा आउने संघ संस्थामा त अनिवार्य नै होला। अन्तर्राष्ट्रिय स्तरको पढाउँछौँ भन्ने देखाउन अंग्रेजी माध्यमका स्कुललाई होला तर मैले नबुझेको कुरा, सरकारी विद्यालयका विद्यार्थी, टेलिभिजनमा समाचार पढ्ने\कार्यक्रम चलाउने प्रस्तोता, ट्राफिक प्रहरी र सरकारका सचिव, मन्त्रीले पनि त्यो भिर्नैपर्ने बाध्यता किन बनाइएको होला।

भनिरहन परोइन, टाई कुनै एक धर्मको प्रतीक हो, क्रिश्चियनहरूले यशु क्राइस्टलाई क्रसमा टाँगेको चिह्नस्वरूप लगाउने चलन चलाएका। जसको संस्कृति हो उनीहरूले लगाएकामा आपत्ति जनाउनुपर्ने कारण छैन। उनीहरूको सम्मान नै गरौँ तर सनातन धर्मप्रति गर्व गर्नेले वा सनातन धर्म बचाउनुपर्छ भन्नेले किन लगाउनुपर्‍यो टाई? जनताको करको पैसा खर्च गरेर किन सरकारी कर्मचारीलाई भिराउनु पर्‍यो ?

टाई कुनै एक धर्मको प्रतीक हो, क्रिश्चियनहरूले यशु क्राइस्टलाई क्रसमा टाँगेको चिह्नस्वरूप लगाउने चलन चलाएका। जसको संस्कृति हो उनीहरूले लगाएकामा आपत्ति जनाउनुपर्ने कारण छैन। उनीहरूको सम्मान नै गरौँ तर सनातन धर्मप्रति गर्व गर्नेले किन लगाउनुपर्‍यो टाई? जनताको करको पैसा खर्च गरेर किन सरकारी कर्मचारीलाई भिराउनु पर्‍यो?

टेबलमा बसेर खान जानिएन

काठको पिर्कामा पलेँटी कसेर दाल भात तरकारी खानुको आनन्दै बेग्लै। त्यसैले आकस्मिक रूपमा पर्ने 'डाइनिङ टेबल'को भात खुवाइ त्यति धित मर्दैन। खुकुला लुगा लगाएर फुक्काफाल भई पिर्कामा बसी हातैले मुछेर सपासप खानुको आनन्द दशथरी कपडा लगाएर मेचमा बसेर चम्चाले खाँदा नआउने। फुर्सदले खानु, अरु कुराको चिन्ता नगर्नु, नबोल्नु भन्ने सनातन संस्कृतिको निर्देशन कम्ती वैज्ञानिक छैनन्। तिनलाई सक्दो मनन गरिएकै छ।

पेयपदार्थमैत्री हुन सकिएन

बेलाबेलामा साँझ जमघटको माहोल नबनाउने र मदिरा नपिउने मानिसका धेरै मित्र हुँदैनन् रे! महत्त्वपूर्ण भेटघाटमा त चाहिन्छ नै रे! यसले सम्बन्ध मजबुत बनाउँछ रे! चाँडै निष्कर्षमा पुग्न मद्दत गर्छ रे! यी भए सुनेका कुरा। कतिको त पिउने कुरा संस्कृतिकै अभिन्न अंग बनेको छ। सबैलाई सम्मान छ। पिउने संस्कृति भएका र गति नछोडी पिउनेप्रति गुनासो छैन। उनीहरूसँग मिल्नै नसक्ने पनि होइन। आफ्नो संस्कार–संस्कृतिले पिउने कुरालाई नराम्रो मान्दै आयो। त्यसैले पिइँदैन। पिउने ठाउँमा वा पिइरहेकाको माझमा बसिँदैन। पिएको मानिसँग कुरा गर्न नपरोस् भन्ने लाग्छ।

पहिले पिउने गरेका सिसीका हल्का चिसा पेयपदार्थमा पनि अल्कोहल हुन्छ भन्ने थाहा पाएपछि छोडियो एक दशकअघि नै। योगी रामदेवलगायतले सिसीको ‘कालो पदार्थ’ले ‘ट्वाइलेटको प्यान’ सफा गरेको देखेपछि झन् त्यसप्रतिको मोह छुट्यो। अरे बाबा ती पदार्थ नखाँदैमा जीवन नै नचल्ने त होइन नि! 

हराएका छैनन् व्यक्तिगत कोशबाट यी शब्द

बिहानै भेट हुँदा शुभप्रभात, राति छुट्टिँदा शुभरात्रि, फेरि भेटौँला, खुशी लाग्यो जस्ता शब्द कहाँ गए? ‘गुड मर्निङ’,‘गुड नाइट’, ‘नाइस टु मिट यू’ले लिए। हाच्छिउँ गर्दा सानालाई भए चिरञ्जीवी भनिदिने। ठूलाले भए ‘राम’,‘नारायण’,‘लक्ष्मीनारायण’ भन्ने चलन कहाँ पुग्यो? बालबालिकाको बोली नफुट्दै यी अंग्रेजी शब्द सिकाउन पाए आधुनिक भएको ठहरिने। नेपाली भाषाका बीचमा १० प्रतिशत यी शब्द नमिसाई बोले पिछडिएको। 

अंग्रेजीभाषीसँग कुरा गर्नुपर्ने भए वा पूरै त्यही भाषामै बोलीचाली गर्नुपर्ने स्थिति भए अर्कै कुरा। नेपाली नेपालीभाषीबीचको बोलीव्यवहारमा किन अंग्रेजीको मिसावट? आकस्मिक रूपमा आउने हाच्छिउँ गर्न बरु साथीको माझबाट अलि पर सरिन्छ। मुण्टो फर्काइन्छ। ढर्रा पार्न ‘सरी’ भन्नुपर्ने चलन पनि अँगाल्न सकिएको छैन। असरै पर्ने भए ‘माफ पाऊँ’ भनिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.