रणनीति बदलेपछि पौडेल समूहले देउवालार्इ कमजोर बनाउन सकेन

|

काठमाडौं : नेपाली कांग्रेसमा हैसियत अनुसारको भूमिका नपाउने पुराना नेता कमै छन्। अझ कोइराला परिवारको निकटस्थ मानिने नेता र सभापति शेरबहादुर देउवाको निकट हुने नेताहरूले अवसर नपाउने त कुरै भएन्। आफ्नो राजनीतिक करियरमा सधैंजसो कोइराला परिवार निकट रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले सानाठूला अवसरहरू नपाएका होइनन्। विपी, गिरीजाप्रसाद हुँदै सुशील कोइरालासम्म आइपुग्दा रामचन्द्र पौडेल कोइरालाहरूको निकटस्थ थिए। 

सुशील कोइरालाको निधनपछि पौडेललाई कोइराला समूहको उत्तराधिकारीका रूपमा हेरिएको थियो। पौडेलले आफ्ना गतिविधिलाई त्यसैगरी नै अघि बढाएका थिए। तर पार्टीको १३ औं महाधिवेशनमा कांग्रेसको पल्लाभारी देउवाको हातमा पुग्यो। पार्टी नेतृत्व देउवाको हातमा पुगेको, कोइराला समूहका केही नेता पनि देउवातिरै लागेको अवस्थामा पौडेल पार्टी भित्र सबैभन्दा कमजोर अवस्थामा पुगे। अहिले पनि पौडेलको हालत त्यस्तै छ।

एकपटक देशको प्रधानमन्त्री बन्ने र कांग्रेसको नेतृत्व गर्ने इच्छा पौडेलले बोकेका छन्। केही दिन अघि हेटौंडामा सम्पन्न भएको कांग्रेस जिल्ला सभापतिको भेलामा सभापति देउवालाई कमजोर बनाएर अर्को महाधिवेशनमा आफ्नो अवस्था बलियो बनाउन खोजेका पौडेल फेरि पनि कमजोर नै बने। पाँचपटक सांसद हुँदै पटक पटक मन्त्री र सभामुखसम्म बनेका पौडेले सुशील कोइराको निधन पछि कमजोर छन्।

१७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेका पौडेल न प्रधानमन्त्री बन्न सके, न पार्टी सभापति। अहिले त प्रतिनिधिसभाकै चुनाव हारेर बसेका छन्। यही मौकामा पार्टीभित्र बलियो बन्ने दाउमा पौडेल छन्। तर सकिरहेका छैनन्। १३ महाधिवेशनमा आफ्नो साथ छोडेर हिडेका नेताहरू आफ्नै समूहमा आइपुगेको भएपनि केन्द्रीय समितिमा देउवा निकटका नेताहरूको बहुमत भएकोले पौडेल समस्यामा परिरहेका हुन्।

पौडेलमाथि अडान क्षमता नभएको नेताको अरोप पनि लाग्छ। त्यसकारण पनि वर्षौंदेखि पकडमा राख्न सफल निर्वाचन क्षेत्र पनि गुमाउनु परेको चर्चा चल्ने गरेको छ। निर्वाचनको हारको सम्पूर्ण जिम्मेवारी देउवाको काँधमा विसाएर पौडलले आउँदो महाधिवेशनमा बलियो बन्न खोजेका छन्।  

शक्ति देखाउने अवसर फेरि गुम्यो
पार्टी सभापतिमा पराजित भएपछि निर्णय प्रक्रियामा क्रमश ओझेल पर्दै गएका वरिष्ठ नेता पौडेल आफू शसक्त हुँदै गएको सन्देश दिने एउटा अवसरपाट पनि पछि परेका छन्। कांग्रेसको जिल्ला सभापतिहरूको भेलामा वरिष्ठ नेता पौडेल सभापति देउवालाई कमजोर देखाउँन चाहन्थे। 

उनले यो भेलाबाट दुई वर्षको अवधिमा आफूले शक्ति आर्जन गर्दै गएको प्रमाणित गर्न चाहान्थे। त्यसका लागि वरिष्ठ नेता पौडेलले आफू निटक केही जिल्ला सभापतिलाई बोलाएर सभापति देउवाको आलोचना गर्न निर्देशन पनि दिए। उनको निर्देशनअनुसार निटक जिल्ला सभापतिहरूले देउवाको आलोचना पनि गरे।
तर संस्थागत निर्णयमा वरिष्ठ नेता पौडेल फेरि चुके। पटकपटक यस्तै हुँदै आएको छ पौडेललाई। पार्टीको १३ औँ महाधिवेशनपछि देउवाले सधैँपछि छाडिरहेका छन् पौडेल। पार्टी सञ्चालनका क्रममा पनि पटकपटक देउवाको बेवास्थामा पर्दै आएका छन् उनी। 

१३ औँ महाधिवेशनमा सभापति देउवाको पक्षमा बहुमतको पार्टी केन्द्रीय समिति बन्यो। त्यसपछि पौडेल पटकपटक देउवाको बेवास्थमा पर्दै गए। पार्टीका हरेक निर्णयमा दले बहुमतको उपयोग गर्दै आएका छन्। पार्टीमा सदस्य मनोनयन गर्दा होस् या केन्द्रीय समितिमा निर्णय गर्दा होस् पौडेल पछि जनै परिरहे। 
बरू देउवाले पार्टीका नेता कृष्णप्रसाद सिटौला र महामन्त्री डा.शशांक कोइरालालाई खुसी बनाउने प्रयास गरे। तर देउवा सफल हुन सकेनन्। १३ औँ महाधिवेशनमा सभापतिलाई समर्थन गरेका सिटौला देउवाको ‘ललिपप’ भुलिएनन् बरू उल्टै उनका विरुद्ध वरिष्ठ नेता पौडेलसँग मोर्चा बन्दी गरे। तर पौडेसँगै रहेका महामन्त्री कोइराला भने पौडेलको साथ छाड्न पुगे। 

कांग्रेस नेताको गुटगत राजनीति शुक्रबार हेटौँडामा सम्पन्न जिल्ला सभापतिहरूको भेलामा पनि देखियो। सभापति देउवाले जिल्ला सभापतिमा आफ्नो बहुमत नहुँदा नहुँदै पनि आफ्नो अनुकुलमा घोषणापत्र जारी गर्न सफल भए। ७७ जिल्ला सभापति मध्ये ४५ जिल्लामा  पौडेल र सिटौला पक्षका सभापति छन्। ३२ जिल्लामा मात्र देउवाको पक्षमा जिल्ला सभापति थिए। 

हुन त आफ्नै पक्षका जिल्ला सभापतिले पनि सभापति देउवाको निकै आलोचना गरे। केही जिल्ला सभापतिहरूले देउवाको बचाउ गरे पनि अधिकांशले विरोध गरेका थिए। 

निर्वाचनमा हारको जिम्मा देउवाले लिनुपर्ने जिल्ला सभापतिले माग गरे पनि लिखित दस्तावेजमा भने देउवा जोगिन सफल भए। पौडेलको देउवालाई कमजोर देउखाउने रणनीतिले पनि फेल खायो। पौडेल भने देउवालाई लिखित रूपमै हारको जिम्मेवारी लिएर कमजोर हुँदै गएको सावित गर्न चाहान्थे।
सभापति भेलाको समापन गर्दै गर्दा देउवाले पार्टी केन्द्रीय समितिसँगै आफ्नो पनि कमजोरी भएको स्वीकार गरे। तर दस्तावेजमा त्यो कुरा उल्लेख गरेनन्। त्यहाँ उनी चलाख सावित भए। पूर्णरूपमा केन्द्रीय समितिको हस्तक्षेप भएका कारण पनि जिल्ला सभापतिले बोलेका धेरै जसो कुराहरू नसमेटिएको कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे बताउँछन्। 

‘जिल्ला सभापतिहरूले चुनावका बेला भएका रणनीतिका कुरा, पार्टी सञ्चालनका कुरा उठाएका थिए’, उनले भने, ‘तर उहाँहरूका चोटिला कुरालाई केन्द्रीय समितिले नरम बनाएर प्रस्तुत ग¥यो। आयोजक पनि केन्द्रीय समिति थियो।’

नेतृत्वले आफ्नो गल्ती महशुस गरेकाले घोषणापत्रमा लेखिरहनु आवश्यक नरहेको कांग्रेस युवा नेता प्रदीप पौडेल बताउँछन्। ‘धेरै आन्तरिक कुरा थिए। सबै बाहिर ल्याउन पनि उचित हुँदैन’, उनले भने, ‘जिल्ला सभापतिहरूले धेरै कुरा उठाउनुभएको छ। नेतृत्वले यो कुरालाई महशुस पनि गरेको छ।’
पछिल्लो समय प्रजातान्त्रिक पार्टीमा नै सञ्चालन पद्धति, निर्णय प्रक्रिया  र पार्टीभित्र न्याय हराएकाले अब पार्टीलाई सुधार गर्दै लैजानुपर्ने नेता घिमिरेले बताए।  तर जिल्ला सभापतिहरूको भेला सोचे जस्तो प्रभावकारी नभएको नेता पौडेलले बताए। उनले भने, ‘पहिलादेखि उठ्दै आएका कुरा आए। त्यस्तो धेरै प्रभावकारी भएको जस्तो मलाई लाग्दैन। तर जिल्ला सभापतिले उठाएका कुरा नेतृत्वले ध्यान दिने हो भने चाहिँ प्रभावकारी हुने थियो।’ 

पार्टीलाई आगामी दिनमा विधिवत् रूपमा सञ्चालन गर्न जिल्ला सभापतिहरूको भेलाले पार्टी नेतृत्वलाई दबाब दिएको केन्द्रीय सदस्य जीवन परियारले बताए। उनले भने, ‘पार्टी सुधारका लागि जिल्ला सभापतिहरूको भेला उत्साहजनक भयो। यसले विधान र विधिमा बसेर पार्टी चलाउन नेतृत्वलाई दबाब पनि दिएको छ।’

के भएको थियो सभापतिहरूको भेलामा?
पौडेल पक्ष देउवाको चर्को आलोचना गर्ने तयारीका साथ भेलामा सहभागी भएको थियो। त्यहीअनुसार पौडेल पक्षका जिल्ला सभापतिले पनि देउवाको निकै ओचना गरे। झनै सभापति देउवा निकट मानिएका केही जिल्ला सभापतिले पनि देउवाको आलोचना गरेपछि पौडेल पक्षलाई बल पुग्यो। 
यस्तो आलोचनाले देउवालाई कमजोर सावित गर्न पौडेल पक्षलाई पर्याप्त भएन। यसमा सभापति देउवाले रणनीति बदले र आफ्नो बचाउ गरे। 

बैठकको सुरुवाती समयदेखि नै देउवा निकै शशंकित थिए। धेरै जिल्ला सभापतिहरूको आलोचना सुनेपछि उनी निकै शशंकित देखिन्थे। भेलामा सहभागी एक जिल्ला सभापतिका अनुसार जिल्ला सभापतिले उनको आलोचना गर्दै गर्दा पटकपटकबीचैमा काटेर माइकबाट छिटो सक्न निर्देशन दिन्थे। आफ्नो आलोचना सुनेर उनी पटकपटक छटपटाई रहेका हुन्थे। ती जिल्ला सभापतिका अनुसार काभ्रे जिल्ला सभापति मधु आचार्य बोल्दै गर्दा त देउवाले तीन पटकसम्म उठेरै छिट्टो सक्न निर्देशन दिए। 

बोल्ने क्रममको अन्त्यमा देउवाले सभापतिलाई जवाफ फर्काउँदै सिंगो केन्द्रीय समितिसँगै आफ्नो पनि कमजोरी रहेको स्वीकार गरे। तर त्यसलाई लिपिवद्ध गर्नचाहिँ मानेन्। 

यसरी परिवर्तन भयो जिल्ला सभापतिले तयार पारेको घोषणापत्रको ‘ड्राफ्ट’
बैठकको अन्तिम दिन आर्थात शुक्रबार बिहान जिल्ला सभापतिहरूले आफैँ छलफल गरेर प्रतिनिधिमूलक हिसाबले प्रत्येक एउटा प्रदेशबाट एक जना पर्ने गरी घोषणा पत्र ‘ड्राफ्ट’ गर्ने र विधान परिमार्जनका लागि सुझाव दिन छुट्टा छुट्टै दुई समिति बनाए। 

घोषणापत्रका लागि काभ्रे सभापति मधु आचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति बनेको थियो। समितिमा प्रदेश १ बाट इलाम सभापति हिमालय कर्माचार्य, २ बाट पर्सा सभापति अजयकुमार द्विवेदी, ३ बाट संयोजक आचार्य, प्रदेश ४ बाट स्याङ्जा सभापति कमलप्रसाद पंगेनी, ५ बाट रोल्पा सभापति अमरसिंह पुन, ६ बाट रुकुम सभापति प्रेमप्रकाश वली र ७  बाट कञ्चनपुर सभापति हरि बोहरा थिए। 

तर भेलामा सहभागी एक जिल्ला सभापतिका अनुसार देउवाले यो समितिले मात्र गरेको कामलाई मान्न तयार भएनन्। ती सभापति भन्छन्, ‘हामीले यो समिति बनाउँदा बिहानको खाना खाने समय भएको थियो। तर सभापति देउवा दाई आएपछि उहाँ यो समितिले मात्र गरेको काम मान्न तयार हुनुभएन।’ 

ती जिल्ला सभापतिका अनुसार केन्द्रीय समितिबाट सहयोगका लागि भन्दै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, रमेश लेखक र प्रवक्ता विश्वप्रकाश शर्मालाई तोकियो। तर उनीहरूले सहयोगको भन्दा पनि हस्तक्षेपको भूमिकामा देखिएको ती जिल्ला सभापतिले थाहाखबरलाई बताए। उनले भने, ‘मिनेन्द्रजी, रमेशजी र विश्वजी चाहिँ हाम्रो कुरा राख्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो। तर पदाधिकारी रहनुभएका महतजीले हामीले मिहिनेत गरेको सबै परिवर्तन गरिदिनुभयो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.